‘प्रतिस्पर्धा अरूसँगको होइन आफ्नो क्षमता र कर्मसँग गर्न सके राम्रो हुन्छ’

गीता अधिकारी
Read Time = 12 mins

सुदूरपश्चिमको बैतडीको पुर्चौडी नगरपालिका-२ मा जन्मिनुभएका विनोद बम काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन प्रस्तुत गरिरहनुभएको छ । भिडियो सम्पादक र कलरिष्टका रूपमा आफ्ना क्रियशनमार्फत् आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । निर्देशकका रूपमा समेत आफूलाई प्रस्तुत गर्नुभएका उहाँ विविध क्षेत्रमा दख्खल राखे पनि सम्पादकका रूपमा नै आफ्नो परिचय बनाउनुभएको छ । २०६७ देखि औपचारिक रूपमा यो क्षेत्रमा होमिनुभएका उहाँले अहिलेसम्म आउँदा १४ सयजति प्रस्तुतिमा आफ्नो कुशल सम्पादन प्रस्तुत गर्नुभएको छ । म्युजिक भिडियोसँगै उहाँले चलचित्र ‘मखमली-’, ‘जिस्म-२’, ‘जीवन’, ‘विन्दास लाइफ’, ‘लुजर’ जस्ता चलचित्रमा सम्पादन गर्नुभएको छ । सम्पादन, कलरिष्टका साथै निर्देशकका रूपमा आफूलाई अघि बढाउनुभएका उहाँले एक दर्जनजति अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । प्रतिस्पर्धा अरूसँगको होइन आफ्नो क्षमता र कर्ममै गर्न सके नै राम्रो हुन्छ भन्नुहुने विनोद बमसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-

यतिबेला के गर्दै हुनुहुन्छ ?
गीत संगीतका क्षेत्रमा कार्य गरिरहेको व्यक्ति भएको हुनाले यसैसँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको छु । खासगरी सम्पादन र कलरिष्टका रूपमा आफ्ना प्रस्तुति श्रोता/दर्शकमाझ पस्किरहेको छु । केही गीतमा निर्देशन पनि गरेको छु ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
गीत संगीत मेरो सानैदेखिको चाहनाको क्षेत्र हो । त्यही बाल्यकालको चाहनाले नै अहिले यो क्षेत्रमा छु ।

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
म २०६७ सालदेखि औपचारिक रूपमा यो क्षेत्रमा आएको हुँ । २०७३ सालमा विन्ध्यवासिनीमा जागिर सुरु गरेँ । यस अवसरमा गीत संगीतका मूर्धन्य व्यक्तित्वहरूसँग भेट हुने अवसर जुट्यो । उहाँहरूले मेरा कार्यको तारिफ गर्नुभयो र यसले निरन्तरता पाउँदै गयो ।

हालसम्म कति जति गीतका भिडियोमा सम्पादन गर्नुभयो होला, केहीको नाम लिनुपर्दा ?
मैले १४ सयको हाराहारीमा भिडियोको सम्पादन गरेको छु ।

म्युजिक भिडियो सम्पादकले गर्ने भनेको एउटा टिमले छायांकन गरेर ल्याएको फुटेजलाई जोड्ने, काँटछाँट गर्नेदेखि कलर संयोजन गर्नेसम्म पर्दछ । मेरो टेबलमा आइपुगेको प्रस्तुतिको पहिलो दर्शक म हो । कथाको भाव र मर्ममा डुबेर त्यसलाई अन्तिम रूप दिने जिम्मेवारी हुन्छ सम्पादकमा । कथाको भावमा डुब्दै, त्यसलाई अनुभव गर्दै प्रस्तुतिको सम्पादन गरिन्छ । फुटेजलाई काट्ने त हुन्छ तर कथाको भावनालाई अनुभव गरेरै हामीले इडिटिङ गरिरहेका हुन्छौँ । खासमा सम्पादन पनि कला नै हो । हेर्दा त भिडियोहरू जोडेको मात्रै देखिन्छ । तर, कथाको मर्मअनुसार हामीले सम्पादनको कलात्मकता त्यसमा देखाउनुपर्छ ।

यहाँले केही चलचित्रको सम्पादन पनि गर्नुभएको छ होइन ?
हो, मैले ‘मखमली-२’, ‘जिस्म-२’, ‘जीवन’, ‘विन्दास लाइफ’, ‘लुजर’ जस्ता चलचित्रमा सम्पादन गरेको छु ।

निर्देशनमा पनि हात हाल्नुभएको छ नि ?
मैले केही गीतका भिडियोमा निर्देशन गरेको छु । विन्दवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको वरिष्ठ गीतकार रमेश बिजीको रचना अनि नरेश खातीको लय र मेक्सम खातीको आवाजमा रहेको लोकगीत ‘अँधेरी खोलीको तीरैमा तिम्रो पीरैमा’ बोलको गीत निर्देशन गरेपछि मेरो निर्देशनले एक खालको चर्चा बटुल्न सफल भयो । यस्तै, वरिष्ठ गायक रामकृष्ण ढकालको ‘बनावटी संसार’ बोलको गीतको निर्देशन तथा सम्पादनपश्चात् वरिष्ठ गायिका रीमा गुरुङ होडाको ‘तिमी जून बन्यौ कि’ बोलको गीतमा समेत निर्देशन र सम्पादन गरेँ । यस्तै, जुनु रिजाल र रामचन्द्र काफ्लेको ‘तिमी खुसी’ जस्ता रहेका छन् । यस्तै ‘कस्तो यो खेल खेलेर गयौ’ लगायतका रहेका छन् ।

