नागरिक स्वतन्त्रताका पर्व गाभ्या, ओल्क्या र गौरा

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ नन्दकृष्ण जोशी

क्रान्तिमा सं.उपसर्ग लागेर संक्रान्ति बनेको छ । क्रान्तिले आन्दोलनको परिभाषा गरे झैं संक्रान्तिले पनि यही अर्थ बुझाउँछ । प्रत्येक महिनाको संक्रान्ति नयाँ सम्भावना र खबर बोकेर घर आँगनीमा आउने गर्दछ । नेपाली समाजमा संक्रान्तिको ठूलो महत्व रहेको छ । नयाँ वर्षको पहिलो दिन विसु संक्रान्ति, साउनको पहिलो दिन साउने संक्रान्ति र भाद्र महिनाको पहिलो दिनलाई गाभ्या, ओल्क्या संक्रान्ति भनिन्छ । यसैगरी माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । प्रत्येक संक्रान्तिमा नेपाली समाजमा धार्मिकताको विशिष्ठ स्थान रही आएको छ ।

सुदूरपश्चिममा भाद्र महिनाको संक्रान्तिलाई गाभ्या संक्रान्ति भनिन्छ । यस दिनमा गाभाको परिकार बनाएर भोजन गर्ने भएकाले गाभ्या संक्रान्ति भनिएको हो । बर्खामासको अन्त्य र शरदकालीन ऋतुको आगमनको संकेत गर्ने भाद्र महिनामा नेपालीहरूका धेरै धार्मिक पर्व पर्ने हुँदा यो महिनालाई महत्वपूर्ण मानिन्छ । नागपञ्चमी जनैपूर्णिमा, गाईजात्रा, तीज पर्व तथा सोह्र श्रद्धा पर्ने हुँदा भाद्र महिनालाई महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ । सुदूरपश्चिमको महानपर्व गौरा पनि भाद्र महिनामै पर्ने हुँदा यस महिनाको महिमा उच्च छ ।

गाभाका परिकार बनाएर खाँदा शरीर पोषिलो हुन्छ । साउन महिनामा पानीले भिजेको शरीर गाभाको सेवनले शरीरमा लवणको मात्रा बढ्ने गर्दछ । शरीर हृष्टपुष्ट हुन्छ । महाकाली अञ्चलमा यस दिनलाई ओल्क्या संक्रान्ति पनि भनिन्छ । विविध जाति, जनजातिको बसोबास भएको क्षेत्र हो सुदूरपश्चिम प्रदेश । तरार्इंमा भूमिपुत्रपुत्री थारुहरूको बाक्लो बसोबास छ । पहाडी खण्डमा दलित, ठकुरी, क्षेत्री, बाहुन र जनजातिको बसोवास छ भने उच्च हिमाली बस्तीमा भोटे, जाड र सौकाहरूको बसोबास छ ।

विविध जाति, जनजातिको बसोवास भएको क्षेत्र हो सुदूरपश्चिम प्रदेश । तराईमा भूमिपुत्रपुत्री थारुहरूको बाक्लो बसोवास छ । पहाडी खण्डमा दलित, ठकुरी, क्षेत्री, बाहुन र जनजातिको बसोवास छ भने उच्च हिमाली बस्तीमा भोटे, जाड र सौकाहरूको बसोवास छ । 

भाद्र संक्रान्ति धेरै विषयवस्तुसँग जोडिएको संक्रान्ति हो । यस दिनमा बादी जातिले आफ्नो अधिकार प्रयोग गर्दै घरघरमा गएर अनाज माग्ने गर्दछन् । अरू बेलाको भन्दा मर्यादित भाषा र व्यवहार देखाएर गाउँका मानिसले बादी जातिलाई अनाज लगायत घरमा पाकेको खानेकुरा प्रेमपूर्वक दिनुपर्दछ । यो दिन उनीहरूको स्वतन्त्रता दिवस भएकोले गाउँघर, शहर बजारमा नाँचगान गर्दै उनीहरू आफ्नो जातको पहिचान पनि गर्दछन् । यस दिन उनीहरूले बोलेका मीठा, नमीठा शब्दहरू सबैले सुनेर बस्नु पर्दछ । चित्त नबुझेको कुरामा उनीहरूलाई हेला गरेको खण्डमा त्यसको प्रतिवाद गर्दै गालीसमेत गर्दछन् ।

