नेपाली जनताकै बलमा राजासहितको प्रजातन्त्र र हिन्दू अधिराज्य स्थापना हुन्छ : राजेन्द्र गुरुङ, केन्द्रीय महामन्त्री, राप्रपा

कृष्ण भुसाल
Read Time = 37 mins

राष्ट्रिय प्रजातन्त्र पार्टी राजासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र सर्वधर्म समभावसहितको हिन्दू अधिराज्य जस्ता मुद्दा अघि सारेर जनतामाझ गएको छ । ०६२/०६३ को आन्दोलनको मागमा नरहेका एजेण्डाहरूलाई पछि थोपरिएको राप्रपाको मान्यता छ । आफ्नो मार्गचित्र स्पष्ट भएको र आफ्ना मुद्दामा ढिलोचाँडो आमनागरिक आउने उसको विश्वास छ । नेपाली जनताकै बलमा, नेपाली जनताकै सहयोगमा मुलुकमा आफ्ना मुद्दा स्थापित हुने राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ बताउनुहुन्छ । देशको वर्तमान परिस्थिति, राप्रपाका मुद्दा र जनताका अवस्थामा केन्द्रित रहेर राप्रपाका महामन्त्री राजेन्द्र गुरुङसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको अन्तरंग संवाद :-

वर्तमान राजनीतिक परिदृश्यलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले कसरी हेरिरहेको छ ?
अहिले मुलुकको राजनीतिक अवस्था जुन ढंगले अघि बढ्नुपर्ने हो त्यो ढंगले अघि बढिरहेको छैन । नेपाली जनताको आकांक्षा तथा चाहनालाई जुन ढंगले सम्बोधन हुनुपर्ने हो त्यो हुन सकेको छैन । राजनीतिले जसरी विश्वास दिलाउन सक्नुपर्ने हो त्यस्तो हुन सकेको छैन । सबैतिर निराशा व्याप्त छ । जुन ढंगले राजनीतिमा विकृति विसंगति हावी हुँदै गएको छ, कुंसस्कार जसरी हावी हुँदै गएको छ यसले मुलुकको अहिलेको राजनीतिप्रति नै वितृष्णा बढ्दै गएको हामीले अनुभव गरेका छौँ । जब कि राजनीति मूल नीति हो । यो नीतिले नै मुलुकको समृद्धि गराउँछ भन्ने आशा र विश्वास दिलाउनुपर्ने हो । तर, विडम्बना भन्नुहोस्, दुर्भाग्य भन्नुहोस् अहिले हाम्रो मुलुकको राजनीति त्यसतर्फ उन्मुख छैन । राजनीतिलाई फोहोरी खेलका रूपमा आमजनताले बुझ्न थालेका छन् । राजनीति भनेको मुलुक र जनताका लागि नभएर कमाउनका लागि, भ्रष्टाचार गर्नका लागि, आफ्ना नातागोता, आसेपासेका लागि अवसर दिलाउनका लागि हो भन्ने मूल्य मान्यता स्थापित भएको छ । यो दुखद् र विडम्बनाको कुरा हो ।

अब यसको निकास के हो त ?
यसको निकास त हामीले भन्दै आएका छौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ०६२/०६३ को परिवर्तनपछि नै भन्दै आएको छ, राजनीति विकाससँग जोडिनुपर्छ, राजनीतिलाई उन्नति र प्रगतिसँग जोडिनुपर्छ । राजनीतिलाई संस्कारसँग जोड्नुपर्छ । राजनीतिलाई इमानसँग जोड्नुपर्छ, आचरण र नैतिकतासँग जोड्नुपर्छ र मुलुक र जनताको भलाइ गर्ने नीतिका रूपमा राजनीतिलाई जोड्नुपर्छ । तर, यस्तो हुन सकेको छैन । यो त्यतिबेला मात्र सम्भव हुन्छ जब यो मुलुकमा राप्रपाले भन्दै आएको मुद्दा राजासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र सर्वधर्म समभावसहितको हिन्दू अधिराज्य । जब यो स्थापित हुन्छ तबमात्र यो सम्भव छ भन्ने हामी ठान्छौँ । वर्तमान राज्य व्यवस्था र प्रणाली परिवर्तन भएमा मात्र यो सम्भव छ ।

