छन्दकवि दीनानाथ पोख्रेलको ‘श्रद्धाञ्जलि’ शोकखण्डकाव्यको संक्षिप्त चर्चा !

बद्रीप्रसाद दाहाल
Read Time = 15 mins

कुुशल छन्दशिल्पी दीनानाथ पोख्रेल तीसको दशकदेखि नै नेपाली कविता विधामा कलम चलाउँदै आएका छन्द-मनीषी हुन् । २०१६ सालमा सुम्बेक, इलाम नगरपालिका २, इलाममा आमा यमुनादेवी पोख्रेल र बाबा जीवानन्दको कोख सफल बनाउँदै धराधाममा अवतरित एकमात्र सन्तान उनले अबोध शैशवावस्थामै पितृवियोग खेप्नुु पर्‍यो । सात वर्षका बालक दीनानाथ गोडा नचल्ने कुुँजो अवस्थाका थिए । त्यतिखेरै उनकी आमा यमुनालाई गोडाको जोर्नी सुनिएर थला परी बिस्तारै कालको मुखमा पु¥यायो । कुँजा दीनानाथ कालक्रममा घरायसी ओखती उपचारले केही तन्दुुरुस्त बने तर मातापिता दुुवैको वियोगले उनको बालहृदय छियाछिया भएको थियो । मावलीमै आमासित बसेका उनी मातृविछोडपछि घर फर्किए ।

स्कुलमा पढ्दा कहिले पहिलो कहिले दोस्रो हुनेगरेका दीनानाथले मासिक पाँच रुपैयाँ स्कुल शुल्क तिर्न नसकेर पढाइबाट हात धुन परेको करुण कहानी छ । त्यो प्रतिकूल समयमा उनका साहिँली काकी स्व.मेनुुका पोख्रेल (जसलाई उनले यो खण्डकाव्यकी मूलपात्र बनाएका छन्) र साहिँला काका मातृकाप्रसाद पोख्रेलको ममता, स्नेह र वात्सल्यमा उनको पढाइको रफ्तार पुनः अघि बढ्यो । कक्षा आठसम्म आफ्नै गाउँको स्कुलमा पढेपछि भारतको दार्जिलिङको कालेबुुङको हरिहरानन्द संस्कृत पाठशालामा कक्षा नौमा भर्ती भई त्यहीबाट एसएलसीसरहको पूूर्वमध्यमा परीक्षा उत्तीर्ण भए । त्यसपछि उनी वाराणसीको नेपाली संस्कृत महाविद्यालयमा भर्ती भई नव्यव्याकरण विषयमा शास्त्री अर्थात् बिएसरहको उपाधि लिई घर फर्के ।

सातै वर्षको बाल वयमा मातृवियोगको प्रताडना खपेका यिनलाई उदाहरणीय मातृ स्नेहबाट हुुर्काउने बढाउने र पढाउने वातावरण दिएकी हुनाले आमा नै सम्झिएर काकीप्रति भावपूर्ण ‘श्रद्धाञ्जलि’ खण्डकाव्यको सिर्जना गर्न पुुगेका हुन् ।

समय क्रममा उनी सात वर्ष इलामका विभिन्न विद्यालयमा प्राथमिक तथा निमाविका शिक्षक हुँदै कुशल अध्यापनमा समय बिताए । २०४८ सालदेखि २०७२ सम्म भक्तपुरको सरस्वती मा.वि.मा माध्यमिक तहमा नेपाली विषयको शिक्षकको अब्बल भूमिका निर्वाह गरी छुुट्टी लिए । हाल उनी छन्दकविताको साधनामा एकलव्य भएर लागेका छन् । दर्जनभन्दा बढी उनका कृतिहरू प्रकाशनको प्रतीक्षामा छन् भने छिटै नै उनले पाठकमाझ तेइस सर्गमा आबद्ध अठार सय उनन्चालीस श्लोकको ‘माई पोखरी’ नामक स्थानकेन्द्री महाकाव्य प्रकाशनमा ल्याउन लागेका छन् ।

