कागखोलाको बाढीले मुस्ताङमा २९ घर ध्वस्त

बैंक र पुल पनि बगे, सयौँ नागरिक घरवासविहीन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । मुस्ताङमा समय-समयमा स-साना बाढीपहिरो त आउँथे । तर, ठूलो मानवीय तथा भौतिक क्षति भने खासै भएको थिएन । रूख विरुवा नहुने मुस्ताङमा नांगा डाँडाले घेरिएको छ । वर्षा हुँदा साथ पानीले नांगा डाँडाबाट माटो बगाएर कालीगण्डकीमा ल्याउँथ्यो ।

स्थानीयलाई वर्षा सामान्य जस्तै लाग्थ्यो । आइतबार राति त्यही वर्षा शत्रु बनेर आयो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारका स्थानीय दिनभर आ-आफ्नो काम गरेर साँझा कोही खाना पकाउँदै थिए, कोही खाना खाँदै । कागबेनीभन्दा माथिल्लो बस्तीबाट आएको फोनले कागबेनीवासी अत्ताल्लिए । एकाएक हारगुहार गर्दागर्दै भागाभाग मच्चियो । केहीले लत्ता कपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् । स्थानीय कागबेनीभन्दा केही माथिपट्टि के निस्किएका थिए, एक्कासि कागखोलामा ठूलो हावाहुरीसहित बाढी आयो । बाढीले हेर्दाहेर्दै कागबेनी बजारका घरहरू बगरमा परिणत भए । बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरवासविहीन भएका छन् । कागखोलामा करिब दुई घण्टा आएको बाढीले निकै ठूलो क्षति पुर्‍याएको स्थानीय धावा दोर्जे गुरुङले बताउनुभयो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका वडा सदस्यसमेत रहनुभएका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको भन्दै भौतिक सम्पत्ति ध्वस्त बनेको बताउनुहुन्छ । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्‍याएको गुरुङको भनाइ छ । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिनसक्ने उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासि मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तहरूको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छोडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो, एकैछिनमा सबै घरहरू बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । उहाँका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । १३ आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धार कार्यलाई जारी राखेको उहाँको भनाइ छ ।

सोमबार साँझसम्मको विवरणअनुसार चार पांग्रे दुईवटा सवारीसाधन, मोटरसाइकल ३० वटा, एउटा पक्की मोटरेवल पुल, तीन काठेपुल बाढीले बगाएको छ । बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । धर्मशाला, गुम्बा लगायतका संरचना पनि बाढीमा परेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार करिब २०/२५ वटा पशुचौपाया पनि पुरिएको आँकलन गरिएको छ ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ । बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमअनुसार राहत सहायता दिने उहाँ बताउनुहुन्छ । तत्कालको लागि गाँस, बास कपासको व्यवस्था गाउँपालिकाले गर्ने गुरुङले बताउनुभयो ।

‘अप्रत्याशित घटना भयो, बजारका घरहरू देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्‍याएका घरहरू पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्यांकन गर्नसक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षित रूपमा राखेका छौँ,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना र बासको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ ।’

बाढी कागखोलाको सहायक तिरिखोलामा पहिरो आएर थुनिएको आँकलन गरिएको छ । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । बाढीले पोलहरू बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिनुभयो । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उहाँको भनाइ छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उहाँ बताउनुहुन्छ । बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो, ‘बाढीले बिजुलीका पोल र पाइपलाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात सञ्चालनका लागि प्रयास गर्छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?