वर्तमान व्यवस्था न अग्रगमन हो न नेपाली जनताले खोजेको व्यवस्था हो । यो त थोपरिएको व्यवस्था हो ।

राजनीतिमा कुंसस्कार जसरी हावी हुँदै गएको छ, यसले अहिलेको मुलुकको राजनीतिप्रति नै वितृष्णा बढ्दै गएको छ ।

राजासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र सर्वधर्म समभावसहितको हिन्दू अधिराज्य स्थापनाका लागि हामी प्रतिबद्ध छौँ ।

०६२/०६३ पछि मुलुकमा जुन मूल्य मान्यता, कुंसस्कार, कुपरम्परा स्थापित भए यसका कारण नेपाली जनतामा वितृष्णा बढेको छ ।

यो अग्रगमन र पश्चगमन भनेको भाष्य के हो ? अग्रगमन भनेको के ? नराम्रोका लागि, बेथितिका लागि, विसंगतिका लागि, भ्रष्टाचारका लागि, मुलुकका युवाहरूलाई विदेश पलायन गराउनका लागि भएको कार्य अग्रगमन हो ? बहुसंख्यक जनतालाई मारमा पार्ने कार्य पनि कहीँ अग्रगमन हुन्छ त ?

जनतामा व्यापक वितृष्णा छ । यहाँले भनेजस्तै विभिन्न समस्याको भुमरीमा देश छ । अहिलेका राजनीतिक दलका क्रियाकलाप गलत भए होलान् । पात्रका प्रवृत्तिलाई सच्याएर अगाडि बढ्नुपर्ने होला । तर, यसो भन्दैमा राज्य व्यवस्था र प्रणाली नै दोषी भन्न मिल्ला र ?
यसलाई हामीले कसरी हेर्नुपर्छ, विश्लेषण गर्नुपर्छ भने नेपाली जनतामा चरम वितृष्णा कसरी आयो भन्ने मूल जरोमा जानुपर्छ । यो वितृष्णाको मूल कारण भनेको नै यो व्यवस्था हो, यो प्रणाली हो । आज तपाईंको योग्यता र क्षमताले कुनै अर्थ राख्दैन । तपाईंसँग भएको कुनै ज्ञान र विवेकले कुनै अर्थ र मान्यता राख्दैन । तपाईंसँग भएको खुबी, क्षमता कतै प्रदर्शन गर्न पाउनुहुन्न । तपाईंसँग सबै कुरा भए तापनि आफ्नो व्यक्तित्व विकासका लागि, आफ्नो उन्नति र प्रगतिका लागि तपाईंले देशमै केही गर्छु भनेर खोज्नुभयो भने यहाँ त्यो अवसर पाउन सकिँदैन । त्यसका लागि तपाईंले या त कुनै पार्टीको कार्यकर्ता हुनुपर्‍यो । र, पार्टीको कार्यकर्ता भएरमात्र पनि पुग्दैन, कुनै नेताको गुटको, उपगुटको तपाईं त्यो कोटरीमा पुग्नुपर्‍यो । उनीहरूको आशीर्वादबिना त्यो सम्भव छैन । राज्यका प्रत्येक संयन्त्र हेर्नुभयो भने त्यो प्रष्ट नै छ । सबैतिर भागबडा छ । भागबण्डाका कारण अवसर प्राप्त गर्ने भन्ने कुरा नै दुखद् कुरा हो । अवसर प्राप्त गर्ने भन्ने कुरा त क्षमता र योग्यताले पाउने कुरा हो । तर, हामीकहाँ त्यो हुन सकेको छैन । अदालत हेर्नुहोस् भागबण्डा छ, राजदूत पठाउने काममा भागबण्डा छ, ठेक्कापट्टामा त्यस्तै छ, संवैधानिक निकायहरूमा त्यस्तै छ, जहीँ-तहीँ त्यस्तै छ । यी यावत् जे-जस्ता गतिविधिहरू, क्रियाकलापहरू सबै ०६२/०६३ पछि आएका हुन् । ०६२/०६३ पछि मुलुकमा जुन मूल्य मान्यता, जुन कुंसस्कार, कुपरम्परा स्थापित भए यसका कारण नेपाली जनतामा वितृष्णा बढेको हो । त्यसकारण हामीहरूको मार्गचित्र त प्रष्ट छ, मैले माथि पनि भनेँ यो तबमात्र सम्भव छ जब यो मुलुकमा राजासहितको प्रजातन्त्र, सर्वधर्म समभावसहितको हिन्दू अधिराज्य पुनस्र्थापित हुन्छ ।

