स्वच्छ ऊर्जा जलविद्युत नेपालको धन

Read Time = 24 mins

✍️ नारायणबहादुर गुरुङ

आजकाल नेपालको नदीनालाहरूबाट उत्पादित स्वच्छ ऊर्जा बिजुली निकासा गरेर विदेशी मुद्रा कमाउने कुराको निकै चर्चा परिचर्चा सुनिन आएको छ । त्यस सँगसँगै जलविद्युत विकासमा आइपरेका नयाँनयाँ अडचन, निकासा गर्दा आयातकर्ताबाट अस्वभाविक सर्त बारेका समाचार प्रशस्त पढ्न पाइन्छ । तर, एउटा कुरो भने कतै देखिँदैन । हाम्रा सवारी साधान र हाम्रा घरघरमा बिहान-बेलुका खाना पकाउँदा प्रयोग हुने अत्यावश्यक ऊर्जा बारे चर्चा कतै सुनिँदैन । सबैले भोग्दै आएका छौं कि हामीले मूल्यवान विदेशी मुद्रा खर्च गरेर आयतीत खनिज तेल र ग्यासबाट हाम्रो जीवन निर्वाह गरिरहेका छौं ।

अहिले विश्वभरि जलवायु परिवर्तनको कारणले मौसममाथि नराम्रो प्रभाव पारेको छ । विदितै छ जलवायुलाई प्रभावित पर्ने हरित ग्यास अथवा कार्बनडाई अक्साइड उत्सर्ग गर्नमा खनिज तेल र ग्यास मानिएको छ । यसबाट निस्कने प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको त अनुभव गरिरहेकै छौं । यसरी प्रदुषण फैलाउने, जनस्वस्थ्यमा प्रतिकूल असर पार्ने बहुमूल्य विदेशी मुद्रा विदेशिने वस्तुलाई स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाले प्रतिस्थापन गर्ने बारे चर्चा नहुनुमा आश्चर्य लाग्छ । त्यसबाहेक केही वर्षअघि यी वस्तुहरू समेतमा लादिएको एकतर्फी अमानवीय नाकाबन्दीका कारण भोग्नुपरेको कठिनतम् अवस्थालाई निर्णयकर्ता, नीतिनिर्माणकर्ता, योजनाकार आदिले सजिलै बिर्सेको अनुभूति हुन्छ ।

नेपालमा आमनागरिक, जनप्रतिनिधि र निर्णयकर्ताहरूमा आर्थिक प्राविधिक आधारभूत ज्ञान कमै छ । धेरैजस्तो दीर्घकालीन असर पर्ने निर्णय हचुवाको भरमा गरेको पाइन्छ । नीतिगत कुरामा अष्पष्ट, दीर्घकालीन सोच नभएको, गैरजिम्मेवारी, गैरउत्तरदायित्वका कारण भएका उद्योगहरू धराशयी भएका छन् भने नयाँ थपिन सकेका छैनन् ।

त्यस्तै रोग जल विद्युत विकासमा पनि देखिएको छ । हुनत हाम्रो राष्ट्रिय योजना आयोगमा विदेशको नाम चलेको विश्वविद्यालयबाट विद्यावरिधि गर्नुभएका र विदेशी नाम चलेको संघसंस्थामा जिम्मेवार पदमा काम गरेर अनुभव बटुल्नुभएका व्याक्तिहरू प्रशस्तै हुनुहुन्छ । उहाँहरूले तयार गर्नुभएको योजना र परामर्सको कमजोरी हो वा राजनीतिक नेतृत्वको वेवास्ताले हो बुझ्न सकिएको छैन । राजनीतिक नेतृत्व सँगसँगै परिवर्तन भइरहने योजना आयोगका टेक्नोक्र्याटलाई हेर्दा कतै राजनीतिक पार्टीसँग साखुल्य भएर फाइदा लिने अवसरवादी त होइनन् भन्ने प्रश्न उठ्छ र तिनीहरूले बनाउने योजना तिनका राजनीतिक संरक्षकहरूका अल्पकालीन स्वार्थ पूरा गर्न तयार गरिएका त होइनन् भन्ने अर्को प्रश्न उठ्छ ।

