सार्वजनिक खरिद प्रक्रिया सहज बनाउन आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक खरिद प्रक्रिया स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउनुपर्ने बताउनुभएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले आमनागरिकले तिरेको करबाट सार्वजनिक खरिद गरिने भएकाले दुरूपयोग र अवमूल्यन हुन नदिन सधैँ सजग र सचेत रहनुपर्ने बताउनुभएको हो ।

सार्वजनिक खरिद प्रक्रियामा प्रविधि प्रयोग बढेकाले पूर्वाधार निर्माणमा सरोकारवाला निकायबाट समयमै सहजीकरण र समन्वय हुनुपर्ने र कतिपय अवस्थामा ऐन कानुनको परिपालनाका क्रममा देखिएका गाँठो फुकाइदिनुपर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक खरिद कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद प्रक्रिया प्रणालीमा धेरै चुनौती रहेकाले सुधारका लागि गहन प्रयास भइरहेको बताउनुभयो । सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले सार्वजनिक खरिद मितव्ययी र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको अनुगमन चुस्त हुने र नीति नियम समयसापेक्ष बनाइने हो भने पूर्वाधार निर्माणमा सहज हुने बताउनुभएको थियो ।

कार्यालयले गत आर्थिक वर्षमा एक सय ६२ बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी, फर्म र कम्पनी, व्यक्ति र संस्थालाई सम्बन्धित निकायको सिफारिसका आधारमा कालोसूचीमा राखिएको जनाएको छ । सो अवधिमा विद्युतीय खरिद प्रणालीमा सार्वजनिक निकायको दर्ता संख्या चार सय २१, बोलपत्रदाता दर्ता संख्या छ हजार दुई सय ७४ र प्रकाशित बोलपत्र संख्या ३३ हजार चार सय २९ रहेको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?