उद्यमशीलता प्रवद्र्धन सम्मेलन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुधबार काठमाडौंमा इन्टर्पेनरसिप मोटिभेसनल कन्क्लेभ आयोजना हुने भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा र राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने सम्मेलनमा अर्थमन्त्री, पूर्वअर्थमन्त्री, अर्थविद्लगायतको सहभागिता रहने बताइएको छ ।

आयोजकका अनुसार आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा हो । आर्थिक समृद्धिबिना देशको विकास र नागरिकको जीवनस्तरमा आमूल रूपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनौती बनेको आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्न व्यापक लगानी र उद्यमशीलता प्रवद्र्धन जरूरी छ । सोही सन्दर्भमा सम्मलेन केन्द्रित रहनेछ । युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उद्यमशील युवा सिर्जनशील युवाका संयोजक भुपेन्द्रजंग शाहीले बताउनुभएको छ ।

शाहीका अनुसार उद्यमशील सोच भएका युवाका लागि रहेका अवरोध हटाउन सहयोग गर्नु सम्मेलनको उद्देश्य हो । नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरू एक ठाउँमा हुने सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर, उद्यमशीलता इकोसिस्टम साझेदारका साथै निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहने उहाँले जानकारी दिनुभएको छ । राष्ट्रिय सम्मेलनपछि प्रत्येक प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म उद्यमशीलतासम्बन्धी कार्यक्रम गरिने उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?