वैदेशिक रोजगारीको दर्दनाक पाटो

वार्षिक १२ सय बढीले गुमाउँछन् ज्यान

रमेश भारती
Read Time = 9 mins

काठमाडौं । एक वर्षमा रोजगारका लागि विदेश गएका १२ सय बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा वैदेशिक रोजगारीको सिलसिलामा ४५ महिलासहित एक हजार २०८ नेपाली श्रमिकको ज्यान गएको हो । पछिल्लो १० वर्षमा झण्डै १० हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७८/०७९ मा एक हजार ४७९ जनाको शव नेपाल आएको थियो । आर्थिक वर्ष २०७०/७१ मा रोजगारीमा विदेश जानेको संख्या पाँच लाख नाघेपछि त्यसपछिको वर्ष मृत्यु हुनेको संख्या एक हजार नाघेको हो । त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्ष मृत्यु हुनेको संख्या एक हजारभन्दा कम थियो । तर, आर्थिक वर्ष २०७७/७८ बाट फेरि मृतकको संख्या एक हजार नाघिरहेको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीकै क्रममा विदेशमा ज्यान गुमाएका परिवार र आफन्तलाई बोर्डले ६५ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ । गत वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएर बोर्डबाट मृतकका आफन्तले ८३ करोड ६० लाख ९९ हजार आर्थिक सहायता लिएका थिए । यो वर्ष विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको संख्या एक हजार ४७९ रहेको थियो । साथै, बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, बिरामी तथा मृतकका सन्ततिको शिक्षाका लागि ८५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा बोर्डले मृतक आफन्त, अंगभंग, बिरामी, उद्धार, शव व्यवस्थापन अभिमुखीकरण र छात्रवृत्तिका लागि ८४ करोड ८० लाख १० हजार ७०० रुपैयाँ सहायता रकम वितरण गरिएको तथ्यांकमा छ । यस्तै, विभिन्न श्रम गन्तव्यमा अलपत्र परेका १६७ श्रमिकको उद्धारका लागि विभिन्न नियोगसँग समन्वय गरी ४३ लाख रुपैयाँ सहयोग गरेको थियो । बोर्डले गत आर्थिक वर्षमा यसरी अंगभंग, बिरामी भएका श्रमिकका लागि लगभग १० करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको थियो । बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा कम मृत्यु दर युएई ०.२१ प्रतिशत, कतार ०.२४, साउदी अरब ०.३९ र सबैभन्दा बढी मलेसिया ०.८३ प्रतिशत रहेको छ ।

वैदेशिक रोजगारीमा मृत्यु, अंगभंग तथा बिरामीको संख्या बढेसँगै अनिवार्य दायित्वभित्र पर्ने भएका कारण आर्थिक सहयोगसमेत बढ्दै गएको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो । अघिल्ला आर्थिक वर्षहरूको तुलनामा गत आवमा मृत्यु हुने नेपालीको संख्या केही घटेको उहाँले बताउनुभयो । ‘विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेको संख्या जोड्दा अझ बढी हुन्छ । मृतक संख्या आर्थिक सहायता लिने मापदण्डमा परेका श्रमिकको मात्र हो । अंगभंग, बिरामीलाई समेत उपचारका लागि आर्थिक सहयोग पाउँछन् ।’ उहाँले भन्नुभयो, ‘आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्पmत गरेसँगै सेवाग्राही संख्या बढेर सहयोग रकम पनि बढेको हो । अहिले वैदेशिक रोजगारीबाट अंगभंग तथा बिरामी भएर फर्किएका कामदारले सिधै अनलाइनबाट सेवा पाएका कारण पनि सेवाग्राहीको संख्या बढेको हो ।’ मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि हुँदै आएको उहाँको भनाइ छ ।

क्षतिपूर्ति बढ्दै
सरकारले विदेशमा मृत्यु हुने श्रमिकका नजिकका हकवालालाई सात लाख रुपैयाँका दरले आर्थिक सहायता दिँदै आएको छ । अहिले सरकारले यो क्रम बढाएर १० लाख पु¥याउने तयारी गरिरहेको छ । वैदेशिक रोजगार म्यादी बीमा र बोर्डबाट गरी हाल वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले १५ लाखसम्म क्षतिपूर्ति पाउने गरेका छन् । यो रकम बढेर २२ लाख पुर्‍याउने तयारी भइरहेको बोर्डले जनाएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि सात लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या वृद्धि भएको बोर्डको जनाएको छ । विगत तीन वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजनिक गरेका वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

दैनिक तीन शव आउँछन्, कारण खुल्दैन
पछिल्लो ११ वर्षमा करिब १२ हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । रोजगारीका लागि खाडी लगायतका मुलुकमा पुगेका कामदारमध्ये दैनिक सरदर तीन शव बाकसमा आउने गरेको विभिन्न अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा गएका कामदार दिनानुदिन विदेशमा सुतिरहेकै अवस्थामा मृत्यु हुने घटना बढ्दै गइरहेकाले यस विषयमा सरकारले गम्भीर अध्ययन गर्नुपर्ने रोजगारविज्ञहरू बताउँछन् । सरकारले विदेशमा सुतिरहेको अवस्थामा मृत्यु भएका कामदारको कारण के थियो कुनै अध्ययन अनुसन्धान गरेको छैन । जसका कारण पनि मृत्युका बारेमा प्रष्ट नहुने गरेको विज्ञहरू औल्याउँछन् । रोजगारीका लागि विदेशिएका नेपालीहरूले कार्यस्थल दुर्घटना, गम्भीर प्रकृतिका रोग तथा सुतिरहेकै अवस्थामा ज्यान गुमाउने गरेका छन् । यो विषयमा सरकारले गम्भीर भएर अध्ययन गर्नुपर्ने श्रम तथा रोजगारविज्ञ गणेश गुरुङ बताउनुहुन्छ ।

बोर्डले विदेशमा मृत्यु भएका कामदारको मृत्युलाई प्राकृतिक मृत्यु भनेर व्याख्या गर्छ । यसरी मृत्यु हुनेहरू ४० वर्षभन्दा कम उमेरका बढी रहेको गुरुङले बताउनुभयो । ‘सरकारले अध्ययन नै नगरी प्राकृतिक मृत्युभन्दा आफन्तहरू अनभिज्ञ रहने गरेका छन् । सुतेकै अवस्थामा मृत्यु भएकाले प्राकृतिक मृत्यु भन्ने गरिएको छ । यसका कारण गलत सन्देश प्रवाह भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीका गन्तव्यमध्ये कार्यस्थलमै असुरक्षामा कतार सबैभन्दा अगाडि छ । बोर्डका अनुसार ११ वर्षमा ज्यान गुमाउने एक हजार ४५९ मध्ये १५२ को कार्यस्थलमै मृत्यु भएको छ । जुन १०.४१ प्रतिशत हो । त्यस्तै, मलेसियामा ९.४२, साउदीमा ८.१४, युएईमा ५.६२, कुवेतमा ४.५६ प्रतिशतको कार्यस्थलमा दुर्घटनाले ज्यान गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?