विदेशको अवसर छाडेर सिरुबारी सामुदायिक होमस्टेको विकासमा कस्सिएको सन्तोष-सपनाको जोडी

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 11 mins

स्याङ्जा । रोजगारको चपेटाले १२ पढ्दै गरेका कलिला विद्यार्थीदेखि वयस्क-वृद्धासम्म कसैलाई छोडेको छैन । गाउँ दैनिक रित्तिदै गएका छन् । गाउँ गाउँमा होमस्टे खुलेका छन् तर होमस्टे धान्ने युवाको अभावमा होमस्टेहरु एकपछि अर्को अलपत्र पर्दै गएका छन् । धैर्य गरेर लगातार होमस्टेलाई आयआर्जनको माध्यम बनाउने युवाहरु कममात्र छन् । यस्तै धैर्य गरेर विगत एक दशकदेखि स्याङजाको सिरूबारी सामुदायिक होमस्टेलाई उपार्जनको माध्यम बनाउन सकिन्छ भन्ने आत्मविश्वासका साथ होमस्टे प्रवर्द्धनमा जुटिरहेको एक सुन्दर जोडी हो- सन्तोष गुरुङ र सपना गुरुङको जोडी ।

विदेशिने गति तीव्र हुँदै गर्दा पनि सन्तोष-सपनाको जोडीले कहिल्यै विदेश जाने रहर गरेन । सन्तोष-सपनाले अरू दाजुभाइलाई पनि विदेश जानुभन्दा गाउँठाउँमै केही गरौं भन्ने आग्रह गरिरहन्छन् । अर्काको भूमिमा गरेको श्रम र सीपको लगानीले केही पैसा ल्याए पनि गाउँ र देशको लागि त्यो राम्रो नभएको सन्तोष र सपना गुरूङको धारणा छ । सन्तोष र सपनाको जोडीले चाहेको भए सजिलै अष्ट्रेलिया गएर बस्न सक्थे तर यो जोडीले त्यो प्रयत्न कहिल्यै गरेन ।

स्याङजाको आँधीखोला गाउँपालिका वडा नं १ पञ्चमूलमा अवस्थित नेपालकै पहिलो होमस्टे सिरुबारी सामुदायिक होमस्टे घरको सञ्चालक यो जोडी होमस्टे नायक क्या.रूद्रमान गुरूङले देखेको होमस्टेको सपना पूरा गर्ने बाटोमा दृढताका साथ लागेको छ । सन्तोष होमस्टेको विकास गर्ने हो भने विदेश जानु पर्दैन भन्ने सोचका साथ किशोरावस्थाबाटै अगाडि बढे । उनी भन्छन्, ‘वास्तवमा म सानैबाट गाउँमा रमाउने मान्छे हो । गाउँमा होमस्टे कमजोर हुँदा यसलाई जोगाउनु आफ्नो कर्तव्य सम्झेर म कस्सिएँ ।’

होमस्टेका नायक क्या. रुद्रमान गुरुङको देहावशान भइसकेको थियो । रुद्रमानको पुस्ताका बाआमाहरु कतिपयको निधन भइसकेको थियो भने कतिपय बुढ्यौलीसँग लडिरहेका थिए । गाउँमा होमस्टे चलाउने युवा नै थिएनन् । होमस्टेबाट आम्दानी हुन्छ भन्ने विश्वास गर्न गाह्रो भइरहेको समयमा जीवन साथी सपना गुरुङले उनलाई होमस्टेबाटै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाएकी थिइन् ।

गोरखा माइत भएकी सपनाको इच्छा सन्तोषसँगै मिल्ने थियो । विचार मिलेपछि दुवै जनाको एउटै सपना बन्यो- होमस्टेकै विकासमा जुट्ने । यसपछि उनीहरु गाउँकै होमस्टेलाइ बलियो बनाउने अभियानमा कम्मर कसेर लागे । विदेश भएका आफ्ना दाजुभाइ तथा भाउजुहरूलाई गाउँ फर्किन आग्रह पनि गरे । उनीहरू जस्तो युवा जोडीले सम्भावना देखाएपछि केही युवा जोडी गाउँ पनि फर्किए ।

सिरुबारी सामुदायिक होमस्टेको विकासमा प्रत्यक्ष जोडिने एक महत्वपूर्ण अङ्गका रूपमा ‘नवयुवा क्लब’ भन्ने संस्था छ । यस संस्थाले गाउँ समाजमा पनि आर्थिक सामाजिक सहयोग गर्दै आएको छ । सन्तोष यसै नवयुवा क्लबका अध्यक्ष हुन् भने सङ्गीनी सपना यस संस्थाकी कोषाध्यक्ष हुन् ।

बहुमुखी प्रतिभाका सन्तोष गीत गाउनदेखि धेरै काममा निपुण छन् । उनले होमस्टेमा आएका पाहुनाहरूको रूचि अनुसारका आधुनिक पप र र्यापदेखि सालैजू, झ्याउरेलगायत विभिन्न भाकाका लोकगीत गाउन सक्छन् । सङ्गीत शिक्षणको सिलसिलामा सिरूबारी पुगेका लोकगायक लोकनाथ सापकोटाले भने, ‘सन्तोष वास्तविक रूपमै गायक हुन् । उनको स्वर, ताल, सुर, तान सबैमा एकप्रकारको प्रभाव पार्ने क्षमता छ ।’