अब लागौँ श्रद्धाञ्जलि शोककाव्यतिर, २०७५ असार १५ गते मातृरूपा अनुपम वात्सल्यमयी साहिँली काकी मेनुका पोख्रेलको अवसानपछि त्यही घटनाबाट मर्माहत भई पीडा र दर्दका छालमा यो शोकखण्डकाव्यको सिर्जना गरेका रहेछन् कविले । सातै वर्षको बाल वयमा मातृवियोगको प्रताडना खपेका यिनलाई उदाहरणीय मातृ स्नेहबाट हुुर्काउने बढाउने र पढाउने वातावरण दिएकी हुनाले आमा नै सम्झिएर काकीप्रति भावपूर्ण ‘श्रद्धाञ्जलि’ खण्डकाव्यको सिर्जना गर्न पुुगेका हुन् । हाम्रा विभिन्न शास्त्रहरूमा पाँच आमा, आठ आमा, सोह्र आमा हुन्छन् भनी चर्चा गरिएको छ । त्यस्तै गुुरुआमा, राजमहिषी, मित्रपत्नी, पत्नीमाता, स्वमाता, ठूलीमा, सानीमा, बहिनी, आदि सोह्र प्रकारका आमाहरूको वर्णन गरेको छ ब्रहृमवैवर्त पुराणले ।

शार्दूूलविक्रीडित छन्दलाई सिरानी हालेर पाँच प्रकरण (मातृ परिचय, आमा बिरामी भएको जनाकारी पाउँदा, बिरामी आमाको दर्शन गर्ने यात्रा आरम्भ, बिरामी आमा हेरेपछि, आमाको अवसान भयो भन्ने सुनेपछि) मा आफ्ना शोक उच्छाललाई बहुतै कारुणिक ढङ्गले अन्तरहृदयका वेदना छताछुल्ल पारेका छन् । एक सय उनन्तीस श्लोक चार हजार दुुईसय शब्दमा एकाध अपवाधबाहेक शार्दूूविक्रीडितको छन्दलक्षणमा हलचल नभई कविका मातृवियोगको बाढी हृदयस्पर्श गर्ने बनेर नदीझैँ सललल बगेको छ ।

कवि दुुई वर्षका अबोध छँदा पिताको अवसान भएको र सात वर्ष पुुग्दानपुुग्दै जन्मदात्री जनयित्री आमा यमुनाको दुुःखद् निधनको विकराल शोकको भारी बोकेका थिए । यतिखेर आमाकै ममता, लाड, प्यार दिएर आमाको अभाव पूूर्ति गरेकी आमा जसले कविलाई हुर्काउँदै बढाउँदै र पढाउँदै आत्मीय वात्सल्य दिएकी थिइन् ।

