दूरदराजका घर-घरमा नेवाले बनाइदियो पाँच हजार ८०० खानेपानीका धारा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । बागलुङका सुगम सहरदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । बस्तीभन्दा मुहान धेरै टाढा हुँदा स्थानीय एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने अवस्था छ । आधा दशक अगाडिसम्म जिल्ला खानेपानीको समस्या धेरै ठाउँमा भए पनि हालसम्म आउँदा कम भएको छ । अधिकांश ठाउँमा आधारभूत खानेपानीको सुविधा पुगेको छ भने केही ठाउँमा अझै पुग्न बाँकी छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ८४ दशमलव ९ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । अझै कुल जनसंख्याको ५ दशमल ६ प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा बाहिर छन् । संख्यात्मक रुपमा हेर्दा १६ हजार आठ सय ५८ जनामा अझै खानेपानीको पहुँच पुगेको छैन ।

बागलुङमा खानेपानी समस्या समाधानका लागि वि.सं. २०७५ सालदेखि कार्यालय स्थापना गरेर काम गर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले काम गर्दै आएको छ । सबैभन्दा पहिले खानेपानीको धेरै समस्या रहेको ढोरपाटन, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाबाट काम सुरु गरेको नेवाले अहिले बागलुङ जिल्लासँगै म्याग्दीमा पनि काम सुरु गरेको छ । नेवाले हालसम्म दुई जिल्लाका विभिन्न ठाउँमा पाँच हजार ८३० वटा धारा निर्माण गरेर संचालनमा ल्याएको छ । उक्त धाराबाट बागलुङ र म्याग्दीका ६५ हजार ६७७ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा नेवाले काम थालेसँगै काकाकुल बनेका कैयन गाउँघर र नगरमा खानेपानी पुगिसकेको छ भने कैयनमा पुग्ने क्रममा छन् ।

गत वर्षसम्म निसीखोला गाउँपालिका-६ फुल्काधाराका स्थानीयको दैनिकी पानी बोक्दैमा बित्ने गर्थ्याे । घर, टोलमा धारा थिएनन् । पोखरी, कुवा र खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता थियो । तर, अहिले यहाँका हरेकघर-घरमा नयाँ धारा बनेका छन् । धारामा शुद्ध पानी आउन थालेको छ । स्थानीय निकै खुसी र उत्साहित छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) प्रदेश कार्यालय बागलुङले फुल्काधाराका सबै स्थानीयको घर-घरमा धारा बनाइ दिएपछि टाढाबाट पानी बोक्नु पर्ने बाध्यता हटेको मात्रै छैन । पहिले दुषित पानी प्रयोग गर्दा लाग्ने झाडापखाला, आँउ, ज्वरो लगायतका रोगबाट बिरामी हुने बिवशता पनि अब अन्त्य हुने स्थानीय चन्द्रकला घर्ती मगरले बताउनुभयो ।
“हेर्नुस् त, अहिले घर-घरमा धारा बनेर कति सजिलो भएको छ, पहिलो एक गाग्री पानी ल्याउन खोला, कुवा र पोखरी चाहर्दा चाहर्दै दिन बित्थ्यो, अहिले घर अगाडिका धारमा जति बेला जति भरे पनि भयो,” घर्ती मगरले भन्नुभयो - “अहिले बल्ल सरकारले हाम्रो समस्या बुझिदिनुभयो, पहिले त ज्वरो आउने, पखला लाग्ने, टाउको दुख्ने बिमार हुने हुन्थ्यो, अहिले त बिमार पनि लागेको छैन, हामीहरु धेरै खुसी भएका छौँ, यो सुविधा पहिलेनै आएको भए उति बेला दुःख हुने थिएन ।”