जनताले वर्षौं भोगेर फ्याँकिसकेको राजतन्त्रले निकास दिन्छ भन्नेमा आमजनता कसरी आशावादी हुने ?
तपाईं हामी सबैले बुझ्न जरुरी छ ०६२/०६३ को आन्दोलन नेपाली जनताले गरेको भन्ने जुन भाष्य निर्माण गरियो, प्रचारप्रसार गरिएको छ, त्यो नै गलत छ । नेपाली जनता सडकमा आए । व्यवस्था विरोधी आन्दोलनमा सहभागी भए । तर, त्यो आन्दोलन राजसंस्थाको अन्त्यमा लागि भएको आन्दोलन थिएन । पहिलो हामीले बुझ्नुपर्ने कुरा यो हो । पछिल्लो समयमा त न राजसंस्थाको विरोधमा नै त्यो आन्दोलन थियो न हिन्दू राष्ट्रको विरोधमा नै । यी कुरा त विभिन्न पार्टीका नेताहरूले विभिन्न फोरममा व्यक्त गरी नै रहेका छन् । यो कुरालाई उहाँहरूले पुष्टि पनि गरिरहनुभएको छ । यो एजेण्डामा थिएन भनेर भनी नै सक्नुभएको छ । त्यसकारण त्यो आन्दोलनको उद्देश्य, गन्तव्य र लक्ष्य राजसंस्थाको अन्त्यका लागि थिएन । यो देशी विदेशी संयन्त्रबाट नेपालको अस्तित्व समाप्त पार्नका लागि, नेपाललाई कमजोर गराउनका लागि राजसंस्था बाधकका रूपमा उनीहरूले देखेका थिए । बाधकका रूपमा रहेको राजसंस्थालाई षड्यन्त्रपूर्ण ढंगले, विदेशीहरूको षड्यन्त्रको कारणले र विदेशीहरूको यहाँ जो भत्ता पचाउन बसेका पात्रहरू छन् उनीहरूको आफ्नो स्वार्थका कारण अन्त्य गरिएको हो । त्यसकारण हामीले के बुझ्न जरुरी छ भने ०६२/०६३ को आन्दोलन राजसंस्थाको विरोधमा थिएन । राजसंस्थाको अन्त्यका लागि थिएन । हिन्दू राज्यको विस्थापनका लागि थिएन । यसकारण यो नेपाली जनताको चाहना, इच्छा, आकांक्षामा नभएकोलाई जसरी षड्यन्त्रपूर्ण ढंगले विस्थापित गर्ने काम भयो त्यो कुरालाई नेपाली जनताले अहिले बोध गर्न थालेका छन् । र, हामीलाई विश्वास छ नेपाली जनताकै बलमा, नेपाली जनताकै सहयोगमा यो मुलुकमा राजासहितको प्रजातन्त्र, सर्वधर्म समभावसहितको हिन्दू अधिराज्य पुनस्र्थापित हुन्छ । राजाको भूमिकालाई खोजेको छ समयले । यसतर्फ अब छिट्टै नै सबैको अग्रसरता हुनेछ भन्ने मलाई विश्वास छ ।

आन्दोलनको उद्देश्य, गन्तव्य र लक्ष्य राजसंस्थाको अन्त्यका लागि थिएन । यो देशी विदेशी संयन्त्रबाट नेपालको अस्तित्व समाप्त पार्नका लागि, नेपाललाई कमजोर गराउनका लागि राजसंस्था बाधकका रूपमा उनीहरूले देखेका थिए । बाधकका रूपमा रहेको राजसंस्थालाई षड्यन्त्रपूर्ण ढंगले, विदेशीहरूको षड्यन्त्रको कारणले र विदेशीहरूको यहाँ जो भत्ता पचाउन बसेका पात्रहरू छन् उनीहरूको आफ्नो स्वार्थका कारण अन्त्य गरिएको हो ।

