निर्माण व्यवसायीका माग सम्बोधन गर्न ध्यानाकर्षण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनप्रति महासंघले चासो व्यक्त गर्दै माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको निर्माण व्यवसायीका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माणमात्र नभई अर्थतन्त्रमा नै समस्या पर्ने भन्दै ध्यानाकर्षण गराएको हो । व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव परेकाले त्यसतर्पm सरकार संवेदनशील हुनुपर्ने महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिँदा सरकारको पु“जीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन् । गत वर्ष पुँजीगत खर्च जम्मा ६१ प्रतिशत भएको छ । यसले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन । निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामग्री उत्पादक र राजस्वमा पनि गम्भीर असर परेको छ । राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योग करिब ३० देखि ३५ प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् ।’ महासंघले आन्दोलनरत व्यवसायीका जायज माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

यसैबीच नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन बुधबार चौथो दिनमा प्रवेश गरेको छ । आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार महासंघले प्रधानमन्त्री निवास बालुवाटार र नयाँ वानेश्वरमा धर्ना दिएको छ । बालुवाटारमा बिहान धर्ना कार्यक्रमको सुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन व्यवसायीको रहर नभई बाध्यता भएको भन्दै माग पूरा नभए सबै निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

सोही दिन नयाँ वानेश्वरमा दिएको धर्ना कार्यक्रममा महासंघका अध्यक्ष सिंह, पूर्वअध्यक्ष रमेश शर्मा, सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछाने, महासचिव रोशन दाहाललगायतले सम्बोधन गरेका थिए । वानेश्वर धर्नाका क्रममा प्रशासनले निर्माण उपकरण जफत गरेपछि महासंघले बिनानिर्माण उपकरण धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?