नायक प्रमाणित हुने कि खलनायक ?

हिमालय टाइम्स
Read Time = 8 mins

यतिखेर नेपाली राजनीतिको प्रिय वा अप्रिय दुवै खाले बहसमा उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । अवशानमा रुने वा सम्पत्ति जोडेर छाड्नुपर्ने अवस्था नभएका अविवाहित गृहमन्त्रीका लागि अहिले जुन कामको सुरुवात भएको छ त्यसको सफलता नै उहाँको राजनीतिमा उत्कर्ष हुनसक्छ । पार्टी राजनीतिमा पार्टीको दबाब बलियो हुन्छ । अपेक्षित-अनपेक्षित, नैतिक-अनैतिक हर प्रकारको दबाब कुनै पनि पदधारीहरूका निम्ति चुनौती हुन्छन्, झेल्नुपर्छ । आफ्नै पार्टीको नेता प्रधानमन्त्री त्यो पनि अनेक दलीय गाँठाहरूको जोडमा बनेको सरकार कुनै पनि समयमा गर्लम्म हुसक्छ । त्यसमा पनि सबै पार्टीका शीर्षहरू, शीर्षमुनिका उपशीर्षहरू अपराधका अनेक घटनामा संलग्न रहेको भन्ने अनुसन्धानको विषय हुनासाथ चुनौतीको पहाड खडा हुन्छ । अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्यही पहाडमुनि हुनुहुन्छ ।

कुनै पनि कथा, उपन्यासहरूमा मुख्य भूमिकामा रहेको पात्र वा चरित्र नै नायक हो र त्यही कथाबाट बन्ने चलचित्रहरूमा त्यसरी नै प्रमुख भूमिकामा रहेको पात्रलाई नायक भन्ने गरिन्छ । अंग्रेजीमा त्यसैलाई हिरो भन्ने गरिएको हो । नायक सकारात्मक भूमिकामा रहन्छ र सुरुदेखि अन्त्यसम्म रहेको हुन्छ । नायकको अपभ्रंश रूप नाइके हो जो सम्मानका रूपमा होइन उपहासका रूपमा भन्ने गरिन्छ । यसैगरी कथाहरूमा उपन्यासहरूमा वा सिनेमाहरूमा नकारात्मक भूमिकामा रहेको पात्रलाई खलनायक भनिन्छ । खलनायकले नायक पक्षलाई दुःख दिने गरेको हुन्छ । एक प्रकारले भन्ने हो भने राजनीति पनि कथा जस्तै हो, उपन्यास जस्तै र चलचित्र जस्तै नै हो ।

राजनीतिका यस्तै घटनावस्तु, पात्र वा चरित्र, यिनको परिवेश, यिनको शैली र प्रस्तुतिकै आधारमा जनताले प्राप्त गरेको परिणाम मिश्रित साहित्यको सिर्जना हुन्छ । यस अर्थमा हाम्रो वर्तमान राजनीति साहित्य सिर्जनाको पर्याप्त स्रोत हुनसक्छ । वर्तमान राजनीति हाम्रो जीवन पद्धति हो यससँग हाम्रो आस्था जोडिएको छ र अपनत्व छ । सँगै हिँडेका केही साथीहरूलाई शहीदको सूचीमा सूचीकृत गरेर हामी यस पद्धतिसँग सहकार्य गर्दै आइरहेका छौं । हामीमध्ये केहीका शरीरमा अझै पनि गोलीका दाग हुनसक्छन् र कसैकसैका जिउमा त अझैसम्म छर्रा अड्किरहेकै छन् । नेपालीले पीडा सिवाय केही पाएनौं तैपनि यो गणतन्त्रलाई कसैले नराम्रा शब्दमा गाली ग¥यो भने त्यससँग प्रतिवाद गर्छौं ।