त्यसैले उनीहरूसँग सद्भावको बोली बोल्नुबाहेक दोस्रो विकल्प छैन । हेला गरेर कसैले बादी जातिलाई ‘भाँण’ पनि भन्ने गर्दछन् । यसरी कुनै जातिलाई होच्याएर बोल्नु लोकतन्त्रविरोधी भाषा हो । उनीहरू संगीत र सिर्जनामा लागि पर्ने जाति पनि हुन् । नेपाली मौलिक बाजा सारङ्गी बनाउने गर्दछन् । सारङ्गीमा धुन भर्ने, कारुणिक गीतहरू गाउने त उनीहरूको परम्परागत धर्म भइहाल्यो । समाजमा देखापरेको विकृति, विसंगतिविरुद्धका गीतहरू गाएर मानिसलाई सुसूचित गराउने गर्दछन् । कुनै बेला माटाबाट निर्मित सुल्पा, चिलिम बनाउनमा सिपालु बादी जातिको यो पेशा अहिले हराएर गएको छ । गाउँगाउँमा गीत गाउँदै नाँच्दै सुल्पाहरू बिक्री गर्दै बादीहरू जीविकोपार्जन गर्ने गर्दथे तीसको दशकतिर ।

आर्थिक अवस्था कमजोर हुँदा उनीहरू आआफ्नो छोराछोरीलाई स्कुलमा पढाउनबाट समेत वञ्चित थिए । आफ्नो नाममा जग्गाजमिन नहुँदा अरूको आश्रयमा बसेर जीवन गुजारा गर्थे त्यसबेला । अल्पसंख्यक उनीहरू आर्थिक अवस्था कमजोरका कारण बाध्य भएर कुनै बेला देहव्यापार पनि गर्ने गर्दथे । समाजका ठूलाबडाले शारीरिक शोषण गरेकोले सन्तानहरूको रेखदेख गर्नु उनीहरूको कर्तव्य हो तर नेपाली समाजमा कलंकका रूपमा रहेको बेश्यावृत्तिका कारण त्यसबेला उनीहरू समाजमा अपहेलित थिए । २०६२/०६३ को जनआन्दोलनपछि बादी जातिले आफ्नो अधिकारका लागि सिंहदरबारको दक्षिण ढोकामा धर्नामा बसेर संघर्ष गरे ।

पन्ध्र वर्ष पहिले बादी जातिले गरेको त्यो संघर्षका कारण सरकारले उनीहरूका लागि ठाउँ ठाउँमा रहनसहनको उचित प्रबन्ध मिलायो । परिणामतः देहव्यापार छोडेर अहिले उनीहरू अन्य विविध पेशामा संलग्न छन् । शिक्षाप्रति उनीहरू लगनशील छन् । क्रमिक रूपमा रोजगारीमा पनि उनीहरू अगाडि बढ्दै छन् । देउडा गायनमा डिक्रादेवी बादी र किथ्या बादीलगायत कलाकारहरू वर्तमानमा अघि बढिरहेछन् । सल्यान, दाङ, कैलाली, बाँके र बझाङलगायत पहाडी र तराईका जिल्लाहरूमा बसोवास गर्ने उनीहरूको संख्या कम भएता पनि राजनीतिमा निर्णायक भूमिकामा रहेका छन् । राजनीतिप्रतिको उनीहरूको चासो बढ्दो छ । त्यसैले पनि भाद्र १ गते बादी जातिको मुक्तिपर्वको दिन पनि हो । वर्तमानमा उनीहरू क्रान्तिपछिको शान्तिमय वातावरणमा ससानो आफ्नो व्यापार, व्यवसाय चलाएर पनि बसेका छन् ।

विविध संस्कृतिको साझा फूलबारी सुदूरपश्चिममा सांस्कृतिक सम्पदाका धेरै ढोकाहरू खोल्ने भएकाले भाद्र संक्रान्तिलाई महत्वका साथ हेरिएको छ । उक्त दिनमा ठूलाबडालाई गाभा, दही र काँक्रो, दाडिम आदि जस्ता फलफूलहरू उपहार दिने चलन छ । ठूलाबडाले निरोगी बन्नू बाबु भनी आशीर्वाद दिने चलन छ । यसैगरी त्यसबेला दलित वर्गले आआफ्नो भाग्या (मालिक) लाई गाभा अनिवार्य उपहार दिने प्रचलन अहिले पनि प्रेममय संस्कृतिका रूपमा यथावत छ । भारतको उत्तराञ्चलमा भाद्रमहिनाको १ गते अनिवार्य रूपमा घ्यू र घ्यूबाट निर्मित परिकार खाने प्रचलन छ ।

