जलमग्न बर्दिया

दुई सयभन्दा बढी घर डुबानमा, तीनजना बेपत्ता

हिमालय टाइम्स
Read Time = 6 mins

बर्दिया । बर्दियामा आएको बाढीले दुई सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीबाट गुलरिया नगरपालिकाका तीनजना बेपत्ता भएका छन् । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले गुलरियाको वडा नं १२, ८ र २ का तीनजना बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारू, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारू र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहितको टोलीले खोजी गरिरहेको उहाँले बताउनुभयो । गुलरिया, ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिकामा धेरै घरहरू डुबानमा परेका छन् । अर्यालका अनुसार यी पालिकामा नदी पसेका कारण धेरै स्थानीय प्रभावित भएको तर यथार्थ तथ्यांक आउन बाँकी रहेको बताउनभुयो ।

ठाकुरबाबा नगरपालिकाको वडा नंं २, ६ र ७ र गुलरिया नगरपालिका वडा नं ५ का गरी १२४ घर डुबेका छन् । शनिबार रातिदेखिको अविरल वर्षाका कारण गुलरिया नगरपालिकामा बबई नदी र ठाकुरबाबा नगरपालिकाको औराही तलबेलुवा गिठे लगायतका खोलाको बाढीले घरहरू डुबानमा परेका हुन् ।

ठाकुरबाबा नगरपालिका वडा नं २ मा ४५, वडा नं ६ मा १७ र ७ नं वडामा ५० घरधुरी डुबानमा परेका छन् ।

त्यसैगरी, गुलरिया नगरपालिका वडा नं ५ मा १२ घरधुरीमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

बाढीले डुबानमा परेपछि ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्साल र उपप्रमुख बिना भट्टराई बिहानैदेखि उद्धार कार्यमा जुट्नुभएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका होटल तथा पर्यटन व्यवसायीहरूसमेत र्याफ्टिङ बोटसहित उद्धार कार्यमा संलग्न छन् ।

यसैगरी, बारबर्दिया नगरपालिका–८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । सो क्षेत्रमा बढी पानी परेको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो ।

यस्तै, बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्री चेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा जनित छ । २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ ।

५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दियाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

बर्दियाँसगै सिन्धुलीको मरिनखोला स्टेशन, मकुवानपुरको मकवानपुरगढी, हेटौँडा स्टेसनमा पनि धेरै वर्षा मापन भएको छ । मरिनखोलामा १८१.६, मकवानपुरगढीमा १५५.८ र हेटौँडामा १६७.२ मिलिमिटर वर्षा मापन भएको छ । बबई र कर्णालीमा जलस्तर बढ्दै गए पनि खतराको चिन्हमा पुगेको छैन ।

बबईको कटानले बबई सिँचाइ आयोजनाले ठाकुरद्वारास्थित खैलारमा निर्माण गरेको तटबन्धको लन्चिङ जाली बगाएको छ । स्लोभ खस्किन थालेपछि त्यसलाई जोगाउने प्रयास भइरहेको बबई सिँचाइ आयोजनाका प्रमुख सुशील देवकोटाले बताउनुभयो । स्लोभ बगाए निर्माण भएको पश्चिम नहर जोखिममा पर्ने उहाँले जनाउनुभयो ।

सोमबारसम्म वर्षा हुने भएकोले बबई र कर्णाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताउनुभयो । ‘पानी परिरहेको छ । दिउँसोसम्म बाढीको जोखिम नभए पनि लगातार पानी परिरहेकोले जलस्तर बढ्ने भएकाले सतर्क गराइएको छ,’ अर्यालले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?