साउन १५ र खिर खाने संस्कृति

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ प्रहृलाद दाहाल

हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाति, धर्म, संस्कृति समेटेर धेरै किसिमका पर्व मनाइन्छन् । संस्कृतिसँगै परिकार पनि जोडिएका हुन् । दही, मासु, खिचडी, सेल, घ्यू चाकु, दही चामल, दही चिउरा, खिरलगायतका परिकार खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यी सबै चाडपर्वका आ-आफ्नै विशेषता छन् । हरेक वर्ष खिर खाएर साउन १५ लाई चाडका रूपमा मनाउने गरिन्छ । पुर्खाले हाम्रो देशमा यसरी नै संस्कृति जोगाउँदै आएका छन्, जुन हाम्रा लागि महत्वपूर्ण उपहार र उपलब्धि हो ।

यसले देशको पहिचान बढ्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ । हाम्रो देशको संस्कृति भनेको विश्वको नमुना हो । नेपालको जस्तो विविधतायुक्त संस्कृति अन्त कतै पनि छैन तर यसको जगेर्ना चुनौतीपूर्ण बन्दै गएको छ । यसमा आमजनताको चासो रहन अत्यन्तै आवश्यक छ ।

साउन १५ लाई देशैभर खिर खाने दिनका रूपमा चिनिने गरिन्छ । नेपालमा प्राचीनकालदेखि नै खिरलाई एक उत्कृष्ट परिकारका रूपमा लिएकोे पाइन्छ । आयुर्वेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउन पनि खिर खाने चलन रहेको पाइन्छ ।

खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले खिर खाने प्रचलनले निरन्तरता पाउँदै आएको बताइन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्छन् । रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस्, स्फूर्ति बढोस् भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण शरीरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गर्थे । यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउनमा दूध र दुधजन्य पदार्थ बढी नै सेवन हुने गरेको पाइन्छ ।

विगतमा गरिबीका कारण गाउँघरमा मिठो मसिनो कमै खाइने र खान पनि कठिन हुने अवस्था थियो । त्यही भएर पनि खाना सन्तुलित होस् भनेर शरीरलाई आवश्यक पर्ने सबैखाले खाना खाने चाडपर्वको व्यवस्था भएको हुन सक्छ । जसबाट सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन सहयोग पुग्ने गरेको देखिन्छ । यी सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाले धेरै सोचेर, बुझेरै चाडपर्वको व्यवस्थापन गरेको हुनुपर्छ । आमनेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भए पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिन सक्ने गरी कम्तीमा वर्षको एक दिन भए पनि खानुपर्ने गरी चाडपर्व व्यवस्था भएको देखिन्छ । वैज्ञानिक रूपमा पनि यो अति उत्तम मानिन्छ । यसर्थमा पनि हाम्रा पू्र्खामा निकै दूरगामी सोच थियो ।

आजभोलि सबै किसिमका खानेकुरा सबै समयमा पाइने भए तापनि त्यसको सही उपभोग भएको पाइँदैन तर चाडपर्वले भोजनलाई सन्तुलित बनाउन पनि भूमिका खेलेको छ । पछिल्लो समय चाडपर्वलाई फेसनका रूपमा पनि मनाउने गरेको पाइन्छ । जसका कारण स्कुल, कलेज, अफिसमा पनि साथीभाइ मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकाले दूधको खपत पनि अन्य दिनको तुलनामा लगभग चार गुणा बढी हुने गर्छ ।

दैनिक उत्पादनको दूधले नपुग्ने भएकाले डेरी उद्योगले दुई चार दिनअघिदेखि नै दूध भण्डारण गरी राख्ने र नपुगेमा धुलो दूध मिसाएर बजारमा लैजाने गर्छन् । त्यसैले यस वर्षको साउन १५ मा पनि सबैजना खिर खाई भव्य रूपमा मनाउँ । हामी सबै मिली सबै किसिमका चाडपर्वको संरक्षण गरी भावी पुस्तालाई पनि प्रोत्साहित गरौं । यसलाई सही रूपमा परिचालन गर्न सक्ने हो भने विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिन्छ । हामीले अरूको देशको धर्म संस्कृतिको नक्कल गरेर आफ्नो धर्म संस्कृति भुल्नुहुँदैन । त्यसैले देशका सबै किसिमका चाडपर्व मनाउँ, हाम्रो संस्कृति बचाउँ । खिर दिवसको शुभकामना । (दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?