‘युवा उद्यमशीलता प्रवद्र्धन गर्नुपर्छ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)अन्तर्गतको युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) को अध्यक्षमा अनुराग गोयल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारणसभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । सन् २०२२/२०२३ को अध्यक्ष प्राशी अग्रवाल हुनुहुन्थ्यो । गोयलको कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावगी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टिग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), सकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्युनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को-चेयर) निर्वाचित हुनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित साधारणसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुदृढीकरणमा उद्यमीको महत्वपूर्ण भूमिमा रहेको बताउनुभयो । स्थापित युवा उद्यमीलाई उद्यम बन्ने नवीनतम सोच राखेका युवासँग सहकार्य गर्दै अघि बढाउन उहाँले आग्रहसमेत गर्नुभयो ।

सिएनआई प्रेसिडेन्ट इमिरेट्स विनोद चौधरीले नयाँ सोच, योजना, लक्ष्य लिएर अघि बढेका युवालाई थोरै प्रोत्साहन गर्दा पनि उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताउनुभयो । उहाँले उद्यमशीलतामार्फत् नै देशको आर्थिक विकास हुने भएकाले युवालाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गर्नुभयो ।

सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने मान्यता स्थापित गर्न युवालाई नीतिबाटै सहजीकरण, प्रोत्साहनको आवश्यकता रहेको बताउनुभयो । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गरिनुपर्ने उहाँको भनाइ थियो । सिएनआई उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअप प्रवद्र्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताउनुभयो । राज्यले नवप्रवर्तन, युवा उद्यमीलाई सहजीकरण गरिदिने हो भने देशमा केही गरौँ भनेर लागेका युवा उद्यमीलाई प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो ।

नवनिर्वाचित अध्यक्ष गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ उत्पादनमूलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युत्लगायतका क्षेत्रमा संलग्न हुनुुहुन्छ । गोयल भारतस्थित सिम्बायोसिस इन्टरनेशनल युनिभर्सिटीबाट फाइनान्समा स्नातकोत्तर हुनुहुन्छ । स्टार्टअप र युवाहरूलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने अध्यक्ष गोयलले बताउनुभयो । उहाँले युवा उद्यमीहरूलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो । सन् २००८ मा गठन भएको मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?