नेपालमा आमनागरिक, जनप्रतिनिधि र निर्णयकर्ताहरूमा आर्थिक प्राविधिक आधारभूत ज्ञान कमै छ । धेरैजस्तो दीर्घकालीन असर पर्ने निर्णय हचुवाको भरमा गरेको पाइन्छ । नीतिगत कुरामा अष्पष्ट, दीर्घकालीन सोच नभएको, गैरजिम्मेवारी, गैरउत्तरदायित्वका कारण भएका उद्योगहरू धराशयी भएका छन् भने नयाँ थपिन सकेका छैनन् ।

हाम्रा अनमोल जल सम्पदा कोशी, कर्णाली, महाकाली नदीहरूमा सन्धि गर्दा हाम्रा जनप्रतिनिधि, निर्णयकर्तामा आर्थिक प्राविधिक ज्ञानको अभाव, दीर्घकालीन सोच नभएको, प्रशस्त मात्रामा गरिनुपर्ने पूर्वतयारीको अभाव, सहकार्य गर्नेहरूप्रति अन्धविश्वास, भक्तिभाव, उनीहरूको चतु¥याइँलाई निष्तेज पार्ने सक्ने बौद्धिकताको कमी हो । ती राष्ट्रलाई अहित गर्ने सन्धिहरूका कारण निम्त्याएको कुप्रभावले सिमानामा बस्ने नेपालीले वर्षैपिच्छे पीडा भोग्नुपरेको छ ।

ती नदीहरू त हाम्रा हातबाट फुस्किसके हामी दुःख मनाउ गर्नुबाहेक केही गने सक्दैनौं । बाँकी भएका नदी नालाबाट प्रचुरमात्रमा स्वच्छ जलविद्युत निकालिने सम्भावना छ भन्दै गर्व गर्नेगर्छौं । जलस्रोतका विज्ञहरूका अनुसार ४० गिगावाटको सम्भावना छ भनिन्छ । २०२३ मार्चसम्म राष्ट्रिय ग्रिडमा जोडिएको नेपालको कुल विद्युत उत्पादन क्षमता २,६८९ मेघावाट पुगेको छ । यसमध्ये जलविद्युतले ९६ प्रतिशत भन्दा माथि ओगटेको छ भने बाँकी तेल बालेर चलाउने डिजेल प्लान्ट र सौर्य ऊर्जाबाट उत्पादन भएको हो ।

दक्षिण एसियामा स्वच्छ जलविद्युतमा आत्मनिर्भर हुन सक्ने देश हामी र भुटानमात्र पर्दछौं । भारत ८० प्रतिशत खनिज तेल र कोइला प्रयोग गर्छ जसमध्ये अत्याधिक प्रदुषण गर्ने कोइलाले ६७.९ प्रतिशत ओगट्छ । बंगलादेशले ९१.५ प्रतिशत प्राकृतिक ग्यास र पाकिस्तानले ५०.२ प्रतिशत खनिज तेल प्रयोग गर्छ विद्युत उत्पादन गर्न । खनिज तेल र ग्यास पनि कोइलाभन्दा कम प्रदुषित भए पनि जलवायु र हाम्रो स्वस्थ्यमा प्रतिकूल असर पर्ने तत्व हुन् ।

विद्युत ऊर्जा अथवा शक्ति थुप्रै रूपको शक्तिहरूमध्ये एक हो । प्रकाश शक्ति, ताप शक्ति अथवा थर्मल एनर्जी, यान्त्रिक शक्ति, रसायनिक शक्ति, नाभिकीय शक्ति (न्युकलर एनर्जी) अथवा परमाणु शक्ति (एटोमिक एनर्जी), गुरुत्वाषर्ण शक्ति सबै फरक फरक शक्तिका रूपका ऊर्जाहरू हुन् ।

