कित्ताकाट फुकुवाका सकारात्मक पक्ष

हिमालय टाइम्स
Read Time = 8 mins

सरकारले हालैको निर्णयबाट लामो समयदेखि रोकिएर रहेको जग्गाको कित्ताकाटसम्बन्धी नियममा हेरफेर गरेको छ । जग्गाको चक्लाबन्दी कायम गर्न लामो समयदेखि कित्ताकाट गर्न दिइएको थिएन । विशेषगरी शहरी क्षेत्रमा जग्गाको मूल्यवृद्धि भएर गएपछि थोरै परिमाणको जग्गाको मूल्य पनि करोडौं पुगेको थियो । मानिसहरू गाउँघरमा खेती–किसानी गरेर बस्न नचाहने र सानोतिनो काम गरेर भए पनि शहरमै बस्ने प्रवृत्ति बढेपछि शहरी क्षेत्रले धान्नै नसक्ने गरी स्थायी-अस्थायी जनसंख्याका कारण जग्गाको मूल्य अत्यधिक रूपमा बढेको हो । गाउँको खेतीयोग्य जग्गा सस्तो मूल्यमा बेचविखन गरेर ल्याएको थोरै पैसाले शहरमा सबैभन्दा सानो परिमाणको जग्गा किन्ने र शहरकै बासिन्दा बन्ने मानिसहरूको चाहनाले जग्गा सबैभन्दा सानो हुनेगरी कित्ताकाट गर्न थालियो ।

शहरी क्षेत्रका जग्गाजमिन सबैभन्दा साना टुक्रामा कित्ताकाट गर्ने प्रचलनका कारण ऊर्वर भूमिको अभूतपूर्व विनाश भयो । तर अर्कातिर जग्गा व्यवसायीको जग्गा छिटो बिक्री हुने र क्रेताले पनि उसको आर्थिक हैसियतले भ्याउने भएको हुनाले चाहे अनुसारको परिमाणमा जग्गा पाउने भएकाले यसलाई सहज मानियो । शहरी क्षेत्रका जग्गाहरू खण्डीकरण भएकाले निर्माण भएका भौतिक संरचना पनि राम्रो नहुने र ढल, पानी, बिजुलीसमेत व्यवस्थित नहुने विविधकारणले सरकारले बाँकी जग्गालाई खण्डीकरण हुनबाट जोगाउने उद्देश्यले कित्ताकाट रोकेको थियो । यसबाट अनेकौं समस्या देखा परे । हालका दिनहरूमा देशले आर्थिक मन्दीको सामना गर्नुपरिरहेको छ, नागरिकहरूको क्रयशक्ति कमजोर बन्दै गएको छ । जग्गामा लागेको निषेधात्मक नियमकै कारण आर्थिक मन्दी भएको विश्लेषण विज्ञहरूको धारणा भएपछि सरकारले मन्दी कम गर्ने रणनीतिका तहत कित्ताकाट खुला गरेको हुनुपर्छ ।

व्यापारी–व्यवसायीहरूको व्यापार-व्यवसाय चल्न सकेको छैन । साना व्यापारीहरू आफ्नो व्यवसायबाट पलायन भइरहेका छन् । प्रायः शहरी क्षेत्रका तीसदेखि चालीस प्रतिशत व्यापारिक सटर कबलहरू खाली भइसकेका छन् भनिएको छ । कोठाभाडा लाग्न छोडेको छ भनिन्छ । यी सबै अर्थतन्त्रको तरलताको अभावबाट सिर्जना भएका समस्या हुन् । एकताका जग्गाजमिनको व्यवसाय अत्यधिक मात्रामा चलेका बेला सरकारले दिनहुँ करोडौंको राजस्व उठाउने गरेको थियो । एकातिर यसका नकारात्मक पक्ष त थिए तर अर्कातिर सरकारलाई ठूलो परिमाणमा राजस्व प्राप्त भएको थियो, जसले गर्दा बजारमा आर्थिक तरलताको अभाव हुन पाएको थिएन । कित्ताकाट रोकिएपछि अनेक जग्गा व्यवसायीहरूदेखि जग्गामा लगानी गरेका सहकारीहरूका सञ्चालकको घरवास उठ्न लागेको अवस्था थियो । धेरै सहकारीकर्मी पलायन हुने स्थितिको अन्त्य गर्ने एउटा उपाय कित्ताकाट खुला गर्ने निर्णय पनि होला भन्ने विश्वास गर्न सकिन्छ ।