सन्तोषले गाएर पाहुनालाई उफार्न त सक्छन् नै उनी सिरूबारीमा सबैभन्दा राम्रो मादल बजाउन सक्ने क्षमता भएका कलाकार हुन् । उनले बजाएको मादलको स्वरले पुरै गाउँभरि सङ्गीतको झङ्कार फैलिन्छ । रमाइलोका लागि गएका पाहुना उनले बजाएको मादलको तालमा छमछम नाच्छन् । ननाच्ने भनेर सोचेको पाहुना पनि नाच्न सक्ने बनाउने क्षमता सन्तोषमा छ ।

सन्तोष एक कुशल आर्ट राइटर र डिजाइनर पनि हुन् । सिरूबारी होमस्टे पस्ने गेटमै ‘आई लभ यु सिरुबारी’ भनेर ठुला कलात्मक अक्षरमा लेखिएको बोर्डका आकर्षक अक्षरको डिजाइनर पनि उनी हुन् । अहिले सिद्धार्थ राजमार्गसँगै जोडिएको सडकमाथि लेखिएका कलात्मक अक्षरहरूको अङ्ग्रेजी ‘भालुपहाड’ शब्द उनकै कलात्मक सिर्जना हो । सिद्धार्थ राजमार्गमा सवार हुने यात्रुदेखि सडकको अर्को छेउमा रहेको प्रसिद्ध सेल्फी स्फोटमा आउने दैनिक हजारौं यात्रुले सन्तोषको कला देख्न पाउँछन् ।

सिरुबारी सामुदायिक होमस्टेका अध्यक्ष मोहन गुरुङ जितेन्द्र भन्छन्, ‘सन्तोषमा गाउने, नाच्ने, मादल बजाउने मात्र होइन, आर्टका लागि पनि ऊ राम्रो छ । उसले निशुल्कमा गाउँमा थुप्रै सन्देशमूलक बोर्डमा आर्ट गरेको छ ।’

सन्तोषलाई स्टन्डबाजी र प्रचार मनपर्दैन । काममै आनन्द मान्ने उनको स्वभाव छ । पर्यटनको काममा उनले आफ्नो यौवन बिताए । उनको परिवार होमस्टे स्थापनादेखि आजसम्म अनवरत रूपमा होमस्टेको प्रवर्धन र विकासमा लागिरहेको छ । उनकी आमा चन्द्रावती गुरूङ आमा समूहकी अध्यक्ष हुन् । बुबा रत्नबहादुर तमु रिटार्यड भारतीय सेना हुन् । उनका बुबा आमा गाउँका पुरानो पुस्ताको प्रतिनिधित्व गर्छन् । होमस्टेको सुरुवातदेखि नै उनको परिवार यसको विकासमा जुटिरहेको छ ।

सन्तोष-सपनालाई गाउँको माया छ । सिरूबारी होमस्टेलाई नेपालकै नमुना होमस्टे बनाउन उनको जोडी कस्सिएर लागेको छ । सन्तोष भन्छन्, ‘हाम्रा बाबुबाजेहरूले सिकाएको भाषा, धर्म र संस्कृति बचाउनुपर्छ । सिरुबारी गाउँलाई विश्वमा चिनाउने काम यही होमस्टेले गरेको हो । यसलाई अझै राम्रो बनाउने जिम्मेवारी सपना र म जस्ता युवाहरूको काँधमा छ ।’

प्रत्येक दिन पाहुना आउँदा सन्तोष-सपना सत्कारका लागि चिटिक्क परेर गेटमा बसेका भेटिन्छन् । फूलमाला बोकेर पाहुना आतिथ्यतामा ध्यानपूर्वक खटिन्छन् । सपनाले फूलमाला पर्यटकका काँधमा लगाइदिएर सत्कार प्रस्तुत गर्छिन् भने सन्तोष हातमा माइक लिएर पाहुनाहरूलाई ब्रिफिङ गर्छन् ।

गोरखाबाट बिहे गरेर स्याङजाको सिरूबारी गाउँ आएकी सपनाका पनि इच्छा नभएका होइनन् । पहिले पहिले गाउँमा यस्तो दुख गर्नुभन्दा सबै साथीहरू भएको विदेशी भूमितिर जान पाए भन्ने रहर र लहड पनि मनमा चल्ने गर्थ्यो । ‘कहिलेकाँही पाहुना कम आउँदा विगतमा विदेश जाऊँ कि जस्तो नि लाग्थ्यो । तर अहिले सबै चाहना र रहर यही गाउँको होमस्टे विकासमा लगाएकी छु’ सपना भन्छिन् ।

अहिले सन्तोष र सपना खुसी छन् । उनीजस्तै पोखराबाट फर्किएका जितेन-नितु, शिव-सुनिता, राजु, दिपेन, सावित्री, अमृत, अशोक, नारायण, उर्मिला, पूर्णिमालगायतका युवाहरूको एकता र मिहिनेतले होमस्टे सुधारिएको छ । अहिले होमस्टेमा यिनै युवाहरूले गीत, वाद्यवादन, भान्सा, सत्कार ब्रिफिङलगायत सबैजसो जिम्मेवारी समालेका छन् । यिनै युवाहरुको उत्साह र सक्रियताले सिरुबारी होमस्टेमा अहिले दैनिक रुपमा पाहुनाहरु खचाखच भरिएका छन् । होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?