सेवाग्राहीसँग अवैध रूपमा शुल्क असुल्दैै वडा कार्यालय

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ र ८ ले गैरकानुनी रूपमा सेवाग्राहीसँग रकम असुल्ने गरेका छन् । पूर्वनिर्मित घर तथा भवन अभिलेखीकरण गर्न निवेदन लिने क्रममा वडा ८ र ९ ले प्रतिनिवेदन दस्तुरबापत तीन सय १० रुपैयाँ लिएका हुन् । बर्दघाट नगरपालिकामा घर तथा भवनको अभिलेखीकरणको निवेदन वडाबाट संकलन गर्ने क्रममा ८ र ९ वडाले निवेदन दस्तुर र अन्य शुल्कबापत शुल्क लिएका हुन् । वडा ९ का अध्यक्ष चन्द्रकान्त चापागाईंले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएर वडा सचिवले गल्ती गरेको बताउनुभयो ।

बर्दघाट नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले अभिलेखीकरणको निवेदन लिँदा शुल्क लिने निर्णय नभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘निवेदन लिँदा वडा कार्यालयले राजस्व लिन मिल्दैन । गैरकानुनी हो । नबुझे राजस्व शाखासँग परामर्श लिनुपथ्र्यो ।’

बर्दघाट नगरपालिका ८ र ९ की वडा सचिव हिमाकुमारी वनले निवेदन लिँदा राजस्व लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निवेदनको शुल्क लिँदा गल्ती भयो । पछि वडाले दिने सिफारिसबाट मिलान गरेर मिलाउँछौँ ।’ १० रुपैयाँ निवेदन दस्तुर र तीन सय रुपैयाँ अन्य दस्तुर गरी तीन सय १० रुपैयाँका दरले वडा ९ का ९६ र ८ का १६ जना सेवाग्राहीसँग रकम लिएको हो । पूर्वनिर्मित घर तथा भवनको अभिलेखीकरण नगरले साउन ७ देखि भदौ ९ गतेसम्म वडा कार्यालयबाट संकलन गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?