शक्तिलाई एउटा रूपबाट अर्को रूपमा बदल्न सकिन्छ । बिजुली शक्तिलाई जुनसुकै रूपमा प्रयोग गर्न सक्छौं । हाम्रा दैनिक जीवनमाबाहेक कलकारखाना, प्रयोगशाला, अनुसन्धानशाला, शिक्षण संस्था, अस्पताल आदि जताततै बिजुलीबिना काम चल्दैन । आधुनिक सुख सुविधा, विकास सबै बिजुलीमाथि निर्भर छ । यस्तो महत्वपूर्ण अनमोल सम्पति, प्राकृतिक स्रोत हामीकहाँ छ । यसको सदुपयोग र रक्षा गर्नाले हामीलाई समृद्धितिर डोहोर्‍याउँछ ।

(१) बिजुली कसरी उत्पादन हुन्छ ?
मानव सभ्यताको सुरुदेखि हात र खुट्टामा भएको बलबाट मानिसले आफ्नो सुरक्षा र आवश्यकता पूरा गर्दै आए । पछि घोडा, हात्ती, गधा, खच्चर, गोरु र राँगाजस्ता घरपालुवा पशुबाट कुनै-कुनै काम गराए । यन्त्र अथवा मेसिनहरूको विकास भएपछि त्यो काम छिटोछरितो र सस्तोमा पूरा हुन थाल्यो ।

ढिकी जाँतो, हलो कोदालो, हँसिया आदि सबै यन्त्र नै हुन् । यिनीहरूलाई मानिसको बलले चलाइन्थ्यो । आधुनिक यन्त्रलाई पानीको बल, पानी उमालेर निस्केको बाफको बलबाट निस्केको ऊर्जालाई यन्त्रिक शक्तिमा पणिरत गरेर चलाउन थालेपछि उत्पादकत्व बढ्यो सजिलो भयो ।

बिजुली निकाल्दा प्रयोग हुने मदानीलाई टर्बाइन भनिन्छ । यो निर्माण गर्दा प्रयोग हुने धातु, पखेटा (ब्लेड)को कोण र घुमाउरोपना कर्भ, टर्वाइन सजिलैसँग घुम्न मद्दत गर्न बिएरिङ, चिप्लो पार्ने लुबिक्यान्टस आदि ध्यान पु¥याएर मेकानिकल इन्जिनियरले डिजाइन गर्ने निर्माण गर्ने गर्दछन् ।

जेनेटरले यन्त्रिक शक्तिलाई बिजुली शक्तिमा परिवर्तन गर्ने सिद्धान्त फाराडे र फ्लेमिङ दुईजना वैज्ञानिकहरूको अनुसन्धानबाट पत्ता लागेको प्रकृतिको रहस्य हो । कुनै शक्तिशालि चुम्बकीय क्षेत्रभित्र भएको तारको कोइललाई घुमाउँदा त्यो तारमा विद्युत प्रवाह हुन्छ । सामन्यता त्यो तामाको कोइल बलियो धातुमा बेरिएको हुन्छ जस्लाई आर्मचर भनिन्छ । ठ्याक्कै त्यसको उल्टो विद्युत् मोटरले काम गर्छ । यसमा चुम्बकीय क्षेत्रभित्र भएको तामाको तारको कोइलमा विद्युत जोडिदिँदा त्यो कोइल घुम्न थल्छ । यो प्रक्रिया भनेको विद्युत शक्तिलाई यन्त्रिक शक्तिमा बदल्नु हो ।

हाम्रो राष्ट्रिय हितका लागि कहिलेकाहीँ कूटनीतिक चातुर्य, बुद्धिमत्ता र दीर्घकालीन हितलाई हेरेर ‘हुँदैन’ भन्न सक्नुपर्छ, समयमै प्रशस्त विकल्पहरू खोजिनुपर्छ । हामी सामान्य जनता बुद्धिजीवी, राजनीतिज्ञ सबै देशभक्त चनाखो हुनुपर्छ र खबरदारी गरिरहुनुपर्छ ।

