मलेसिया र खाडीमा वैदेशिक रोजगारी आकर्षण उस्तै, विकशित देशको चर्चा मात्र

हिमालय टाइम्स
Read Time = 10 mins

रमेश भारती/हिटा
काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा देश छाडेर विदेश जाने क्रम मासिक रूपमा बढ्दो छ । २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक लाख ४० हजार ४४२ जना बढी वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

आर्थिक वर्ष २०७९/८० मा खाडीका देश र मलेसिया नै नेपालीको रोजगार गन्तव्य देश बनेको छ । गत वर्ष मलेसियामा सबैभन्दा धेरै नेपालीहरू वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ । गत वर्ष सात हजार २९९ महिलासहित दुई लाख ५९ हजार ५९४ जना मलेसिया रोजगारीका लागि गएका छन् । सोमध्ये दुई लाख १९ हजार ३५७ जनाले मलेसिया जान पहिलोपटक श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ ।

मलेसियापछि सबैभन्दा बढी नेपाली कामदारको रोजगार आकर्षण खाडीका देश परेका छन् । खाडीका देशमा पनि कतार जानेको संख्या गत वर्ष धेरै रहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा ६ हजार ६९९ महिलासहित एक लाख ३३ हजार २६२ जनाले कतार जान श्रम स्वीकृति लिएका छन् । कतारपछि यूएई जान २४ हजार ९१ महिलासहित एक लाख १६ हजार १५९ जनाले श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा छ ।

साउदी नेपाली कामदारको चौथो रोजगार गन्तव्य देश बनेको छ । गत वर्ष ९३३ महिलासहित एक लाख १२ हजार ७७७ जनाले साउदीका लागि श्रम स्वीकृति भएको विभागले जनाएको छ । साउदीपछि कुवेत जान ३१ हजार ६९१ पुरुष ११ हजार ८१६ महिला गरी ४३ हजार ५०७ जना र बहराइनको लागि एक हजार ११७ महिला र ६ हजार ५१४ पुरुष गरी सात हजार ६९० जनाले श्रम स्वीकृति लिएका छन् । खाडीकै अर्को देश ओमानको लागि श्रम स्वीकृति लिनेको संख्या तीन हजार ९५५ पुरुष र एक हजार ३३९ महिला गरी पाँच हजार २९४ रहेको छ ।

यस्तै, युरोपका देश, खाडी र मलेसियाबाहेक दक्षिण कोरियामा २२ हजार ३३ जना कामदार रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ । दक्षिण कोरियापछि जापानको लागि एक हजार ४५८ महिलासहित नौ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालबाट सरकारी प्रक्रियामा श्रमिक पठाइने देश इजरायलमा एक हजार ८४ जना रोजगारीका लागि पुगेका छन् । गत आर्थिक वर्षपछि ९४ प्रतिशत नेपाली मलेसिया र खाडीका देश वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

मलेसियाको सरकार पछिल्लो समय श्रमिकको पक्षमा लचिलो बन्दै गएका कारण यो देश नेपाली कामदारको रोजाइमा परेको म्यानपावर व्यवसायीले जनाएका छन् । म्यानपावरका अनुसार आधारभूत तलब बढाएर १५ सय रिंगिट भएको कारण मलेसिया नेपाली कामदारको रोजाइ परेको हो । मलेसियाको हावापानी नेपालकोसँग मिल्दोजुल्दो भएकाले पनि त्यहाँको आकर्षण बेढेको देखिन्छ । मृत्युदण्डको सजाय हुनेलगायत केही कानुनमा सुधार गरिएको कारण मलेसियामा धेरै नेपाली कामदार गएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

युरोप नयाँ गन्तव्य तर, आकर्षण बढेन
आर्थिक वर्ष २०७९/८० मा विभागले श्रम स्वीकृति दिएको तथ्यांकअनुसार नेपालीहरूले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । अघिल्लो आर्थिक वर्षमा पनि यी देशमा यही संख्यामा नेपाली कामदार रोजगारीका लागि गएको विभागले जनाएको छ । यो वर्ष ४३ हजार ७३४ कामदार युरोपका देश रोजगारीमा गएको विभागले जनाएको छ ।

सरकारले युरोपका रोमानिया, क्रोएसिया, साइप्रस र पोल्याण्डलाई नयाँ रोजगार गन्तव्य देशका रूपमा अघि सरेको थियो । तर, यी देशमा नेपाली कुटनीतिक नियोग नहुँदा रोजगारीमा जाने कामदारको आकर्षण बढ्न सकेन । सरकारले युरोपका देशमा पनि नेपाली कामदार पठाउन नयाँ रोजगार गन्तव्यका रुपमा विकास गरिरहेको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । खाडी र मलेसियामा नेपाली कामदार तीन दशकयता जाँदै आएका कारण पनि आकर्षण उस्तै भएको उहाँको दाबी छ । विस्तारै युरोपका देश जाने नेपाली कामदारको संख्यामा आकर्षण बढ्ने दाहाल बताउनुहुन्छ ।

नेपालीहरू धेरै रोजगारीमा जाने युरोपेली देशमध्ये रोमानियाको लागि एक हजार ७७३ महिलासहित १४ हजार २२५ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रोमानियाको लागि सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका थिए । रोमानियापछि क्रोएसियाको लागि आर्थिक वर्ष २०७९/८० मा ५२९ महिलासहित सात हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन् । जुन त्यसको अघिल्लो आर्थिक वर्षको भन्दा दुई हजार बढी हो । आर्थिक वर्ष २०७८/७९ मा क्रोएसियाको लागि पाँच हजार ३३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

दक्षिण युरोपेली देश माल्टा पनि नेपाली श्रमिकको रोजाइमा पर्दै आएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९१५ जना रोजगारीको लागि माल्टा पुगेका थिए । तर, गएको आर्थिक वर्षमा माल्टा जानेको लहर ह्वात्तै बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा चार हजार ५६८ पुरुष र एक हजार ७३५ महिला गरी ६ हजार ३०३ जनाले माल्टा जानको लागि श्रम स्वीकृति लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७९/८० मा रोजगारीको लागि बेलायत जान ६६९ महिलासहित दुई हजार २६४ जना र सर्बिया जान २३३ महिलासहित ९६२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । २०७८/७९ मा सर्बियाको लागि ९६ जनाले श्रम स्वीकृति लिएका थिए । बेलायतमा भने मौसमी श्रमिकको नाममा पठाउँदा त्यो समयमा अलि धेरै श्रमिक बेलायत गएको देखिन्छ । यो वर्ष दुई हजार ८१४ जनाले बेलायतको लागि श्रम स्वीकृति लिएका थिए ।

पोर्चुगल पनि नेपाली श्रमिकको रोजाइ गन्तव्य बन्दै गएको छ । आर्थिक वर्ष २०७९/८० मा ६४ महिलासहित ७३२ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका छन् । त्यसको अघिल्लो आर्थिक वर्षमा जम्मा ७९ जनाले पोर्चुगल जान श्रम स्वीकृति लिएका थिए । ब्रुनाई जान १२७ महिलासहित १३ सय ५५ जना र क्यानडाको लागि १२१ महिलासहित ६४६ जनाले श्रम स्वीकृति लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?