जनताको प्रश्न -संसद्प्रति एमाले सधै ‘अनुदार’ किन ?

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । उसले संसद्लाई जनताका समस्या उठाउने र समाधान खोज्ने थलोभन्दा आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई प्रयोग गर्दै आएको छ । आफ्नो राजनीतिक अभिस्ट पूरा गर्न प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने र संसद अवरुद्ध गर्ने एमालेको नियमित जस्तै बनेको छ ।

पछिल्लो केही दिन यता सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राख्दै एमालेले प्रतिनिधिसभा चल्न दिएको छैन् । साउन १० मा उच्चस्तरीय छानबिन माग्दै प्रतिनिधिसभाको बेलमा गएको एमाले आफ्नो माग पूरा नभई संसद् चल्न आवश्यक ठानेन् ।

मुलुकमा आर्थिक मन्दीले आम नागरिक प्रताडित भइरहेका छन् । त्यति मात्र होइन, लम्पी स्किन र डेंगी जस्ता महामारीका कारण जनता समस्यामा छन् । यस्तो अवस्थामा सार्वभौम संसद्को प्रमुख प्रतिपक्षीले भने सदनलाई बन्धक बनाएको छ । सरकारसँग जवाफ माग्ने जिम्मेवारी पाएको प्रतिपक्षीले नै संसद् अवरुद्ध गरिदिएपछि सरकारलाई पनि हाइसञ्चो त भएको छ, तर जनताका आम मुद्दा भने ओझेल परेका छन् ।

एमालेले संसद्लाई बन्धक बनाएर जनताको आवाज अवरुद्ध पारेको पाल्पाका होटल व्यवसायी जीवलाल सुवेदी बताउनुहुन्छ । एमालेले संसद्लाई बन्धक बनाएर एकातिर जनताको आवाज अवरुद्ध पारेको र अर्कोतिर संसदीय व्यवस्थालाई नै कमजोर पार्ने प्रयास गरिरहेको उहाँको भनाई छ । सुवेदीले भन्नुभयो‘ जनताको आवाजलाई सशक्त ढंगले सदनबाट उठाउनु पर्ने प्रतिपक्ष दल नै सधै किन अनुदार देखिएको हो ?’ जब-जब जनतामा समस्या पर्छ, तब एमालेले कुनै न कुनै बाहाना बनाएर संसद् अवरोध गर्ने गरेको उहाँले बताउनुभयो । ‘जनता महँगीले समस्यामा छन्, आर्थिक मन्दी छ, विभिन्न महामारीबाट जनता आजित छन् यस्तो अवस्थामा सरकार र प्रतिपक्ष भने स्वार्थको लडाई लडिरहेका छन्’ तानसेन भगवती टोलका देवेन्द्रबहादुर रायमाझीले भन्नुभयो । उहाँले एमालेले सधै ससद्लाई नै किन तारो बनाइरहेको होला ? भन्दै प्रति प्रश्न गर्नुभयो ।

निरन्तर एमालेको अवरोधका कारण आम जनताका जल्दाबल्दा विषयमा छलफल र नियमित कार्यसूचीमा संसद् प्रवेश गर्न सकेको छैन् । शुक्रबार दिउँसो १ बजे सुरू भएको बैठकमा नेकपा एमाले सांसदहरूले अवरोध गरेपछि बैठक साउन २९ गते सोमबारसम्मका लागि स्थगित भएको छ । बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिनुभएको थियो । उहाँ बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर अवरोध जनाएका थिए । सभामुख घिमिरेले बैठकका नियमित कामकारवाही अघि बढाउन सांसदसँग आग्रह गरेका थिए, तर पनि विरोध जनाइरहे । एमाले सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरोध गरेका थिए । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिए पनि एमाले सांसदहरुको अवरोधपछि बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते १ बजे बस्नेछ ।

एमालेले साउन १० यता लगातार संसद् अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।

२०७४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभा आफ्नै पार्टीको प्रचण्ड बहुमत हुँदाहुँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीले रहस्यमय रूपमा दुई/दुई पटक विघटन गर्नुभयो । दुई पटककै विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे पनि एमालेका कारण संसद् सुचारु हुन सकेन । दुई पटक असंवैधानिक ढंगबाट सरकारको नेतृत्व गरेको एमालेले सर्वोच्च अदालतले दुवैपटक बदर गरेपछि सत्ताच्युत भएको थियो । उ त्यस यता पनि संसद्लाई सुचारु गर्न सकारात्मक देखिएन् । विभिन्न बाहना बनाउँदै एमालेले संसद अवरोध गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?