जलविद्युतबाहेक तापशक्ति अथवा थरमल एनर्जीबाट बिजुली उत्पादन गरिन्छ । यसमा पानीलाई कोइला, खनिजतेल, परमाणुशक्तिबाट तताएर निस्केको उच्चचापको बाफले स्टिम टर्वाइनको ब्लेडमा दबाब दिन थालेपछि टर्वाइन घुम्न थाल्छ । यो प्रक्रियामा ताप शक्ति यन्त्रिक शक्तिमा पणिरत हुन्छ । त्यो टर्वाइनसँग जोडिएको जेनेटरले जलविद्युत उत्पादन गरे जस्तै विद्युत उत्पादन गर्न थाल्छ । फरक यतिमत्रै हो कि त्यो जेनेटरभित्रको तामाको कोइल बेरिएको आर्मचरलाई घुमाउन चाहिने यन्त्रिक शक्ति उत्पादन गर्ने मूलतत्व । जलविद्युतको लागि नदीनालाहरूको पानी भएजस्तै ताप शक्तिबाट बिजुली निकाल्न कोइला, तेल, ग्यास र परमाणुशक्ति चाहिन्छ । परमाणुशक्तिबाट निकालेको ऊर्जा पनि स्वच्छ हुन्छ तर उच्च प्राविधिक दक्षता चाहिने र दुर्घटना भएमा ठूलो संकट ल्याउने हुँदा जो कोहीको रोजाइमा पर्दैन ।
जलाशय, पोखरी, ताल, ड्याममा जम्मा भएको पानीमा भएको शक्तिलाई पोटेन्सियल एनर्जी भनिन्छ । यो सञ्चित भइरहेको शक्तिलाई काइनेटिक इनर्जीमा बदलेर जुनसुकै बेला जलविद्युत निकाल्न सकिन्छ । स्थिर अवस्थामा भएको जुनसुकै वस्तुमा पनि पोटेन्सियल इनर्जी हुन्छ भने गुडिरहेको वा गतिवान वस्तुमा काइनेटिक इनर्जी हुन्छ ।

(२) दक्षिण एशियामा प्रतिव्यक्ति विद्युतखपत नेपालमा सबभन्दा कम छ । नेपालले १७२ किलोवाट आवर, बंगलादेश ४१७ किलोवाट आवर, श्रीलंका ५९३ किलोवाट आवर, पाकिस्तान ६२४ किलोवाट आवर र भारतले ८९० किलोवाट आवर प्रतिव्यक्ति खपत गर्छन् । यो खपत विश्वको सरदर खपत ३१८० किलोवाट आवरभन्दा निकै कम हो । २०२१ जुलाई सम्मको तथ्यांक अनुसार नेपालमा उत्पादित बिजुलीले केवल ६८ प्रतिशत माग पूरा गर्छ भने बाँकी ३२ प्रतिशत भारतबाट आयत गर्छ । २०२२ मध्ये अप्रिल महिनाको तथ्यांक अनुसार नेपालभित्रको बिजुली खपत यस प्रकार छ । आवसमा ४४, उद्योग मा ३७, व्यापरिक क्षेत्रमा ७ प्रतिशत र बाँकी बिजुली चुहावट र कृषिमा ।

स्वदेशमै बिजुली खपत बढाएर वैदेशिक मुद्राको सञ्चिति बढाउन, प्रदुषण घटाउन उल्लेखनीय भूमिका खेलाएर, नागरिकहरूको जीवनमा सुबिधा बढाउन र हुनसक्ने नाकाबन्दीको त्रासबाट जोगिन सकिन्छ । विद्युत विकासमा भएको अन्योललाई हल गर्नसमेत सहयोग पुर्‍याउन सक्नेछ । त्यसका लागि तलका केही सुझाब विचारणीय हुन सक्छन् ।