शोकखण्डकाव्यको प्रथम चरणमा मातृ परिचय दिँदै आमा ज्ञानदाता, कलाकार, कर्मदाता, कहिल्यै नथाक्ने मन र एक प्रणेताजस्तै भनी बहुमुखी ईश्वरीय प्रभाकी उज्याली प्रतिनिधिका रूपमा चिनारी गराउँदै काव्यमा पोखिएका छन् :
आमा ज्ञान प्रदायिनी सकलकी आमा कलाकार हुन् ।
आमा कर्म प्रदायिका मनुजकी माया निराकार हुन् ।।
गल्छन् मांस र अस्थिपञ्जर सबै गल्दैन आमा मन ।
आमा हुन् भवकी निको पथ दिने खुल्छन् प्रणेतापन ।।१।।
कवि हरेक सन्ततिलाई ‘मातृदेवो भव’ को आस्थाबाट मातृमार्गमा हिँड्न आहृवान गर्दै आमा शब्दको अन्तर गरिमालाई शार्दूूलमा यसरी उन्न पुुगेका छन् :
बाँडिन् चिन्तनयोग्य मानव कला पाएर हिँड्दैछु म ।
चोला सार्थक पार्न ज्ञान रसिला पक्रेर बाँच्दैछुु म ।।
पाई योग्य सुकर्म दिव्य पथका फक्रे सयौँ पालुवा ।
त्यागे योग्य सुुभाव मातृ पथका भो जिन्दगी बालुवा ।।१०।।
दोस्रो चरणमा आमा बिरामी भएको सूचना पाएर कवि अन्तद्र्वन्द्वमा छट्पटिन थालेको देखाएका छन् । जन्म र मृत्युको भवचक्र बुुझेका कवि यसरी बोल्छन्ः
भन्छन् जन्म हुँदै बुुझोस् मनुजले मर्ने छ लेखा सब ।
सारा झूट छ यो विशाल जगतै छोपिन्छ पर्दा जब ।।
छन् यी भाइ दुुवै नबझ्नु परका बाटो समाऊन् सही ।
लाने वस्तुु कुनै रहन्न भवको पुुग्नेछ मात्रै बही ।।१३।।
कवि तेस्रो प्रकरणमा बिरामी आमाको दर्शन गर्न जाँदा आमालाई के होला कसो होला भन्ने द्वन्द्वले छटपटिएका छन् । राजधानीदेखि हाइसको यात्रा गरेका यिनी कहिले माताजीको दर्शन गर्न पुगिन्छ होला भन्दै चञ्चल मनमा खुुल्दुलीग्रस्त बनेको भावलाई यसरी काव्यमा जीवन्त पारी उभ्याएका छन् :
खानामा मन छैन जान्न म भनी गाडी नछोडी बसेँ ।
भागी भोक सबै थिएन सँगमा धान्नेछु छाती कसेँ ।।
लामो हो पथ तन्कए सम भयो पुुग्ने हतारो बढी ।
के भन्लिन् जननी हुँदा खुलदुली चिन्ता त्यही भो बढी ।। १९।।
तरहरामा झरेर राजन भतिजको घरमा पुुगेपछि खाजानास्ता लिई छिटो छिटो हस्पिटल पुगी बहिनी रमासित भेट भएको अनि खै, म आमालाई हेर्छुु भनेको र हेरेपछि मनमा दर्द भएको व्याकूल वियोगको चित्रण छ ।
पुुग्दा झट्ट रमा परी नजरमा लौ दाजुु आयौ भनी ।
रुन्चे खुुल्छ गला बडो सकसको पाइन्छ झल्को पनि ।।
खै आमा ? पहिले म हेर्छुु अहिले जे छन् कुरा हुन् पछि ।
हेर्ने आतुुरता थियो मनविषे भो दर्द हेरेपछि ! !
काव्यको चौथो प्रकरण २३ देखि ३१ सम्मको नौ श्लोक सटिक कारुणिकतामा आप्लादित छ । बिरामी आमा हेरेपछि उठेका विरहाग्निका ज्वालाहरू हृदयलाई संवेदाको चुलीतिर धकल्न उद्यत छन् । जस्तै उदाहरणीय यी शोकलहर ः
हेरेँ चेत गुमेछ छैन सँगमा बोली लुकेको थियो ।
आँखाको पनि दृष्टि भिन्न पनको दुख्दो छ हेर्दा हियो ।।
बोल्ने के दिलले दिएन सुर क्यै निस्केँ दुुखी बाहिर ।
सोद्धै शेखर भन्छ लौ न अब के होला ? भनी आखिर ।।२३।।
पाँचौं प्रकरणमा ‘आमाको अवसान भो’ भन्ने सुनेपछि कविहृदयको ढुकढुकी बढ्दै गएर शोकाग्निका ज्वारभाटाहरू उर्लन थालेका दृश्यहरू काव्यमा तँ छाड् म छाड् बनेर देखा पर्दछन् । शोककाव्यको यो अन्तिम प्रकरण हो काव्यको कथावस्तुुको चरमोत्कर्ष यही अध्यायमा पूूर्ण बनेर अन्त्यमा शोकलाई बाच्नेहरूले शक्तिमा रूपान्तर गर्नुुपर्ने संकेत कविले दिएका छन् । कतै करुण, कतै निर्वेद र वैराग्य, कतै वीभत्स रसले काव्यको कथ्यलाई उचाइमा पुुर्‍याएको छ । परिवारजनको रोदन क्रन्दन र चिच्याहटलाई कविले मानसपीडा यसरी विरेचन गरेका छन् :
गर्दै भाइ त्यहाँ बिलाप बहिनी रुन्छन् कि छाती पिटी ।
पारिस् दैव हरे ! बिजोक किन यो ? थप्छस् अझै भुट्भुटी ।।
अर्को बज्र कडा हुँदैन भवमा माया छ उत्पात यो ।
मायामै मन रम्छ दुख्दछ हियो घुम्दैछ संसार यो ।।३४।।
कवि दुुई वर्षका अबोध छँदा पिताको अवसान भएको र सात वर्ष पुुग्दानपुुग्दै जन्मदात्री जनयित्री आमा यमुनाको दुुःखद् निधनको विकराल शोकको भारी बोकेका थिए । यतिखेर आमाकै ममता, लाड, प्यार दिएर आमाको अभाव पूूर्ति गरेकी आमा जसले कविलाई हुर्काउँदै बढाउँदै र पढाउँदै आत्मीय वात्सल्य दिएकी थिइन् त्यस्ती करुणाकी प्रतिमूूर्तिको परलोक गमनले व्यथित र द्रवित हुँदै यसरी पोखिन्छिन् :-
ती मेरी जननी लुुटेर यमुना लाँदा थिएँ बालक ।
ऐले यी जननी लुट्यो सकस भो दोस्री थिइन् पालक ।।
बाबा देख्न नपाउँदै वितिगए बोली नफुुट्दै अरे ।
मेरै मात्र हियारमा सकसका झड्का अनेकौँ परे ।।४१।।