शहरी क्षेत्रका जग्गाजमिन सकिँदै जाँदा सरकारले भोलि अनेकौं आवश्यकतालाई व्यवस्थित गर्न नसकिने, शहरको सौन्दर्य पनि बाँकी नरहने देखेर जग्गाको कित्ताकाट रोक्का गरेको थियो तर यसबाट अर्को ठूलो समस्या सिर्जना हुनपुग्यो र आर्थिक मन्दीको अवस्था आयो । राष्ट्रले लामो समयदेखि यस्तो समस्या भोग्दै आएको छ । जग्गाको कारोबारमा मन्दी आएपछि सम्पूर्ण क्षेत्रमा मन्दी आयो । यसबाट सबैभन्दा नराम्ररी सहकारी क्षेत्र प्रभावित भए । हजारौंको संख्यामा रहेका यस्ता सहकारी यिनै जग्गाजमिनको कारोबार गर्नेहरूको पैसाबाट चलेका थिए । सहकारीहरू आफैं पनि आपूmसँगको बचतबाट जग्गाजमिनको कारोबार गर्ने गर्थे । जग्गा जमिनका कारोबारै नभएपछि सहकारी बन्द हुने, सहकारीका सञ्चालकहरू भाग्ने गरेका छन् ।

हालको सबैभन्दा ठूलो समस्याका रूपमा सहकारीको संकट देखापरिरहेको छ । प्रहरीमा सहकारीबाट आपूm ठगिएको भनेर परेका उजुरीको संख्या हजारौं छ । यति धेरै उजुरी परेका छन् कि तिनको छानविन गर्न असम्भव भएको प्रहरीको अनुभव सुनिन्छ । अर्कातिर सहकारी सिर्जित समस्या सबैभन्दा बढी काठमाडौं महानगरपालिकाभित्र रहेको पाइन्छ । राष्ट्रकै सबैभन्दा ठूलो महानगर भएका कारण यसो हुनु स्वाभाविक पनि हो । यो राजधानी शहर हो । त्यसैले भौगोलिक रूपमा यो ठूलो छ र अन्य विविध दृष्टिकोणबाट हेर्दासमेत सबैभन्दा ठूलो देखिन आउँछ । त्यसर्थ सहकारीहरूको संख्या अधिक हुनु स्वाभाविक हो । यस क्षेत्रमा मात्र बचतकर्ताहरूको बीस अर्बभन्दा बढी रकम फसिरहेको छ र ती उपर अनेकौं उजुरी परेका छन् भनेर काठमाडौं महानगरपालिकाले बताएको छ ।

यसबाट यसरी सिर्जना हुन पुगेको आर्थिक संकट जग्गा कारोबारसँग जोडिएको हुनाले त्यो संकट कित्ताकाट रोक्कासम्म पुगेर ठोकिन्छ । अब कित्ताकाट फुकुवा भएपछि यो संकट केही मात्रामा भए पनि कम होला कि भन्ने अपेक्षा गर्नु अस्वाभाविक हुँदैन । हुन त यति कित्ताकाट फुकुवा हुनासाथ सहकारी क्षेत्रका सबै संकट हटेर जान्छन् भन्ने होइन र सहकारी क्षेत्रका केही संकट हट्दैमा राष्ट्रकै सबै आर्थिक सुस्तता वा मन्दी हट्छन् भन्ने पनि होइन तर यसबाट प्रकारान्तरले आर्थिक मन्दी हटाउन केही सहयोग चाहिँ पुग्न सक्छ । प्राप्त जे जति अवसर हुन्छन् तिनको सदुपयोग गरी तीबाट अत्यधिक मात्रामा लाभ लिन सक्नु नै बुद्धिमत्तापूर्ण हुनजान्छ । कित्ताकाटलाई गलत ढंगले प्रयोग गर्ने र दुरुपयोग गर्ने सोचको बदला सदुपयोगको सोच भयो भने यसलाई सकारात्मक मान्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?