यहाँको पार्टीले वर्तमान संविधानको पक्षमा मतदान पनि गर्‍यो । अनि मौका मिल्दा सत्ताको स्वाद पनि चाख्नुभएकै छ । सँगसँगै व्यवस्थाको विरोध पनि गरिरहनुभएकै छ । पार्टीको यो द्वैध चरित्र भएन र ?
यसमा चाहिँ सरसर्ती हेर्दा तपाईंले भने जस्तै लाग्न सक्छ । तर, के हो भने हामीलाई संविधानले एउटा अधिकार दिएको छ । तपाईंको मुद्दा, सिद्धान्त, विचारलाई स्थापित गर्नका लागि यही संविधानको प्रयोग गरेर, यही संविधानले दिएको व्यवस्थालाई उपयोग गरेर त्यसको विपक्षमा आफ्नो मतलाई जाहेर गर्न सक्नुहुन्छ । र, सबैलाई थाहा छ, आमनेपाली जनतालाई थाहा छ राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता विरोधी हो, संघीयता हुनुहुँदैन भन्दै आएको पार्टी हो, धर्मनिरपेक्षता हुनुहुँदैन र गणतन्त्र हुनुहुँदैन भन्ने पार्टी हो । त्यति हुँदाहुँदै पनि तपाईंले जुन प्रश्न गर्नुभयो त्यो चाहिँ के हो भने संविधानले दिएको अधिकारलाई प्रयोग गरेर हामीहरूले हाम्रा मुद्दाहरूलाई, विचारहरूलाई, हाम्रा सिद्धान्तलाई नेपाली जनताका बीचमा पुर्‍याउनका लागि र हाम्रा मुद्दालाई यो मुलुकमा स्थापित गर्नका लागि हामीले उपयोग गरेका यी रणनीतिहरू हुन् । मन, वचन र कर्मले राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता विरोधी हो ।

तर फेरि संघीयतामा नै भाग लिइरहनुभएको छ । संघीय सरकारका भागबण्डामा सामेल भइरहनुभएकै छ । कतै सभामुख त कतै कुन पदमा बसिरहनु पनि भएकै छ, यसलाई कसरी बुझ्ने ?
कतिपय कुराहरू यस्ता हुन्छन् कृष्णजी तपाईंले त्यहाँ भएका विकृति, विसंगति, भ्रष्टाचारलाई बुझ्नका लागि त्यहाँ तपाईंको उपस्थिति पनि अनिवार्य हुन जान्छ । त्यो तपाईंले जबसम्म बुझ्नुहुन्न तबसम्म त्यसका नकारात्मक कुराहरूलाई नेपाली जनताका बीचमा पु¥याउन सक्नुहुन्न । त्यो बुझ्नका लागि पनि, त्यसको भण्डाफोर गर्नका लागि पनि त्यहाँ भएका विविध विकृति, भ्रष्टाचार, अनियमितताका बारेमा अझ बढी नेपाली जनतालाई सुसूचित गर्ने ध्येयले नै यसलाई हामीले रणनीतिका रूपमा उपयोग गरेका हौँ । यो संविधानले दिएको सुविधालाई नै प्रयोग गरेर हामीले गरेका हौँ । त्यो केका लागि भने संघीयताको अन्त्यका लागि, धर्मनिरपेक्षताको अन्त्यका लागि र गणतन्त्रको अन्त्यका लागि ।

राजनीतिलाई फोहोरी खेलका रूपमा आमजनताले बुझ्न थालेका छन् । राजनीति भनेको मुलुक र जनताका लागि नभएर कमाउनका लागि, भ्रष्टाचार गर्नका लागि, आफ्ना नातागोता, आसेपासेका लागि अवसर दिलाउनका लागि हो भन्ने मूल्य मान्यता स्थापित भएको छ । यो दुखद् र विडम्बनाको कुरा हो ।