किनभने यस प्रणालीसँग हाम्रो अपनत्व छ र हामी बरालिएर बिग्रिएको आफ्नो सन्तान जस्तो यसलाई ठान्छौं । जति बिग्रिए पनि हामीलाई उसको माया हुनेगर्छ । त्यसले राम्रो काम गरेन भनेर त्यसलाई सराप्दा सराप्दा गरेर पञ्चायत मिल्काएर हामीले प्रजातन्त्रिक प्रणाली स्थापित गरेका हौं । त्यसलाई अझै परिष्कार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं । तर यस प्रणालीले के-के राम्रा काम गर्‍यो भनेर खोज्ने हो भने केही राम्रा काम त गर्‍यो होला तर राम्राभन्दा नराम्रा काम नै यसले धेरै गरेको छ । धेरै पछाडिसम्म नफर्किने हो भने यही तीन-चार वर्षको वरिपरि मात्रै भ्रष्टाचार, अनियमितता र तस्करीले देशलाई नराम्ररी प्रभावित बनाएको छ । सेक्युरिटी प्रेस स्थापनाका सन्दर्भको प्रकरण, चिनियाँसँग माग गरेको चुनाव खर्चको डिलिङ, कोरोना कालमा भएको भ्रष्टाचार, यती, ओम्नी, गिरिबन्धु टी-स्टेट, बतास समूहसँगको सम्झौतालगायतका यस्ता प्रकरणहरू कति छन् कति छन् ।

पछिल्लो चरणमा ठूला तीन-चार काण्डहरू सतहमा आएका छन् । एउटा ललिता निवास काण्ड जो पुरानै काण्ड हो र हालका दिनमा बल्झाइएको छ । यससँग केही ठूला नेताहरू पनि तानिएका छन् । अर्को अझै कहालीलाग्दो प्रकरण र भुटानी शरणार्थीसम्बन्धी प्रकरण हो जसले नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको थियो । यसैगरी पशुपतिनाथमा भगवान शिवको मूर्तिमाथि सुनको जलहरी राख्ने विषयमा भएको अनियमिता र अझै सबैभन्दा पछिल्लो प्रकरण एक क्विन्टल सुन ल्याइएको घटना ताजा बनेर आएको छ । यी सबै प्रकरणलाई एक मुष्टमा हेर्ने हो भने नेपाल अनियमितता, भ्रष्टाचार र तस्करीका ठूलठूला घटना भइरहने मुलुकमा पर्ने रहेछ भन्ने देखिन्छ ।

मानिसमा बढ्दै गएको लोभ र पापका कारण यस्ता घटना भइरहेका छन् र तिनमा कमी हुँदै जानुको सट्टा झन्-झन् वृद्धि हुँदै गएका छन् । यसको कारणमा यिनलाई निराकरण गर्ने इच्छाशक्ति कसैमा पनि नदेखिएकाले हो भन्न सकिन्छ । प्रलोभन र त्यस्ता मानिससँगको सामिप्यताले गर्दा नेताहरूले पनि बेवास्ता गर्ने गरेका छन्, बरू तिनको समेत त्यसमा संलग्नता हुने गरेको छ । अहिलेसम्म स्वच्छ छवि भएका र कुनै अनियमिततामा नजोडिएका वर्तमान गृहमन्त्रीले यसको पहलकदमी लिएका कारण हाल यस्ता प्रकरण धमाधम सतहमा आइरहेका छन् । धेरै मानिस समातिएका छन् । तर ठूला नेताहरूको संलग्नता भएका कारण तिनलाई पनि पक्राउ गर्नुपर्ने भएकाले गृहमन्त्रीको पाइला पछाडि सर्ने हो कि भन्ने आशंका बढ्दै छ । दृढ इच्छाशक्ति भएका र कुनै लोभानी–पापानी नभएका वर्तमान गृहमन्त्रीले अझै दृढताका साथ काम गर्ने र खुट्टा नकमाउने हो भने यस्ता प्रकरणमा मुछिएकाहरू भाग्न र उम्किन पाउँदैनन् । यति गर्न सक्ने हो भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाली जनताले साथ दिन्छन् र आफ्नो नायक ठान्छन् । अरूलाई खलनायकको स्थानमा राख्न र जनताले दिएको नायकत्व लिन सक्नुभयो भने निश्चिय उहाँलाई वर्तमानले नायक सिद्ध गर्नेछ । नेपाली जनताको हालको चाहना र विश्वास यही नै हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?