नेकपा एस बैठकमा पार्टी नेतृत्वको आलोचना

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसद्को गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

एकीकृत समाजवादीका नेताहरूले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए । संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । संसद् बैठक नै बस्न नसक्ने अवस्था सिर्जना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेको उहाँको भनाइ थियो ।

उपमहासचिव तुलाधरले भन्नुभयो, ‘संसद्लाई संसद् जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तु उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्‍यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन् । त्यसैले संसद्को गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ । त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन । सदनको एक मिनेटको बिजनेस भनेको पनि असाध्यै महत्वपूर्ण कुरा हुन्छ । अब त्यो चाहिँ प्रतिपक्षले जे गरिरहेको छ, त्यो चाहिँ बेठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन् ।’

शनिबारबाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १०औँ महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । एकीकृत समाजवादीले पार्टीको आसन्न १०औँ महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अब भदौ पहिलो साता बस्ने पोलिटब्युरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ ।

‘एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि हुन सकेन’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको बताउनुभएको छ । पार्टीको स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्वको कार्यशैलीमाथि उहाँले प्रश्न उठाउनुभयो । खनालले बैठकमा पेश परेको १६ पृष्ठको दस्तावेजमा भनिएको छ, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्द्विता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्विता गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’

नेपाली समाजको ठोस राजनीतिक स्थितिमा पार्टीको र सबै वामपन्थी समूहरूको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको नेपाली कांग्रेसबाहेक अरू कुनै हुन नसक्ने भन्दै सबै वामपन्थी समूहहरूले प्रष्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।

वामपन्थी समूहहरू दक्षिणपन्थी शक्तिका प्यादा र वैशाखीजस्ता बनेर आफ्नो शाख निरन्तर गिराइरहेका खनालको भनाइ छ । आफ्ना गल्तीहरूलाई स्वार्थमुक्त भएर आँटलाई सच्चाउँदै राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्ने उहाँले बताउनुभयो । प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठिक ढंगले ठम्याउनुपर्छ र क्रान्तिको प्रवाहलाई निशाना केन्द्रित ढंगले अघि बढाउनुपर्ने भन्दै उहाँले दस्ताबेजमा पार्टी विद्रोह गर्ने बेलाको जस्तो शक्ति आफूहरूमा नभएको र उत्साह कम हुँदै गएको बताउनुभएको छ । पार्टीभित्र जनमत खुम्चिँदै गएको भन्दै उहाँले स्थानीय निर्वाचनमा पार्टीले ६ लाख मत पाए पनि राष्ट्रिय चुनावमा आउँदा तीन लाख पनि कटाउन नसक्नु दुःखद भएको दस्ताबेजमा लेख्नुभएको छ । उहाँले आफ्नो पार्टी र विद्रोह गरिएको पार्टी (एमाले) का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता अझै देखाउन नसकेको बताउनुभएको छ ।

विगत दुई वर्षको अनुभवहरूको निर्मम ढंगले समीक्षा गरेर गलत दृष्टिकोण नीति र अडानबाट पार्टीलाई मुक्त गराउनुपर्ने भन्दै सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, क्रान्तिकारी कार्यशैली, कार्य पद्धति र विधि विधानका आधारमा पार्टीको महाधिवेशन यथाशीघ्र गर्नुपर्नेमा उहाँको जोड छ । राजनीतिक संयुक्त मोर्चा प्रधान राजनीतिक शत्रु वा प्रमुख प्रतिद्वन्द्वी विरोध हुने उल्लेख गर्दै संयुक्त मोर्चा निर्माण गर्नुअघि प्रष्ट हुनुपर्ने खनालले लेख्नुभएको छ । विद्रोह भएको दुई वर्ष पुग्दा पनि यसको औचित्य सावित भएन भन्ने असन्तुष्टि रहिरहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?