दैनिक हजारौँ युवाहरू विदेश गइरहेका छन् । प्लस टु पढेको विद्यार्थी यो देशमा बस्नै चाहँदैन । राजनीतिप्रति वितृष्णा बढिरहेको छ । अहिलेका प्रमुख भनिएका दलहरूसँग आमजनताको असन्तुष्टि रहेको पाइन्छ । देशका विविध समस्यालाई हामीले उठान गर्न सकेनौँ भन्ने लाग्दैन अथवा आमजनतालाई आफूतिर आकर्षित गर्न किन सकिएन भन्ने बहस हुन्छ तपाईंको पार्टीभित्र ?
तपाईंले माथि भनेका विविध विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म आफ्ना आवाजलाई बुलन्द बनाउँदै आएको छ । विदेश पलायन हुनबाट युवाहरूलाई रोक्नका लागि राज्य सरकार गम्भीर हुनुपर्छ । त्यसका लागि छुट्टै नीति अख्तियार हुनुपर्छ । र, स्वदेशमै युवाहरूलाई उनीहरूको योग्यता, क्षमतालाई सदुपयोग गरेर राष्ट्र निर्माणको अभियानमा जोड्नुपर्छ भन्ने मान्यता हामीले राख्दै आएका छाँै । शिक्षा र स्वास्थ्यको विषयमा राज्यले विशेष किसिमको व्यवस्था गर्नुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले भन्दै आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त यो विषयमा सरकारको जुन लाचारीपन छ अर्थात् जुन गैरजिम्मेवारी ढंगले राज्य प्रस्तुत भइराखेको छ त्यसमा हामीले सचेत गराउने र खबरदारी गराउनेमात्रै हो । त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीले इमानदारीपूर्वक गरिरहेको छ । हामीले जुन जुन ठाउँमा अवसर पाएका छौँ ती ती ठाउँमा नमुना काम गरेर देखाएका छौँ । त्यो ठाउँमा हामीले दिएको शिक्षा र स्वास्थ्यलाई हेर्ने हो भने त्यसबारे प्रष्ट हुन्छ । हल्दीबारी गाउँपालिका र कपिलवस्तु नगरपालिकामा हाम्रा प्रतिनिधिले गर्नुभएका कार्यले पनि यसलाई स्पष्ट गर्दछ । यतिबेला जुन लहर चलेको छ काम गर्न र पढ्नका लागि पनि बाहिर जाने, यसलाई रोक्नुपर्छ भन्ने मान्यता राष्ट्रिय प्रजातन्त्र पार्टीको छ । यसबारेमा राज्य सरकार गम्भीर हुनुपर्छ तर दुर्भाग्य या विडम्बना भन्नुहोस् राज्य सरकार गम्भीर छैन । देशमा नै उनीहरूले प्राप्त गरेको शिक्षालाई सदुपयोग गर्न नसक्नु नै निराशा बढ्नु हो । यो विषयमा हामी गम्भीर छौँ । राष्ट्र निर्माण गर्ने भनेको नै युवाहरूले हो । त्यो शक्ति नै देशमा नरहने हो भने भोलि यो देश कसले बनाउँछ ? यो चिन्ताको विषय हो । यसमा राज्य सरकार गम्भीर छैन । म फेरि पनि जोडौँ यो वर्तमान जुन व्यवस्था छ, यी यावत् विषयमा चिन्ता गर्न आएको व्यवस्था नै होइन । त्यसले गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले बारम्बार अवस्था होइन व्यवस्था बदल्नुपर्छ भन्दै आएको छ । संघीयता, धर्मनिरपेक्ष र गणतन्त्रबाट त्यो सम्भव छैन । तपाईंले दूधको आशा त गर्नुभएको छ तर कोबाट भने साँढेबाट, त्यो सम्भव होला ? यो त्यस्तै हो । जुन किसिमको परिस्थिति र अवस्था मुलुकमा देखिएको छ, जुन किसिमको पलायन हुने मनोविज्ञान बढेर गएको छ, जुन लहर छ त्यो गम्भीर विषय हो ।

मुलुकलाई समृद्ध बनाउनका लागि, मुलुकको मान-सम्मान र प्रतिष्ठालाई विश्वमा एउटा उचाइमा पुर्‍याउनका लागि र हाम्रा युवाहरूलाई स्वदेशमै राष्ट्र निर्माणको सामूहिक अभियानमा जोड्नका लागि हुने परिवर्तन कहीँ पश्चगामी हुन्छ ?

