कांग्रेस संसदीय दलको बैठक :

सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति बनाउन इतर समूहको माग, सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने आवाज

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग उठेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा नेता डा.शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानविन समिति बनाउन आवश्यक रहेको बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध गरिरहेको छ । तर, सत्ता गठबन्धन र सरकारले भने त्यस्तो छानविन समिति बनाउन आवश्यक नरहेको अडान राख्दै आएको छ । कांग्रेसभित्र संस्थापनइतर पक्षको नेतृत्व गरिरहनु भएका डा.कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै भन्नुभयो, ‘सुन तस्करीका विषयमा हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर सात दिनअघि पठाइन्छ । ऊ जानेबित्तिकै सुन समातिएको छ । नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानविन समिति बनाएर यसको जरोसम्मै छानविन हुनु आवश्यक छ ।’ प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै कोइरालाले असन्तुष्टि जनाउनुभयो ।

 छानविन समिति बनाउन तयार नभए समर्थन फिर्ता लिनुपर्छ : पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । छानविन समितिको लागि तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिँदै पौडेलले भन्नुभयो, ‘प्रधानमन्त्री र गृहमन्त्री छानविनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानविन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदि उहाँहरू तयार नभए प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ ।’

 सुन तस्करीमा संलग्न भएको प्रमाणित गर्नुस्, पदमा बस्दिनँ : अर्थमन्त्री महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टि भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताउनुभएको छ । आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लाञ्छना लगाउने काम भइरहेको गुनासो गर्दै डा.महतले भन्नुभयो, ‘ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो । तपाईंहरू नै भन्नुस्, अलिकति पनि तपाईंहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिलेदेखि नै यो ठाउँमा बस्दिनँ ।’ उहाँले पार्टीभित्र हरेकलाई अनुशासनको दायरा लागू हुने र कसैलाई आफू मन नपरेकै कारण व्यक्तिगत लाञ्छना लगाउने र होच्याउने गरी काम नगर्न आग्रहसमेत गर्नुभयो ।

सरकारले प्रतिशोध राखेर कुनै काम नगरेको दाबी

अर्थमन्त्रीसमेत रहनुभएका कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमालेले संसद्लाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । एमालेले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको टिप्पणी गर्दै डा.महतले भन्नुभयो, ‘उहाँहरूले सत्ताबाहिर भएपछि सदन रोक्नुभएको छ । सदन चल्न दिनुपर्छ विषयवस्तु त्यहीँ आउँछन् । सबैले आफ्नो कुरा राखेपछि निष्कर्ष निस्किन्छ ।’ सत्ता साझेदार कांग्रेसका नेता लगालग पक्राउ भइरहेकोमा प्रधानमन्त्री र गृहमन्त्री तथा स्वयं सरकारले प्रतिशोध साँधेको कांग्रेसीजनको टिप्पणीमा महतले भन्नुभयो, ‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन । देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । दोषी कानुनको कठघरामा आउनुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को–को संलग्न छन् सबै कानुनी कठघरमा आउनुपर्छ ।’ अहिले सत्ता समीकरण फेरिने कुनै सम्भावना नरहेको दाबी गर्दै महतले विपक्षीले अफवाह फैलाएको जिकिर गर्नुभयो ।

 ल्यारक्याललाई नियुक्ति गरेकोमा आलोचना

कांग्रेसका सांसदहरूले सरकारले विवादित छविका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएर गलत कार्य गरेको भन्दै आलोचना गरेका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले सरकारमा कांग्रेस पनि रहेकाले सरकारले गरेका गलत कामको भारी कांग्रेसले पनि उत्तिकै बोक्नुपर्ने भएकाले त्यसबारे सजग हुनुपर्ने बताएका हुन् । नेता शेखर कोइरालाले सरकारले ल्यारक्याल लामा जस्ता व्यक्तिलाई नियुक्ति दिएर सरकारको बदनामी गर्ने काम गरेको टिप्पणी गर्नुभयो । अर्का सांसद रामहरि खतिवडाले सरकारले गर्नुपर्ने काम छोडेर गलत कामहरू गर्न थालेको भन्दै आलोचना गर्नुभयो । उहाँले कतिपय भ्रष्टाचार प्रकरणमा माओवादी केन्द्रका नेताहरूको समेत संलग्नताको विषय उठिरहेको भन्दै त्यसबारे सरकारको मौनता अचम्मको रहेको टिप्पणी गर्नुभयो । सांसद चन्द्र भण्डारीले सरकारले गुट वा पार्टी हेरेर काम गर्नु नहुने बताउनुभयो ।

 सुनिल शर्माको आलोचना

आफ्ना सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेपछि कांग्रेस सांसदहरूले आपत्ति जनाएका छन् । शैक्षिक प्रमाणपत्रमा लिखत किर्तेको आरोपमा पक्राउ परेको विषयमा कांग्रेसका धेरै सांसदले अन्याय भएको विषय उठाए पनि सांसद शर्माको अभिव्यक्ति पार्टी सिद्धान्तविपरीत भएको भन्दै संसदीय दलमा आलोचना भएको हो । पार्टी प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन, पार्टीको सिद्धान्त र मर्यादाबाहिर गएर शर्माले बोलेको टिप्पणी गर्दै भन्नुभयो, ‘जिम्मेवार सांसदले के बोल्नुहुन्छ ? के हुँदैन ? भन्ने कुरा उठेका छन् । पार्टीको सिद्धान्तविपरीत यसरी बोल्ने मर्यादा नाँघ्नु राम्रो नभएकोमा साथीहरूले जोड दिनुभएको छ । पार्टीका सबै सदस्यले अनुशासन मान्नुपर्छ ।’