(क) बिहान बेलुकाको खाना पकाउने आयतीत ग्यासलाई प्रतिस्थापना गराउने : कुनै बेला फेरि लोडसेडिङ भइहाल्ने त्रासले गृहणीहरूले हत्पती विद्युतीय चुलो चलाउने प्रयास नगरेको देखिन्छ । साथै सस्तो महँगो कति पर्ने हो कुनै अनुभव नभएका कारण एउटा हो । यो मनस्थितिलाई सही तरिकाले सम्बोधन गर्न विद्युत प्राधिकरण र सरकारले राम्रा कार्यक्र चलाउन अविलम्ब सुरु गर्नुपर्छ ।

(ख) यातायात सवारीसाधान विद्युतीय प्रणालीमा लैजाने : आयातीत खनिज तेलको ठूलो हिस्सा यो क्षेत्रमा खपत भएको छ । सार्वजनिक यातायातका साधन विद्युतीकरण गरिनुपर्छ । केही थान आयातीत ब्याट्रीबाट चल्ने बस र निजी सवारीसाधनले मात्रै समाधान हुने देखिँदैन । त्यसमा पटकैपिच्छे यस्ता सवारीसाधानमा लगाइने करको थपघटलाई सरकारमा दीर्घकालीन योजनाको अभाव देखिन्छ । ट्रली जस्तो सजिलो, पाको प्रविधि हामीजस्तो निर्धन र पिछिडिएको देशका लागि उपयुक्त साधन हो । हाम्रो पूर्वअनुभव पनि छ ।

(ग) रेल सेवालाई विद्युतीकरण गर्ने : भारतको जयनगरदेखि नेपालको बर्दीबाससम्मको ६८.७ किलोमिटर रेलमार्ग स्तरोन्नति गर्न मित्रराष्ट्र भारतले सहयोग गरेको छ । अहिलेसम्म ५२ किलोमिटर बनेर पनि हस्तान्तरण भइसकेको छ तर रेलमार्ग विद्युतीय होइन रहेछ । हामीले भारतबाट किनेर ल्याएको रेल पनि डिजेलले चल्ने रहेछ । बढी भएको स्वच्छ विजुली विदेश निर्यात गर्ने कुरा भइरहँदा यो रेल लाइन विदेशी मुद्रा खर्च गरेर आयतीत र प्रदुषण बढाउने खनिज तेलले चलाउने निर्णय कसरी भयो ? एकदम आश्चर्य लागेको छ । निर्णय कर्ता, योजनाकार, रेल विभाग नराम्ररी चुकेको भन्ने मिल्ने कि नमिल्ने ? तुरुन्त सुधार हुनुपर्छ ।

यो रेल मार्गमा अर्को एक त्रुटि छ त्यो हो नेपाल सरकारले नेपालमा रेलमार्ग निर्माण गर्दा स्ट्यान्डर्ड गेजमा गर्ने भन्ने निर्णय प्रतिकूल ब्रोडगेजमा बनाएको छ । लापारबाही भन्न मिल्ने कि नमिल्ने ? रक्सौलदेखि काठमाडौंसम्मको रेलमार्गको सम्भाव्यता अध्ययनको रिपोर्ट भरखरै भारत सरकारका प्रविधिकले नेपाल सरकारलाई बुझाएको छ । यस्ता र कुनै अन्य कमजोरी पनि नदोहोरियुन् ।

(घ) उद्योगहरू बढाउने : सुनिन्छ देशको सुरक्षा र सडक बनाउन, सुरुङ खन्नजस्ता विकास निर्माण काममा अति आवश्यक पर्ने विष्फोठक पदार्थको आपूर्ति हुन नसक्दा थुप्रै आयोजना प्रभावित भएका छन् । सरकारले के गरिरहेको छ अत्तोपत्तो छैन । बारुद नेपाली सेनाले उत्पादन गर्छ भनिन्छ । यो एक्दम पुरानो आविस्कार हो र प्रविधि पनि एकदमै पाको हो । तर सरकारले बेलैमा ध्यान नदिँदा अहिले गलपासो भएको छ ।

