उपाधिका लागि नेपाल र हङकङ भिड्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चार देश सम्मिलित महिला टी-२० आई सिरिजको फाइनल नेपाल र हङकङ भिड्ने भएका छन् । मलेसियामा जारी सिरिजको फाइनल शनिबार हुनेछ । नेपाल अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भए पनि नेटरनरेटको आधारमा फाइनल प्रवेश गरेको हो । शुक्रबार नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

जितको लागि ८५ रनको मध्यम विजयी लक्ष्य मलेसियाले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाको जितमा ऐना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहनुभयो । मलेसियाले ओपनर वान जुलिया वान मोहम्मद रशिदलाई ८ र तेस्रो नम्बरकी ब्याटर तथा कप्तान मास एलिसालाई २ रनमै गुमाएको थियो । तर तेस्रो विकेटका लागि हाशिम र महिराह इजाती इस्माइलले ४३ रनको साझेदारी गर्दै जितको आधार तय गर्नुभएको थियो । महिराहले २४ बलमा १ चौकासहित २१ रन बनाउनुभयो । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक-एक विकेट लिनुभयो ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटीङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाको कारण खेल प्रभावित हुँदा दुई दुई ओभर खेल घटाइएको थियो । त्यसैले डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले ८५ रनको लक्ष्य दिएको थियो ।

नेपालको लागि कप्तान रुविना क्षेत्री बेलबासेले २६ बलमा दुई चौका र एक छक्कासहित २३ रन जोड्नुभयो । नेपालकी काजोल श्रेष्ठ २१ बलमा एक चौकासहित १८ रनमा आउट हुनुभयो । अनुभवी ओपनर सीता रानामगर १३ बलमा नौ रन बनाउँदै आउट हुनुभयो । इन्दु बर्मा ३३ बलमा २० रनमा, कविता जोशी ४ रनमा, कविता कुँवर एक र समझना खड्का दुई रनमा आउट हुनुभयो । नेपालले ओपनर विन्दु रावललाई नौ नम्बरमा ब्याटीङ गराएको थियो ।

मलेसियाकी ऐना हामिजाह हाशिमले चार ओभरमा १३ रन खर्चेर दुई विकेट लिनुभयो । नुर दानैआ सामादले चार ओभरमा २० रन खर्चेर दुई विकेट लिनुभयो । महिराह इजाती इस्माइलले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो ।

नेपाल तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ शीर्ष स्थानमा रहृयो । हङकङ तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो । नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ रहृयो । मलेसियाको तीन खेलमा चार अंक भए पनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७१ रहृयो । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।

यस्तै शुक्रबारै भएको अर्को खेलमा हङकङले मलेसियालाई नेटरनरेटले पछिपार्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि तयारीका लागि यी चार देशले सिरिज खेलेका हुन् । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप खेल्न पाउनेछन् । नेपालले सोमबार थाइल्यण्डसँग पनि अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?