सांसद रामहरि खतिवडाले पनि सिद्धान्तविपरीत शर्माले बोलेको भन्दै धेरै सांसदले आपत्ति जनाएको जानकारी दिँदै भन्नुभयो, ‘उहाँलाई केही अन्याय भएको हो । तर, पार्टीको सिद्धान्तविपरीत यसरी बाहिर गएर बोल्ने, अन्य पार्टीका नेताको दैलो चहार्ने विषय राम्रो भएन भन्ने धेरैको कुरा छ ।’ सांसद वीरबहादुर बलायरले सांसद सुनील शर्मालाई कसैको उक्साहटमा नबोल्न सुझाव दिँदै भन्नुभयो, ‘अर्थमन्त्रीलाई लगाएको आरोप प्रमाणसहित आउनु, म तपाईंसँग तपाईंको एजेण्डा बोकेर हिँड्छु । तर, अरूको उक्साहटमा नबोल्नू । संसदीय मूल्य मान्यता मान्नु पर्दैन ? तपाईंले सामाजिक सञ्जालमा, मिडियामा जुन ढंगबाट बोल्नुभएको छ, त्यो किमार्थ मान्य छैन । कांग्रेसलाई प्रमुख विन्दुमा राखेर बोल्नुहोला ।’ सांसद राजेन्द्र बजगाईंले सांसद सुनिल शर्मालाई प्रतिपक्षी दलका नेताको प्रशंसा गर्दैगर्दा घरकालाई नभुल्न आग्रह गर्दै भन्नुभयो, ‘माननीय सुनिल शर्माजीलाई कृतज्ञता वा असन्तुष्टि व्यक्त गर्दा होस पुर्याउन मेरो आग्रह छ । उहाँमाथि अहिले दुःख परिरहेका बेला हामी उहाँप्रति आक्रामक बन्न पनि हुँदैन । उहाँले पनि प्रतिपक्षका नेताहरूको प्रशंसा गर्दैगर्दा घरकालाई भुल्न हुन्न ।’

गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्नँ : शर्मा

संसदीय दलको बैठकमा सांसदहरूले पार्टीको अनुशासनविपरीत ओलीलाई भेटेर अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि सांसद सुनिल शर्माले आफूलाई सहयोग गर्नेहरूलाई भेट्ने क्रममा आफू बालकोट गएको स्पष्टीकरण दिँदै भन्नुभयो, ‘मैले मलाई सपोर्ट गर्नेहरूलाई भेट्ने क्रममा केपी ओली भेट्न गएको हुँ । मेरो बारेमा पार्टी सभापति, महामन्त्री, शेखर दाइ सबैले मेरो पक्षमा बोल्नुभएको छ ।’ शर्माले आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउने पहल थाल्ने अभिव्यक्ति दिनुभएको थियो । बैठकमा सांसद शर्माले गृह र अर्थमन्त्रीमाथि नैतिक प्रश्न मात्र गरेको स्पष्टीकरण दिनुभएको छ । उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने पनि बताउनुभएको छ । बैठकमा उहाँले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्न सक्छु ।’

 माओवादी नेताहरूमाथि किन छानविन भएन ? : राणा

सांसद उदयशमशेर राणाले सरकारले अघि बढाएको छानविनमा कांग्रेस नेताहरूलाई मात्रै टार्गेट गरेकोप्रति असन्तुष्टि जनाउनुभएको छ । सुन प्रकरणमा नाम जोडिएका प्रधानमन्त्रीको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि किन छानविन नगरेको भन्ने प्रश्न गर्दै राणाले भन्नुभयो, ‘महराका बाउछोराको सुन प्रकरणमा नाम जोडिरहेको छ उहाँहरूमाथि किन छानविन भएन ? भुटानी शरणार्थी प्रकरणमा पनि त्यो प्रक्रिया बादल गृहमन्त्री हुँदा सुरु भएको छ । किन उहाँलाई अनुसन्धानमा ल्याइएन । अरूलाई किन ल्याइयो ? तर, कांग्रेसलाई मात्रै तार्गेट गरियो ?’

 पार्टीमा अहिले सरकार फेर्ने र ढाल्ने कुरा छैन : लेखक

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको दाबी गर्नुभएको छ । अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको स्पष्ट पार्दै प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन । भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ । तीनमा सरकार फेरबदलको विषय पर्दैन । संसदीय दलको बैठकमा कुरा धेरै विषयमा उठेको छ । सबै विषयहरूलाई समेटेर निर्णय पारित गर्छौँ ।’ शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज बिहान ११ बजे पुनः बस्दै छ । आइतबारसम्म ५० जना सांसदले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी सांसदहरूले धारणा राखेर निर्णय पारित गर्ने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?