(३) विद्युत उद्योगको विकास निर्माण, निर्यात र अडचनहरू : जलविद्युतका लागि ठूलो लगानी चाहिन्छ । प्राविधिक पक्षमा देशमै जनशक्ति भए पनि त्यसमा चाहिने ठूलो लगानी मुख्य बाधकको रूपमा रहेको छ । नेपाल सरकारले समय समयमा विदेशी लगानीकर्ताहरूलाई आमान्त्रण गरिरहेको छ र आइरहेका पनि छन् तर उत्पादित विद्युतको खपतलाई भारतमा निकासा गर्ने भन्नेबाहेक अरू आन्तरिक खपतको लागि खासै चासो नदिएको देखिन्छ । खरिदकर्ता मित्रराष्ट्रले राखेका सर्तहरू मित्रवत छैनन् । ऊबाहेक सबै लगानीकर्तादेखि ठेकेदारलाई भगाएर एकलौटी आफ्नो पोल्टामा पार्ने खेल खेलेको दिनप्रतिदिन प्रष्ट हुँदैछ ।

हाम्रो आर्थिक विकास र कूटनीतिक सम्बन्धलाई पनि असर पार्ने हेपाहा र अपमानजनक यस्ता मागप्रति नतमस्तक हुँदै नेतृत्वले सुम्पिरहेको छ । बिजुली बेचेर नाफा कमाएको उदाहरणका रूपमा भुटानलाई देखाइन्छ तर भुटानी जनताले भारतबाट सहुलियतपूर्वक पाउने ग्यासले खान पकाउनुपर्छ भन्नेतिर ध्यान नदिएको हो वा हेर्न नचाहेको हो । भुटानी सरकारले यसो हातखुट्टा फैलाउन थाल्यो भने त्यो सहुलियत बन्द गर्ने धम्की पाउँछन् ।

हामीसँग भएको यो अनमोल सम्पदा एकै जनाको थैलीमा हालिदिँदा हाम्रो पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन । हाम्रो राष्ट्रिय हितका लागि कहिलेकाहीँ कूटनीतिक चातुर्य, बुद्धिमत्ता र दीर्घाकालीन हितलाई हेरेर ‘हुँदैन’ भन्न सक्नुपर्छ, समयमै प्रशस्त विकल्प खोजिनुपर्छ, तयार गरिनुपर्छ । अहिले जस्तो खोलो त¥यो लौरो बिस्र्यो गर्ने हो भने निकट भविष्यमा ठूलो संकट आउँन सक्छ । हामी सामान्य जनता बुद्धिजीवी, राजनीतिज्ञ सबै देशभक्त चनाखो हुनुपर्छ र खबरदारी गरिरहुनुपर्छ ।

राष्ट्रिय पत्रिकामा आएका समाचारहरू सत्य हुन् भने खरिदकर्ताबाट आएका ती माग एउटा राष्ट्रले अर्को राष्ट्रलाई गर्नुपर्ने न्यूनतम शिष्टता र मर्यादाभन्दा बाहिर छ । डब्लुटिवोको सन्धिविपरीत आधारभूत सामग्री रोकेर अनावश्यक दुःख दिनु खेदजनकमात्र होइन लज्जास्पद हो । त्यसलाई प्रतिवाद नगरी त्वां शरणम् गर्नेलाई के भन्ने ? दक्षिण एशियामा अर्काको हित होस् भनेर कामना गरिने, अर्काको सुखमा रमाउने वैदिक मन्त्र : ‘सर्वैषां स्वति भवतु । सर्वैषां शान्तिर्भवतु ।। सर्वैषां पुर्णेभवतु । सर्वैषां मंगलम भवतु ।।’ सबैलाई खुशी मिलोस् । सबैलाई शान्ति मिलोस् । सबैलाई भरपूर्र होस् । सबैको कल्याण होस् मंगल होस् । देशलाई समृद्ध बनाउन संघर्ष गरिराखेको एउटा सानो, पिछडिएको, कमजोर मैत्रीपूर्ण देशलाई हरप्रकारले दबाएर आफूलाई महाशक्ति र विश्व गुरु भन्न रुचाउने छिमेकीले यो मानवीय अभ्यासको खिल्ली उडाएका त होइनन् ? संघाई, चीन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?