गोलभेडा र चामलपछि प्याज निर्यातमा कडाइ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यस वर्ष पनि भारतले प्याज निर्यातमा कडाइ गरेको छ । गत महिना गोलभेडा र चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले प्याज निर्यातमा प्रतिबन्ध नलगाएको भए पनि ४० प्रतिशत कर बढाएको छ । भारतमा बढ्दो प्याजको मूल्य नियन्त्रणमा राख्न त्यहाँको अर्थ मन्त्रालयले प्याज निर्यातमा कर बढाएको हो । जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकार मूल्यवृद्धि नियन्त्रणमा लागेको बताइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ भारतमा प्याजको निर्यात कर बढ्दा नेपालमा प्याज महँगिने बताउनुहुन्छ । किनभने नेपाली बजारमा अधिकांश प्याज भारतबाटै आउने गरेको छ । उक्त कर २१ डिसेम्बर २०२३ सम्म लागू हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा गत महिनामात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो । भारतमा अगष्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भइरहेको छ ।

भारतको वाणिज्य विभागको तथ्यांकअनुसार सन् २०२३ को अप्रिलदेखि जुनसम्ममा ६.३८ लाख मेट्रिकटन प्याज निर्यात भएको छ । सन् २०२२ को सोही अवधिमा ५.०४ लाख मेट्रिकटन प्याज निर्यात भएको थियो । भारतले जुन महिनामा मात्रै २.९२ लाख मेट्रिकटन प्याज निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १.५४ लाख मेट्रिकटन निर्यात भएको थियो । भारतबाट सन् २०२३ मा विश्वका ६५ देशमा प्याज निर्यात भएको तथ्यांक छ । सबैभन्दा धेरै बंगलादेशमा १.३९ मेट्रिकटन निर्यात भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । भारतबाट धेरै प्याज आयात गर्ने देशको सूचीमा बंगलादेशपछि मलेसिया, संयुक्त अरब इमरेट्स, श्रीलंका र नेपाल पर्छन् ।

सन् २०२३ को जुनसम्ममा नेपालले भारतबाट ०.३९ लाख मेट्रिकटन प्याज आयात गरेको बताइएको छ । नेपालमा भारतबाट वार्षिक छ अर्ब ७५ करोड बराबरको ताजा प्याज र सात करोडको सुकाएको प्याज आयात हुने गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा प्याजलाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा राखेसँगै प्याजको मूल्य बढिसकेको छ । भारतले कर बढाएपछि प्याजको मूल्य थप आकाशिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?