यहाँले पनि भन्नुभयो सबैतिर विकृति छ । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हामी छौँ  है भनेर आफ्नो दह्रो उपस्थिति आमजनतामा पनि देखाउन सकेन नि ? विकल्प अब राप्रपा नै हो भनेर जनतामा विश्वास हुन नसक्नुका कारणमा के देख्नुहुन्छ ?
यसको धेरै कारण छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भनेको यो मुलुकको माटोमा जन्मिएको पार्टी हो । यो राष्ट्रवादी पार्टी हो । यसले मुलुकका बारेमा, राष्ट्रका बारेमा चिन्ता गर्छ, चासो राख्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो भयो भने राष्ट्रियताको कुरालाई यसले सशक्त रूपमा उठाउँछ र यसलाई उठ्न दिनुहुँदैन भन्ने देशी विदेशी षड्यन्त्र छ । अहिलेको व्यवस्थाको विकल्प त राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो नि । सबै दलको मार्गचित्र त यही संघीयता हो, यही धर्मनिरपेक्षता हो, यही गणतन्त्र नै हो नि । अरू सबै एकातिर हामी एकातिर छौँ । तपाईंले भन्नु भएजस्तै जुन ढंगमा हामी आमनेपाली जनतामा जानुपर्ने थियो । जसरी बुझाउनुपर्ने हो, जसरी यो विचारको पक्षमा ल्याउनुपर्ने हो, आवाजहरूलाई बुलन्द गर्नुपर्ने थियो, जसरी मुलुकको हितका लागि वर्तमान व्यवस्था र प्रणाली उपयुक्त होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको विचार, मार्गचित्र नै उपयुक्त र उत्तम विकल्प हो भनेर जसरी हामीले सम्झाउन, बुझाउन सक्नुपथ्र्यो त्यो हुन नसकेको पक्कै हो । तर, यो हुन नसक्नुमा देशी विदेशी षड्यन्त्रहरू छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चौतर्फी घेराबन्दी गरेर कमजोर बनाउने, यसलाई गलत ढंगले प्रचार गर्ने कार्य भइरहेका छन् । तर, विस्तारै आमनेपाली जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेकै यो मुलुकका लागि उपयुक्त मार्गचित्र हो भनेर बोध गर्नेछन् । हामी यसका लागि निरन्तर, अहोरात्र हाम्रा एजेण्डा लिएर आमजनतामा गइरहने छौँ । भुगोल केन्द्रित जिम्मेवारीका साथ हाम्रा केन्द्रीय प्रतिनिधि खटिनु पनि भएको छ ।

