अभिनेत्री गुरुङको कवितासंग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको कवितासंग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योति राईलगायतले कवितासंग्रहको ‘सट लिष्ट’ सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइका अनुभवहरू कवितामार्फत् उतारेको सुनाउनुभयो । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले सार्वजनिक गरेकी हुँ,’ अभिनेत्री गुरुङले भन्नुभयो । कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरू’, ‘भेट्नुछ एकचोटि अब फेरि’ शीर्षकका तीन कवितासमेत वाचन गर्नुभएको थियो । नर्वेमा बस्दै आउनुभएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिनअगाडि नेपाल आउनुभएको हो ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आँट र क्षमताको आफू सधैँ प्रशंसक रहेको बताउनुभयो ।

त्यस्तै, चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योति राईले अभिनेत्री गुरुङको कवितामा जीवन भोगाइका यथार्थ अनुभव भएकाले सबैको जीवनसँग कहीँ न कहीँ मेल खाने रहेको जिकिर गर्नुभयो । अभिनेत्री गुरुङले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक पाठकमाझ ल्याउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?