अर्थतन्त्रमा सुधार हुँदैछ : अर्थमन्त्री

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । लेखापरीक्षकहरूको संस्था नेपाल अडिटर्स एसोसिएसन (अडान) को १८औँ स्थापना दिवस सम्पन्न भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रम उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने दाबी गर्नुभयो । अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत् सम्बोधन गरेकाले वित्त नीतिमार्फत् पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रम ल्याउन लागेको उहाँले जानकारी गराउनुभयो । मन्त्री महतले अन्तर्राष्ट्रिय परिस्थिति, कोरोना प्रभावलगायतका कारण सिर्जित समस्या अर्थतन्त्रमा अझै कायम रहेको भन्दै सरकारले तरलता वृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने बताउनुभयो ।

साथै उहाँले सुशासनको महत्वपूर्ण कुरा लेखापरीक्षणसँग जोडिएकाले एकाउन्टेन्स र अडिटिङमा पारदर्शिता कायम गर्न ठूलो भूमिका रहेको पनि बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ । हिसाबकिताब चुस्तदुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस् वा अन्य निकायको होस्, त्यसको हिसाबकिताब हेर्ने काममा महत्वपूर्ण भूमिका छ ।’

उहाँले बजेटको स्रोत सुनिश्चितता गरेका आधारमा बहुवर्षे विकासका आयोजना अघि बढाउँदा पछि बजेटले नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताउनुभयो । मन्त्री महतले आर्थिक संकट भोगेका उद्योगी व्यवसायीलाई सकारात्मक बहस सुरु गरेर हामी गर्न सक्छौँ भन्ने मान्यतासाथ अघि बढ्न आग्रह गर्नुभयो । अडानका अध्यक्ष केदारनाथ पौडेलले जुन उद्देश्यका लागि अडानको स्थापना गरिएको थियो, त्यो उद्देश्य पूरा भएको जिकिर गर्नुभयो । अध्यक्ष पौडेलले २०८० सालदेखि दर्तावाल लेखापरीक्षकलाई एक व्यक्ति, एक पेशाको अवधारणा लागू गर्न लागिएको भन्दै लेखापरीक्षक ऐन २०३१ विपरीत एक व्यक्ति, एक पेशाका रूपमा लेखापरीक्षकले काम गर्न समस्या हुने बताउनुभयो । नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन २०५७ संशोधन हुन लागेकाले संशोधन क्रममा छलफल गरेर अगाडि लैजानुपर्ने उहाँको सुझाव थियो । अध्यक्ष पौडेलले प्रोफेसनल एकाउन्टेन्ट विषय सिटिइभिटीबाट पढाउने गरी १६ सय ९६ घण्टाको कक्षा हुने, ८० प्रतिशत सैद्धान्तिक र २० प्रतिशत अभ्यासगत कोर्ष सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगी व्यवसायीमैत्री नीति ल्याउन आग्रह गर्नुभयो । चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) अध्यक्ष दिपक पाण्डेले नेपालबाट चार्टर्ड एकाउन्टेन्टहरू दुबई, मलेसिया, अष्ट्रेलिया, युरोपलगायतका देशमा पलायन हुने अवस्थातर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संस्थाहरूको आर्थिक अवस्थाले देशको आर्थिक अवस्था देखाउने भन्दै त्यस्ता संस्थाहरूको लेखापरीक्षण गर्दा देशका लागि सहयोग पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अडानले उठाएका विषय र मुद्दामा महासंघको साथ रहने बताउनुभयो । ६५ जिल्लामा विस्तार भएको अडानमा सात हजारभन्दा बढी सदस्य आबद्ध रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?