कतै हाम्रा मुद्दा नै गलत छन्, हामी पश्चगामी मुद्दा लिएर हिँडिरहेका छौँ भन्ने लाग्छ कि ? समय सधैँ अग्रगमन हुन्छ तर यहाँहरू त राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै पश्चगमनतर्फ लागेको महसुस हुँदैन ?
त्यो होइन कृष्णजी । यो अग्रगमन र पश्चगमन भनेको भाष्य के हो ? अग्रगमन भनेको के ? नराम्रोका लागि, बेथितिका लागि, विसंगतिका लागि, भ्रष्टाचारका लागि, मुलुकका युवाहरूलाई विदेश पलायन गराउनका लागि भएका कार्य अग्रगमन हो ? नराम्रोका लागि बहुसंख्यक जनतालाई मारमा पर्ने कार्य पनि कहीँ अग्रगमन हुन्छ त ? मुलुकलाई समुन्नत बनाउनुभयो भने, नागरिकको जीवनस्तरलाई उठाउनुभयो भने, नागरिकलाई विकासको फलको प्रत्याभूति गराउनुभयो भने, नागरिकको सामाजिक जीवनलाई सुरक्षित भएको आश्वस्त पार्नुभयो भने, विश्वस्त तुल्याउनुभयो भने, अवसर र क्षमता भएकाहरूलाई त्यही किसिमको परिस्थिति निर्माण गर्नुभयो भने त्यो पो अग्रगमन होला त । होइन र ? हिजोका हाम्रा जे जस्ता उपलब्धिहरू छन् तिनलाई खत्तम पारेर, हाम्रो मान सम्मान र प्रतिष्ठालाई धूमिल बनाएर, हाम्रो गौरवमय इतिहास, परम्परा, संरचनालाई भत्काएर अनि भ्रष्टाचारको महान् उपलब्धि हासिल गरेर चाहिँ अग्रगमन हुन्छ ? त्यसकारण यो अग्रगमन र पश्चगमन भन्ने कुरा होइन । नेपाली जनताको हक हितको पक्षमा केही पनि नगर्ने अग्रगमन हुन्छ ? हामीले उठाएका मुद्दा मुलुकलाई स्थायित्व दिनका लागि हो । मुलुकलाई समृद्ध बनाउनका लागि, मुलुकको मान-सम्मान र प्रतिष्ठालाई विश्वमा एउटा उचाइमा पुर्‍याउनका लागि र हाम्रा युवाहरूलाई स्वदेशमै राष्ट्र निर्माणको एउटा अभियानमा जोड्नका लागि हुने परिवर्तन कहीँ पश्चगामी हुन्छ ? त्यसकारण यो अग्रगमन र पश्चगमन नेपाली जनतालाई दिग्भ्रमित पार्नका लागि ल्याइएको भाष्य हो । आफूलाई कथित अग्रगामी भन्नेहरू सुनकाण्ड, ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्डजस्ता काण्डै काण्डमा छन् त । त्यसकारण उनीहरूको भाषामा उनीहरूले अग्रगमन भने तापनि यो लुट मच्चाउन, भ्रष्टाचार गर्नका लागि ल्याइएको व्यवस्था हो, प्रणाली हो । आफ्ना आसेपासेलाई धनी बनाउन ल्याइएको यो व्यवस्था हो । आफ्ना नातेदारलाई राम्रो राम्रो ठाउँमा अवसर दिनका लागि ल्याइएको यो परिवर्तन हो । हिजोका सामान्य मान्छे आज अर्बपति छ, कुनै व्यापार बिजनेस नगरीकन, यो कसरी सम्भव भयो ? तपाईं नै भन्नुहोस् त । अनि यो अग्रगमन हो ? यो त लुटगमन हो । यो त भ्रष्टगमन हो । दिउँसै रात पार्ने काम हो । वर्तमान व्यवस्था न अग्रगमन हो न नेपाली जनताले खोजेको व्यवस्था हो । यो त थोपरिएको व्यवस्था हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बारम्बार अवस्था होइन व्यवस्था बदल्नुपर्छ भन्दै आएको छ । संघीयता, धर्मनिरपेक्ष र गणतन्त्रबाट त्यो सम्भव छैन । तपाईंले दूधको आशा त गर्नुभएको छ तर कोबाट भने साँढेबाट, त्यो सम्भव होला ? जुन किसिमको परिस्थिति र अवस्था मुलुकमा देखिएको छ, जुन किसिमको पलायन हुने मनोविज्ञान बढेर गएको छ, जुन लहर छ त्यो गम्भीर विषय हो ।

जनताका सरोकार र असन्तुष्टि एकातिर छन् तर तपाईंहरूले त्यसलाई नबुझेर व्यवस्थाप्रतिको वितृष्णा भन्ने विश्लेषण गर्नुभएको त हैन ?
जनसरोकारका कैयौँ विषयप्रति हाम्रो पनि गम्भीर चासो छ । यस विषयमा माथि पनि धेरै चर्चा भए । तर, कुनै न कुनै रूपमा ती विषयहरू हाम्रो मुलुकको राजनीतिक व्यवस्था र प्रणालीसँग पनि जोडिएका छन् । राष्ट्रको अस्तित्व र अस्मितासँग गाँसिएका छन् । हामीले उठाएका माग जायज छन् । देशको हितमा छन् । भ्रममा रहनुभएकाहरूले पनि विस्तारै कुरा बुझ्दै आउनुभएको छ । हामीले पनि बुझाउँदै लगेका छौँ । जुन गुलिया सपना बाँडेर, जनतामा भ्रम छरेर आएका थिए उनीहरूलाई जनताले अब बुझ्न थालिसकेका छन् ।

जनतामा व्याप्त रहेको वितृष्णाको मूल कारण भनेको नै यो व्यवस्था हो, यो प्रणाली हो ।

मन, वचन र कर्मले राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता विरोधी हो ।

राजाको भूमिकालाई खोजेको छ समयले ।

स्वदेशमै युवाहरूलाई उनीहरूको योग्यता, क्षमतालाई सदुपयोग गरेर राष्ट्र निर्माणको अभियानमा जोड्नुपर्छ ।

राष्ट्र निर्माण गर्ने भनेको नै युवाहरूले । त्यो शक्ति नै देशमा नरहने हो भने भोलि यो देश कसले बनाउँछ र देशको रक्षा कसले गर्छ ?