नेपाल चार जात, छत्तीस वर्णको फूलबारी हो भनी नेपाल राष्ट्रको एकीकरण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियानमा दलितलाई पनि साथमा लिएका थिए । पछि उनका सन्तति रणबहादुर शाहले पनि टुँडिखेलमा सबै थरी जातजातिलाई सामूहिक भोजन पनि गराएका थिए । 

यसको खास कारण बर्खामासको जाडो र कामबाट थकित भएको शरीरलाई हृष्टपुष्ट पार्नु रहेछ । नेपालको हिमगिरी चुचुरोमा अवस्थित मालिकाको मेला लागे झैँ कुमाउ, बडवालमा पनि नवदुर्गाको विशेष पूजा गर्ने चलन छ । पूर्णागिरी यसको उदाहरण हो । हलियामुक्ति आन्दोलन, कमलरी मुक्ति आन्दोलन, जाति भेद आन्दोलन आदि जस्ता मानव-मानवबीचको सम्बन्धलाई तगारो हाली आधुनिक सभ्य समाज निर्माण गर्न व्यवधान खडा गर्ने प्रथाको अन्त्यका लागि बादीजातिको सामाजिक संघर्ष अर्थपूर्ण रहेको थियो । तीस र पैतिसको दशकमा । अहिले यी सबै विभेदको अन्त्य भएको छ ।

नेपाल चार जात, छत्तीस वर्णको फूलबारी हो भनि नेपाल राष्ट्रको एकीकरण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियानमा दलितहरूलाई पनि साथमा लिएका थिए । पछि उनका सन्तति राजा रणबहादुर सिंहले पनि टुँडिखेलको दक्षिणमा पर्ने मन्दिरको निर्माण गरी सबै थरी जातजातिलाई सामूहिक भोजन पनि गराएका थिए । केही ब्राहृमणहरूले दलितहरूसँग बसेर भोजन नगर्ने भनी आनाकानी गरेको कुरा इतिहासका जानकार बताउँछन् ।

पञ्चायती राजा महेन्द्रका सबै कदमहरू राष्ट्रविरोधी मान्न सकिँदैन । उनले २०२० साल भाद्र १ गते देशमा नयाँ मुलुकी ऐन जारी गरे । यसमा छुवाछूतविरुद्धका कदम चालिएका छन् । विसं २०२७ सालमा हिरालाल विश्वकर्मालाई शिक्षा सहायकमन्त्री बनाएर राजनीतिमा दलितको पनि प्रतिनिधित्व गराउने पनि महेन्द्र राजा नै थिए । वास्तवमा छुवाछूतले समाजमा आपसी कलह निम्त्याउने हुँदा राजा महेन्द्रको मुलुकी ऐन कदममा टेकेर गणतान्त्रिक सरकारका पालामा पनि छुवाछूत गरिनु हुँदैन भनेर संविधानमा दफा, उपदफा निर्माण गरिए ।

तर, गाउँघरमा वर्तमान अवस्थामा पनि दलित वर्गलाई एउटै धाराको पानी पिउन र मन्दिरमा प्रवेश गराउन अझैं बर्जित गराएको पाइन्छ जुन कलंकको रूपमा लिनुपर्दछ । डोटीको ऐतिहासिक शैलेश्वरी मन्दिरमा केही वर्ष पहिले दलित जातिले प्रवेश गर्दा सोको विरोध उपल्ला अरू जातिले गरेका कारण दुई पक्षबीच विवाद परेको घटना ताजा नै छ । यहाँनेर एउटा कुरा दलित वर्गले पनि सम्झनु आवश्यक छ कि दमाई, कामी, सार्की, सुनार जातिका बीच भावनात्मक एकता हुन अति आवश्यक छ । अन्त्यमा विसु संक्रान्तिमा दही चामल, असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर र भाद्र संक्रान्तिमा दही र गाभाका परिकारले सुदूरपश्चिममा नेपाली खाद्य संस्कृतिलाई चिनाएको छ । यी मौलिक परिकारले मानिसलाई फुर्तिलो बनाउँछ, निरोगी बनाउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?