भोजपुरका नौ वटै स्थानीय तहमा शिक्षकहरुको ज्ञापनपत्र

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । संघीय शिक्षा ऐनको मस्यौदा विरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिबाट घोषित चरणवद्ध आन्दोलन अन्तर्गत तय भएको कार्यक्रम बमोजिम भोजपुरका नौ वटै पालिकामा धर्नासहित शिक्षकहरुले ज्ञापनपत्र बुझाएका छन् ।

राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, वालशिक्षिकालगायतका पेशाकर्मीहरुलाई उपेक्षा गरेको शिक्षकहरुको गुनासो छ । पटक-पटक शिक्षाकर्मीहरु आन्दोलनमा होमिएपछि नेपाल शिक्षक महासंघ र नेपाल सरकारसंग भएका पेशागत हकहितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएकोले शिक्षकका पेशागत संघ संगठनको अह्वानमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम भएको हो ।

स्थानीय पालिकाहरुलाई बुझाइएको ज्ञापनपत्रमा निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको भन्दै निजामती कर्मचारी सरहको सबै प्रकारका सेवासुविधा उपलब्ध गराउन भनिएको छ । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरवन्दीमा आन्तरीक प्रतिर्स्पधाका माध्यमबाट स्थायी गरिनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विद्यालय कर्मचारीहरु, कार्यालय सहयोगी, बालशिक्षिका विद्यालय सहायक लगायत शिक्षकहरुको न्युनतम वेतन उपलब्ध गराई पेशागत सुनिश्चितता शिक्षा ऐनमा गर्न समेत आग्रह गरिएको छ । शिक्षकका हक हितमा शिक्षा ऐन आएन भने शिक्षकले आफनो पेशागत सुनिश्चितताको लागि जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहट्ने नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष राजधन राईले बताउनुभयो ।

शिक्षकहरुले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, टेम्के मैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपाकिालमा धर्नासहित ज्ञापनपत्र बुझाएका छन ।

यसै गरी घोषित कार्यक्रम अनुसार श्रावण ३० गते जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयहरुमा धर्ना, घेराउ तथा ज्ञापन पत्र वुझाउने कार्यक्रम रहेको छ । श्रावण ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना, घेराउ तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमको आयोजना गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?