निसीखोला गाउँपालिका-६ भलकोटकवासीले अघिल्लो वर्षसम्म घर परको खोला र कुलोबाट पानी बोकेर गर्जो टार्थे । एक घण्टा बढीको दूरीमा रहेको धाराबाटा पानी बोक्दा उनी मात्र होइन, स्थानीय सबैजसो गृहणीले घरायसी कामभ्याउन निकै मुश्किल थियो । अहिले सिंगो गाउँमै खानेपानी समस्या छैन । प्रत्येक घर-घरमा खानेपानीको धारा बनेपछि गाउँलेको दैनिकी बदलिएको छ । एक वर्ष अघि मात्रै नेवाले भलकोट गाउँका सबै घरमा खानेपानीको धारा निर्माण गरि शुद्ध खानेपानी वितरण गरेको थियो । यहाँका घर-घरमा धारा बनेर शुद्ध पानी आएपछि स्वास्थ्य र सरसफाइमा समेत टेवा पुगेको स्थानीय नर कुमारी घर्ती मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो - “घरको आँगनमै नयाँ धारो बन्यो, घरमै पानी आए पनि खोलामा एक घण्टा लगाएर पानी ल्याउनु जानु पर्ने बाध्यता हट्यो, गाउँमा दुई/तीन वटा मात्रै धारा थियो, थोरै धारबाट सिंगो गाउँका मान्छेले पानी भर्दा झै झगडा हुने, बोली बाराबार हुन्थ्यो, अहिले त त्यस्तो भएको छैन, गाउँमा धारा नभएका घर छैनन्, पहिला पानी भर्ने पालो कुर्दा कुर्दा अरु काम गर्न पाइँदैनथ्यो, अहिले त सबै काम गर्न भ्याइन्छ ।”
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने बडिगाड गाउँपालिका-६ छिसफाँटमा पनि खानोपानीको समस्या थियो । तर अहिले सबैका घर-घरमा धारा बनेपछि स्थानीय हर्षित भएका छन् । खानेपानीको सुविधा घर-घरमा आएपछि सरसफाइ र तरकारी खेती गर्न सहज भएको स्थानीय सुमित्रा घिमिरे खत्रीले बताउनुभयो । गत वर्ष बडिगाड गाउँपालिका र नेवाको सहकार्यमा निर्माण भएको एक घर एक धाराले अहिले गाउँलेको जीवनशैलीमा परिवर्तन ल्याएको उहाँको भनाइ छ ।

नेवा मार्फत जिल्लामा अहिलेसम्म पाँच हजार आठ सय तीस वटा धारा निर्माण भएका छन् । धारा, पाइपालन, ट्याङ्की निर्माण गर्दा नेवाले ३३ करोड ५२ लाख ७८ हजार १९९ रुपैयाँ लागत लागेको जनाएको छ । खानेपानी समस्या भएको गाउँ र बजारमा स्थानीय जनसहभागिता, पालिकासँगको समन्वयमा आयोजना संचालन गर्ने नेवाका प्रदेश कार्यालय बागलुङका प्रमुख रमेश दाहालले बताउनुभयो । नागरिकको समस्या पालिकाबाट नेवासम्म आउने र नेवा समस्या समाधान गर्न लाग्ने गरेको उहाँको भनाइ छ । नेवाले सुरक्षित खानेपानी सगै पुर्ण सरसफाई र स्वच्छतामा देशले लिएको लक्ष्य हासिल गर्न सरसफाइका सुचकहरु गर्न सहयोग गरेको दाहाल बताउनुहुन्छ ।

“पाँच वर्षको पिरियडमा बागलुङमा धेरै धाराहरु निर्माण गर्‍यौँ, अघिल्लो आर्थिक वर्षदेखि म्याग्दीमा पनि काम सुरु गरेका छौँ, हामीहरुले स्थानीय सरकार र जनतासँग सहकार्य गरेर काम गर्ने गरेका छौँ” प्रमुख दाहालले भन्नुभयो - “पालिकाले २० देखि ५० प्रतिशत लगानी गर्छ, स्थानीयले जनश्रमदान गर्नु हुन्छ, हामी आवश्यक बजेट प्राबिधिक सहयोग गर्छौँ त्यसरी आयोजना सम्पन्न हुने गरेको छ, चालु आर्थिक वर्षमा पनि बागलुङमा धेरै आयोजना परेका छन् ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?