काठमाडौं । काठमाडौंको कपनस्थित खहरे खोला खाली गर्ने विषयमा महानगर र स्थानीयबीच विवाद भएको छ । बिहीबार दिउँसो महानगरको डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरू भत्काउने तयारी गरेपछि कपनमा तनाव उत्पन्न भएको हो । महानगरको वडा नम्बर ६ र ७, बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १० र गोकर्णेश्वर नगरपालिकाको सीमा क्षेत्रमा महानगर डोजर लिएर पुगेपछि स्थानीयले विरोध गरेका थिए । बूढानीलकण्ठ र गोकर्णेश्वरमा स्थानीय आक्रोशित बनेका थिए । स्थानीयसँगै नगरका जनप्रतिनिधिसमेत आक्रोशित बनेका थिए । नगरपालिकाका जनप्रतिनिधिलाई थाहा नदिईकनै काठमाडौं महानगरपालिका दलबलसहित फिल्डमा आएको भन्दै उनीहरूले विरोध गरेका थिए ।
तर, महानगरतिरका स्थानीयले भने महानगरको कामको समर्थन गरेका थिए । उनीहरूले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरू भत्काउनुपर्ने बताएका छन् । उनीहरूले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने बताएका छन् । स्थानीयवासीले भूमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए ।
स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब भत्काउन बल प्रयोग गरेपछि नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो । दुई पक्षबीच झडपको स्थिति आएपछि प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरूको आरोप छ ।
विवादकै बीच समस्या समाधान गर्न दुई पक्षबीच दुईपटक वार्तासमेत भएको थियो । तर, दुवै वार्ताबाट पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । महानगरले जसरी पनि स्ल्याब भत्काउने अडान लिएपछि वार्ता विफल भएको थियो । दुवै वार्ता विफल भएपछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच महानगरमा वार्ता भएको थियो ।
तत्कालका लागि पछि हट्यो महानगर
खोला खाली गर्ने विषयमा दिनभरजसो विवाद र तनाव उत्पन्न भएको कपन क्षेत्रबाट बिहीबार अबेर मात्रै महानगर प्रहरी पछि हट्यो । खहरेको स्ल्याब भत्काउन गएको महानगर प्रहरी करिब ६ घण्टापछि मात्रै ‘ब्याक’ भएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि महानगरको डोजर ब्याक गरिएको थियो । दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएको छ । सहमतिपछि मात्रै आफूहरू पछि हटेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।
बिहीबारबाटै सो क्षेत्रमा मालपोत कार्यालय चाबहिलका प्रतिनिधिसहित, काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका अमिनले नाँपजाँच सुरु गरेका छन् । कपन क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ । ढल निकासाको व्यवस्थापन नहुँदा कपन क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको हो । ढलको उचित व्यवस्थापन नहुँदा कपनको मिलनचोक, गोपीकृष्ण हल, सरस्वती नगरलगायत क्षेत्रसमेत बर्सेनि डुबानमा पर्ने गरेका छन् । कपन क्षेत्रमा वर्षायाममा सडक र पसलको पेटीबाटै खहरे खोलो बग्ने गरेको स्थानीय बताउँछन् । दुई वर्षअघि असोजको पहिलो साता कपनका १० वर्षीय बालक उज्ज्वल विश्वकर्मा आनन्दटोलमा ह्वाङ्ग छाडिएको ढलमा खसेर बेपत्ता हुनुभएको थियो । उहाँको शव १० दिनपछि मकवानपुरमा भेटिएको थियो ।
खहरे खोलालाई कतै पुरेर बाटो बनाइएको छ त कतै छोपेर स्ल्याब राखिएको छ । बस्ती बढ्दै गएसँगै खोला पनि सुक्दै गएको छ । खोला मिचेर घर बनाउनेदेखि खोलालाई नै छोपेर स्ल्याब राख्ने गरेको पाइएपछि मेयर साहले कपनको खहरे खोला खोल्न नगर प्रहरीलाई निर्देशन दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच