अहिले एमालेको ध्यान सत्तातिर छैन तर, सरकारलाई जेपनि गर्न भने दिन्नौँ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 18 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनुभएको छ ।

सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो । आईतवार पार्टी केन्द्रिय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्नु नभएको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरेपनि सरकारलाई जेपनि गर्न भने नदिने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो एमाले सरकारमा जाने दाउ त होइन ? यो सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने खालको कुराहरु पनि आउन सक्छन् । तर नेकपा एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो चिन्ता । देशको अर्थतन्त्रको हो चिन्ता । जनताको दैनिकीको कुन अवस्थामा देश गइराखेको छ, कस्तो अवस्थामा पुगिराखेको छ ? उद्योगधन्दा के भइराखेको छ ? अव म स्पष्ट गर्न चाहन्छु–एमालेलाई अहिले सत्तामोह, सत्ता लोलुपता, त्यतापटि सत्तातिर हामीले हेरेका छैनौं । हामीलाई हेर्नुपनि छैन । तर यसको अर्थ हामीले हेरेको छैनौं भनेपछि सरकारले जे गरेपछि हुन्छ, ढुक्क रहेछ भन्ने होइन । यो पनि गर्न सरकार पाउँदैन । ’

अध्यक्ष ओलीले निर्माण व्यवसायीहरुलाई गिरफ्तार गरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । अफ्ट्यारोमा परेका निर्माण व्यवसायीहरुलाई वार्ताद्वारा उनीहरुको समस्या समाधान गर्नुको साटो सरकारले उनीहरुलाई घाँटी थिचेर मार्ने प्रयास गरिरहेको ओलीको जिकिर थियो । उहाँले सरकारले नागरिकका कुनैपनि समस्याको सुनुवाई समेत नगरेको गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज निर्माण व्यवसायीहरु गिरफ्तार गरिन्छन् । उनीहरुका भनाई कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो । र, निर्माण व्यवसाय जब चलेन, त्यसपछि पहिले त हार्डवेयर पसलहरु बन्द । यसको कारोबार बन्द । निर्माण व्यवसाय ठप्प भएपछि । मजदुरहरुले जब पाएनन् । त्यसपछि सिमेन्ट, रड, इटा, बालुवा, गिटी अरु कुनै पनि चिजको कारोबार हुने कुरा भएन । अरु हार्डवेयरका सबै कामहरु बन्द हुने भए । यस्तो खालको स्थिति बन्छ । त्यसको चेन अफ इफेक्ट विकास, निर्माणमा प्रतिकुल असर पार्ने मात्रै होइन । रोजगारीदेखि लिएर सम्पूर्ण आर्थिक क्रियाकलापका प्रतिकुल असर पर्छ । अत्यन्तै गम्भिर असर पर्छ । त्यो कुरा ध्यान दिनुपर्दैन, त्यो कुरा सुन्नुपर्दैैन ? तत्काल त्यो कुरा उहाँहरुलाई बोलाएर वार्ता गरेर त्यो समस्या समाधान गर्नुपदैन ? अनि उल्टै उहाँहरुले पाउनुपर्ने रकम पाउनुभएको छैन । व्यवसायीहरुलाई सहयोग गर्नुको साटो सरकार घाँटी निचोर्छ । ज्यादतिपूर्ण ढंगले, ज्यादति एक ठाउँमा मात्रै होइन ।’

अध्यक्ष ओलीले सरकार आफैँले संसद चल्न नदिएको समेत दोहो¥याउनु भयो । संसद अवरोध हुन नहुने भएपनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो ।

ओलीले भन्नुभयो, ‘संसद अवरोध हुनै हुँदैन । संसद अवरोध गर्नै हुँदैन । गर्ने परिस्थिति ल्याउनु हुँदैन । संसद देशका लागि, जनताका लागि काम गर्ने थलो हो । र, देश र जनताको काम त्यसले निर्वाध ढंगले गर्नुपर्छ । गर्न पाउनुपर्छ । संसद देश र जनताको पक्षमा बोल्ने, आवाज उठाउने, देशका हीत, जनताका हितको सरकारमा भए रक्षा गर्ने, सरकारमा नभए त्यसका निम्ति दबाब दिने थलो हो । संसद निदाएर बस्ने ठाउँ होइन, सुतेर बस्ने ठाउँ होइन । चुप लागेर संसदमा जे भएपनि चलोस् न त, चल्नुपर्छ तर बोल्नुहुँदैन भन्ने कुरा हुँदैन । देश र जनताको पक्षमा बोल्नुपर्छ । संसद अवरुद्ध हुनुहुँदैन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले तदनुसार नै लिनुपर्छ । सकारात्मक ढंगले लिनुपर्छ । गम्भिरताका साथ लिनुपर्छ । र, स्वस्थ बहस र स्वस्थ छलफलमा आउनु पर्छ । अहिलेको संसदको अवरोध म सबै साथीहरुलाई भन्न चाहन्छु–अहिलेको संसदको अवरोध तपाईँहरुले देख्नुभएको छ । हामी चलाउन खोजिराखेका छौं । तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष ज-याकजुरुक सबै उठेर हल्ला गर्ने, संसदमा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने, प्रतिपक्ष बोल्योभने सुन तस्करीको सिलसिलेवार काण्डको पत्रकार साथीहरुलाई पनि म भन्न चाहन्छु, अरु सबै साथीहरुले पनि हामी सबै नेपालीले के बुझ्नुपर्छ भने देश यति अफ्ट्यारो गरी यति भयावह ढंगले देशमाथि प्रहार भइराखेको छ । देशको अर्थतन्त्रमाथि, देशको सुशासनमाथि प्रहार भइराखेको छ ।'

उहाँले देशको शासकीय, प्रशासकीय संरचना, मूल्यमान्यता सबै कुराहरुप्रति प्रहार भइराखेको बताउनु भयाे । उहाँले भन्नुभयाे, 'एउटा नाकाबाट दिनमा सय किलो सुन आइराखेको छ । सबै पास भएको छ । फेला परेको छैन । एक दिन एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ । अनि के यो चुस्की लिने विषय हो ? कुराको चुस्की लिने विषय हो र यो ? यो पार्टीगत पक्षधरताको कुरा हो र ? यो देशप्रति, देशमा सुशासन हुनपर्छ भन्ने कुराप्रतिको हामी सबै नेपालीको उत्तिकै चिन्ता, चासो र सरोकार हुनुपदैन ? तसर्थ, संसद अवरोध हामीले गरेको होइन । यो एउटा नाकाको मात्रैकुरा होइन । मैले भनिराखेको छु । अरु नाकाहरु चेक नै भएको छैन त ? राजश्व किन उठ्दैन ? राजश्वमा किन यति न्युनता भन्दा भन्सारबाट कारोबार नै हुँदैन त । अन्तैबाट कारोबार हुन्छ । अब यस्तो स्थितिमा हामी सरकारको अयोग्यता, नाकायकीपन अथवा लाचारीपन अथवा बद्मासी के हो त्यो ? राम्ररी छानबिन हुनुप¥यो । सरकारको संलग्नता छैन भने छानबिनले बताउँछ नि । सरकार किन पहिलेनै तर्सिन्छ ? पहिले नै किन ढोका बन्द गर्छ सरकारले ? छानबिन । मैले एउटा कमेन्ट देखेको थिए । यो छानबिन समिति भनेको आफना मान्छे राखेर, एमालेका कार्यकर्ता राखेर अनि तमासा गर्न खोजेको एमालेले भन्ने । त्यस्तो माग हो र हाम्रो ? हामीले आफ्नो होइन, न्यायिक छानबिन भनेका छौं । बहालवाला र पूर्व न्यायाधीशको, कसैको नेतृत्वमा स्वतन्त्र, निष्पक्ष छानबिन । एसपीको नेतृत्वमा गरेपछि एसएसपीले निर्देशन दिएपछि त्यही सिद्धि गयो नि कुरो । एसपीको नेतृत्वमा तपाई छानबिन गराउनु हुन्छ । एसएसपीले यहाँ पुगेपछि यसो नगर्नु भनेपछि पालन गर्नुपर्छ आदेश । यति गम्भिर अवस्थामा देश पुगेको छ । अर्थतन्त्र यस्तो अवस्थामा पुगेको छ । यो त गोल्डेन टच भयो क्या । जे छोयो सुन । ब्रेक सु छोयो सुन । सिगरेट छोयो सुन । एउटा मोटर ल्यायो सुन । अर्को ल्यायो सुन । सुनैसुन । भन्सारबाट अहिले त जे ल्याउँदा पनि सुन । यस्तो खालको अवस्थामा देश छ । म आग्रह गर्न चाहन्छु । हामी सबै यो देश रित्याउने, सिध्याउने मामला हो यो । यो तरिका, यसबाट हामीले देशलाई बचाउनु पर्छ । त्यसकारण यो पक्ष, त्यो पक्ष होइन । सञ्चार माध्याममा पनि कसको लगानी छ भन्ने छोडिदिऊँ । देशको पक्षमा हरेक सचेत नेपाली उभिन र बोल्नुपर्ने अवस्था हो यो । त्यसर्थ, किन निष्पक्ष छानबिन गर्न किन नहुने ? अनि छानबिन आयोग बनाउँदाखेरी विषयान्तर हुन्छ भनेको के ? त्यस विषयमा निष्पक्ष, उच्चस्तरीय छानबिन गराउँदा राज्य संयन्त्रलाई प्रयोग गरेर झन सारो निष्पक्ष छानबिन उसले गर्नसक्छ । यसका कनेक्शनहरु कहाँ छन् ? यसको जरो कहाँ छ ? टुप्पो, टुप्पो मात्रै हेरेर हुँदैन । जरो कहाँ छ ? स्पष्ट देखियो त । २३४ पल्ट कुनै गिरोहसँग लगातार संसद एक दिन, दुई दिनको बीचमा कसरी हुन्छ मान्छेको ? यो फियर छ ? तैपनि सोधपुछ पनि गर्नुपर्दैन । यो पनि फियर छ ? यस्तरी पनि देश चल्छ ? यो पनि कुनै शासन, प्रशासन चलाउने तरिका हो ? अनि, बाहिर स्टन्ट दिएको छ । गफ दिएको छ । हाउभाउ गरेको छ ।'

उहाँले सरकारले अनेक प्रकारका भ्रमपूर्ण प्रचार गरेको बताउँदै भन्नुभयाे, 'प्रचारको सन्दर्भमा हामी दुख मात्रै भन्न सक्छौ कि हामी नेपालीहरु कहाँ छौं ? कुन ठाउँमा छौं हामी नेपालीहरु ? देश आज कता जाँदैछ, कहाँ पुग्दैछ देश ? कस्तो अवस्थामा जाँदैछ ? अनि सुनिल शर्मा । सुनिल शर्माको सर्टिफिकेटको बारेमा म जाँचकी पनि होइन । अनि, सर्टिफिकेट नजाँच भनेर हामीले भनेको छौं ? तर यतिबेला सर्टिफिकेट जाँच्नु प¥यो, पढेर पास गरेको कि चिट चोरेर पास गरेको ? यसको छानबिन यतिबेला गर्नुप¥यो ? जतिबेला सुनिल शर्माले मन्त्रीको राजीनामाको कुरा उठाए । यसको जरैसम्म गएर छानबिन हुनुपर्छ भने । त्यतिबेलै यो त कमसेकम २५ वर्ष अगाडिको कुरा होला यो । २५ वर्षदेखि सरकार बने होलान् । अनि यतिबेला एउटा कार्यकर्ताबाट उजुरी हाल्न लगाएर, यतिबेला आजको भोली समाएर एउटा जननिर्वाचित सांसदलाई गिरफतार गर्दा सभामुखलाई जानकारी दिनु, इजाजत लिनुपर्दैन ? के कारण हो ? बताइनुपर्दैन ? अर्को, कहाँ छानविन भएर दोषी प्रमाणित भयो र । एउटा कार्यकर्ताबाट उजुर हाल्न लगायो । अनि, त्यो कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफदार गर्ने हो भने त कोही पनि बाँकि रहँदैन त ? के दोषी प्रमाणित भएको छ ? यो सबैलाई बोल्न नदिने, तर्साउने, सांसदलाई त यस्तो गर्न सक्छन् भने सरकारले के गर्न सक्दैन भनेर तर्साउने । अहिले रिउमर छ । सब नेताहरुलाई पनि छानबिन गर्ने, यो गर्ने, त्यो गर्ने, जेलमा कोचिदिने भनेर हल्ला चलाइएको छ । जो यस्ता क्रियाकलापमा छन् । उनीहरुले अनेक प्रकारका रिउमर खडा गरेर ध्यान डाईभट गर्न खोजेको छ नेपाली जनताको । ध्यान अर्कातिर लैजान खोजेको छ । त्यसकारण हाम्रो पार्टी यसमा गम्भिर छ । यो छिचरो बहसको समय होइन । म साथीहरुलाई भन्न चाहन्छु–गम्भिर भएर सोच्न पर्ने र नेपाली जनताले त्यसमा स्पष्ट दृष्टिकोण लिनुपर्ने समय हो यो । गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैं राजीनामा गर्न जानु बाहेक भनेको त्यो अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो, सुन हुन्छ । सुन भनेर पक्रियो, राखेको ठाउँबाट चोरी हुन्छ । कस्तो हो त्यो ? गृहमन्त्रीको जवाफदेहिता होइन त्यो ? अनि, गृहमन्त्री त्यहाँ क्वीन्टलका क्वीन्टल सुन । एउटा मात्रै माध्यामबाट । एउटा कम्पनीबाट आएको छ । त्यस्तो मान्छेलाई नागरिकता कसेको सिफारिसमा कसले दियो ? आज त्यो नागरिकता सम्बन्धि त्यतिबेलाको प्रतिवेदन कहाँ छ ? त्यो गायव गरिएको छ अहिले । यो त तार काट्ने, क्यामेराको मुन्टो अर्कोतिर फर्काउने, घाँटी मर्काउने कस्तो सरकार हो यो ? अनि, कुरा ठूलो गर्ने । अनि, देशको माया छैन, त्यही कुरा २ जना, ४ जना स्वार्थीहरुको कुराका पछाडि समूदबन्दी गरेर अगाडि कुदने, लाग्ने । कस्तो दुखद स्थिति हो देशको । संविधान, संविधान, संविधान भनेर माला जप्यो । बिरालाले जस्तौ देब्रे हातले माला जपेको छ, दाहिनेले मुसा झ्याप्प पारेको छ । यो तरिकाको यो सरकारी क्रियाकलाप देखिन्छ । त्यसकारण हामीले यो छानबिन उच्चस्तरीय, यो स्वतन्त्र हुनुप¥यो । कर्मचारीहरुको निर्देशित यो होइन । त्यसकारण सरकारले यो स्वतन्त्र छानबिन गर्न नसक्ने बाध्यता यसै बुझ्न सकिँदैन । त्यसर्थ, संसदीय समिति पनि यसमा काम छैन । किनभने बहुमत उहाँहरुकै छ । हामीले त्यही सुनेर बस्नुपर्ने ? संसद, संसदीय समिति, म आफैँ सांसद हो । संसदको मर्यादा राख्नुपर्ने थियो, तर अहिलेको गठबन्धनले संसदीय मर्यादा राखेर निष्पक्ष छानबिन गर्न सक्दैन । दलीय गठबन्धन अगाडि आउँछ । सुन तस्करीको सम्बन्धमा छानबिन गरौं भन्दा दलीय गठबन्धन आएर प्रतिपक्षको आवाज पनि त्यहाँ राख्न दिँदैन । प्रतिपक्षलाई बोल्न दिँदैन । संसद अवरुद्ध गराउँछ । अनि, तपाईहरु भन्नुहुन्छ, प्रतिपक्षले अवरोध ग¥यो ।’

ओलीले सरकारले प्रतिपक्षलाई संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?