साउथ चलचित्र ‘भिटी १४’मा नोरा

Read Time = 3 mins

मुम्बई । बलिउडकी क्विन नोरा फतेहीले आफ्नो नृत्यबाट बलिउडमा अलग्गै पहिचान बनाउनुभएको छ । बलिउडमा आफ्नो जलवा देखाउनुभएकी नोराले अब साउथमा पनि आफ्नो उपस्थिति देखाउनुहुने भएको छ । उहाँलाई साउथबाट धेरै अफर आएको भएपनि उहाँले यतिवेला वरुण तेजको चलचित्र रोज्नुभएको हो । नोरालाई वरुणको अनटाइटल चलचित्र ‘भिटी १४’ मा विशेष भूमिकाको अफर गरिएको छ । जानकारी अनुसार नोराले यस चलचित्रमा आफ्नो ‘क्यारेक्टर’ मन परेको बताउनुभएको छ । र, उहाँले यो चलचित्रबाट तेलुगुमा डेब्यु गर्न लाग्नुभएको हो ।

चलचित्र ‘भिटी १४’लाई करुणा कुमारले निर्देशन गर्दै हुनुहुन्छ । नोरालाई यो चलचित्रमा विशेष भूमिका दिइएको छ । चलचित्रमा नोराको एक डान्स नम्बर पनि रहने बताइएको छ । यो चलचित्र सन् १९६० मा आधारित समयको ड्रामा भएको जनाइएको छ । यो वरुणको अहिलेसम्मको सबैभन्दा ठूलो बजेटको चलचित्र हुनेछ ।

‘भिटी १४’ मा मुख्य भूमिकामा मिनाक्षी चौधरीलाई काष्ट गरिएको छ । चलचित्रमा नोराको भूमिका फरक हुनेछ । यस्तो अवस्थामा साउथमा डेब्यु गरिरहनुभएकी नोरा चलचित्रमा मिनाक्षीलाई कडा टक्कर दिने देखिएको छ ।

नोरा बलिउडमा कुशल नृत्यांगना र फेसन सेन्सका लागि परिचित हुनुहुन्छ । नोराले गतवर्ष डिसेम्बरमा कतारको दोहामा भएको फिफा वल्र्ड कप २०२२ को समापन सेरेमनीमा आफ्नो प्रस्तुति दिनुभएको थियो । नोराले चलचित्र ‘थ्याक गड’, ‘बाहुबली’, ‘सत्यमेव जयते’, ‘मरजावां’ जस्ता धेरै चलचित्रमा ‘आइटम डान्स’ गर्नुभएको छ । नोराले बलिउडमा २०१४ मा आएको चलचित्र ‘रोअर : टाइगर्स अफ द सुन्दर वन’बाट आफ्नो करिअर सुरु गर्नुभएको हो । बलिउड अभिनेत्री नोराले कहिले नृत्य त कहिले अभिनयको माध्यमबाट फ्यानको मन जितिरहनुभएको छ । उहाँका डान्सिङ भिडियो सोसल मिडियामा निकै भइरल हुन्छन् । ‘ओ साकी साकी’, ‘दिलबर’जस्ता धेरै डान्सिङ नम्बरबाट फ्यानलाई उहाँले आकर्षित गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?