त्यस्तै करुणा र शोकले पाकेको भावको अर्को श्लोक-
सुन्दा यो मन घोच्छ आज जननी नाता टुटाई गइन् ।
त्यागिन् अन्न सबै बनेछअव त्यै बुर्की लिने पो भइन् ।।
नाता नै चुँडियो बुुझेर मन यो बोल्नै नसक्ने भयो ।
जम्मै बर्तन बन्दछन् अब टिला राम्रो बिलायो गयो ।। ४७।।
कवि भयकारी कुुरूप कालसित क्रोधको अपरित भावलाई वीभत्स रसमा यसरी वोकल्न पुुगेका छन् :-
जाऊँ काल कता छ बास त्यसको बाली डढाऊँ कि म ?
काटी टुक्टुक मांस अस्थि त्यसका जम्मै बगाऊँ कि म ??
खोस्यो एक अनन्त दिव्य दिल त्यो आमाविना को छ र ?
आमा स्नेहसमान यो भुवनमा पाइन्न प्यारो नर ।। १२४।।
राष्ट्रकवि माधव घिमिरेका बधाईका वाक्याहार र विद्वान् प्राध्यापक राजेन्द्र सुुवेदीको भूूमिका लेखनले दीनानाथ पोख्रेलको काव्यप्रवृत्ति छन्दकविताको लेखनधारा र शैली तथा सरल भाषामा गम्भीर कथ्यलाई पाठकमाझ राख्नसक्ने क्षमताको परिचय दिएका छन् । छन्दकविताको यो यात्राको अविरलता नटुटोस् करुण रससिक्त यो शोककाव्य पठनीय र संग्रहणीय छ । अन्य कृतिहरू अझ लोकप्रिय बन्दै लेखनको आगामिता उज्ज्वल होस् । समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?