यहाँको पार्टीले उठाएका मुद्दा स्थापित होलान्, कति समय लाग्ला ?
हामी विश्वस्त छौँ, हामी यसलाई स्थापित गराउँछौँ । अब ठ्याक्कै यति समय लाग्ला भन्ने अर्कै कुरा हो । आज नेपाली जनताले बोध गर्न थालेका छन् । ०६२/०६३ को परिवर्तनमा जसरी षड्यन्त्रपूर्ण ढंगले राजसंस्थलाई विस्थापित गरियो । त्यो विस्थापित गर्नुको पछाडि एउटै मात्र कारण के रहेछ भने नेपाललाई कमजोर बनाउने । यो नेपाली जनताले पनि बोध गरिरहेका छन् । हाम्रा मुद्दा स्थापित गर्नका लागि मन, वचन र कर्मले हामी यो आन्दोलनमा छौँ, अभियानमा छौँ । नेपाली जनताको सहयोग र बलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका मुद्दा स्थापित गर्ने समय र दिन चाँडै नै आउने छ । नेपाली जनताको मुहारमा खुसी ल्याउने पार्टी राप्रपामात्र हो । अहिलेका सत्तासीन राजनीतिक दलहरूले नेपाली जनतालाई दुःखमात्र दिएका छन्, यिनीहरूबाट नेपाली जनताको मुहारमा हाँसो ल्याउने सोच राख्नु नै गलत भएको पुष्टि हुँदै गएको छ ।

नेपालमा विभिन्न धर्म सम्प्रदायका मानिसहरू बसोबास गर्छन्, तपाईंहरूको हिन्दू राष्ट्रको एजेण्डाले अन्य धर्मलाई मर्का पर्दैन ?
अन्य धर्मलाई असर गर्ने खालले हामीले हिन्दू धर्मको वकालत गरेकै होइन नि ? सर्वधर्म समभावसहितको हिन्दू राज्य भनेर हामीले भन्दै आएका छौँ । जहाँ सबै धर्मको सम्मान हुन्छ । सबै धर्मले आ-आफ्नो ढंगले जे-जे गर्नुपर्ने हो त्यो-त्यो गर्न पाउने हिसाबले हिन्दू राज्यको वकालत गर्दै आएका हौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्रै के कुरा भयो, अहिले त अन्यले पनि अप्रत्यक्ष रूपमा यो मुद्दालाई उठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भारत भ्रमणका क्रममा गेरु वस्त्र लगाएर महाकालेश्वर मन्दिरमा पूजा गर्न पुग्नुभयो । पशुपति मन्दिरमा पनि गएको देखियो । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेको मार्गचित्र नै यो मुलुकका लागि उपयुक्त रहेछ भन्ने कुरा नेपाली जनताले मात्र नभएर विभिन्न दल र तिनका नेताले पनि बुझ्न थाले । यसकारण समय आउँछ राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका मुद्दा स्थापित हुन्छ ।

पछिल्लो समय कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल नभइकन सरकार गठन नहुने परिस्थिति सिर्जना भएको छ । प्रदेशको नेतृत्व लिन अग्रसर हुनुहुन्छ कि कसैलाई सपोर्ट गर्नुहुन्छ ?
परिस्थिति कुन ढंगले अघि बढ्छ त्यसमा भरपर्छ । हामी प्रदेश संरचना खारेजको मुद्दा लिएर अघि बढेको पार्टी हो । यो मुद्दामा जोसँग हाम्रो कुरा मिल्छ, त्यहीसँग सहकार्य गर्छौं । तस्बिर : सुरेन्द्र थापा

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kusal sangrula
kusal sangrula
2023-07-31 12:42 pm

यर्थाथमूलक कुरा, धेरै कुराको जानकारी, राम्रो वार्तालाप

रिलेटेड न्युज

छुटाउनुभयो कि ?