यहाँ सम्पादन, कलरिष्ट र निर्देशनमा हुनुहुन्छ । सबै विधामा उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ, आफूलाई चिनाउनुपर्दा के भन्नुहुन्छ ?
मैले धेरै विधातर्फ हात बढाए पनि यी एकै विधाका फरक-फरक रूप हुन् । मैले सबै विधामा आफूले गरेका काममा उत्कृष्टता प्रस्तुत गर्ने हरसम्भव कोसिस गरेको हुन्छु । कुनै एक रोज्नुपर्दा या चिनाउनुपर्दा सम्पादकका रूपमा नै आफूलाई चिनाउँछु ।

यो क्षेत्रमा काम गर्न कत्तिको गाह्रो छ र चुनौती के-कस्ता छन् ?
हामीकहाँ सम्पादन क्षेत्र निकै प्रतिस्पर्धात्मक छ । यो क्षेत्रमा काम गर्दै गर्दा देखिएका चुनौतीहरूसँग म परिचित छु र त्यसलाई पार गर्न सक्छु भन्नेमा विश्वस्त छु । म विश्वस्त छु कि नयाँ प्रविधिहरूमा अपडेट रहन सक्छु ।

भिडियो सम्पादनमा के-कस्ता कार्यहरू पर्छन् ?
म्युजिक भिडियो सम्पादकले गर्ने भनेको एउटा टिमले छायांकन गरेर ल्याएको फुटेजलाई जोड्ने, काँटछाँट गर्नेदेखि कलर संयोजन गर्नेसम्म पर्दछ । मेरो टेबलमा आइपुगेको प्रस्तुतिको पहिलो दर्शक म हो । कथाको भाव र मर्ममा डुबेर त्यसलाई अन्तिम रूप दिने जिम्मेवारी हुन्छ सम्पादकमा । कथाको भावमा डुब्दै, त्यसलाई अनुभव गर्दै प्रस्तुतिको सम्पादन गरिन्छ । फुटेजलाई काट्ने त हुन्छ तर कथाको भावनालाई अनुभव गरेरै हामीले इडिटिङ गरिरहेका हुन्छौँ । खासमा सम्पादन पनि कला नै हो । हेर्दा त भिडियोहरू जोडेको मात्रै देखिन्छ । तर, कथाको मर्मअनुसार हामीले सम्पादनको कलात्मकता त्यसमा देखाउनुपर्छ ।

तपाईंले काममा कम्परमाइज गर्नुपरेको छ ?
काममा कम्परमाइज जुनसुकै काममा पनि गर्नुपर्ने हुन्छ । त्यस्तै हाम्रो सम्पादनको काममा पनि हुन्छ । कुनै गीतको भनेको जस्तो बजेट छैन अलि मिलाएर गरिदिनुहोस् भनेर रिक्वेष्ट गर्नुहुन्छ त्यो पनि मिलाउनै पर्ने हुन्छ । र, कहिलेकाहीँ काम गर्दै जाँदा कथा गीतसँग नमिलेको हुँदा सम्पादनमा मिलाउनुपर्ने हुन्छ । कहिलेकाहीँ छायांकन पार्टमा पनि मौसमले गर्दा लाइट नमिलेको हुँदा कलरमा मिलाउनुपर्ने चुनौती आइरहेका हुन्छन् । हामीले ती चुनौतीलाई मिलाएर, अवस्था हेरेर कम्परमाइज गर्दै लैजानुपर्ने हुन्छ ।

एउटा भिडियो राम्रो बन्नका लागि के-के कुरा महत्वपूर्ण हुन्छ ?
एउटा भिडियो राम्रो बन्नुमा सबैभन्दा त पहिला गीत नै राम्रो हुनुपर्छ । त्यसपछिको महŒव सम्पूर्ण भिडियोको टिमको हुन्छ । राम्रो गीतमा निर्देशकले राम्रो कन्सेप्ट बनाएर छायाँकारले उचित ढंगले पर्दामा उतार्ने अनि कलाकारले राम्रो अभिनय गरेपछि सम्पादकले राम्रो काँटछाँट र कलर संयोजन गर्दा भिडियो राम्रो हुन्छ । यो टिम वर्क हो । सबैले राम्रो गर्दा मात्रै राम्रो हुन्छ । छायांकनदेखि कलाकार, निर्देशक, लोकेशन, सम्पादन, कलर सबैले राम्रो गर्दा मात्रै एउटा राम्रो प्रस्तुति दर्शकमाझ आउँछ ।

यो क्षेत्रमा लागेर के उपलब्धि पाएजस्तो लाग्छ ?
मुख्य कुरा त मैले मेरा कार्यले मसँग अपेक्षा लिएर आउनेको मन जित्न सकेको छु । मेरा कार्यले उहाँहरूलाई सन्तुष्टि दिलाउन सकेको छु । जतिले मसँग काम गर्नुभएको छ उहाँहरूले दोहोर्‍याएर मलाई रोज्नुहुन्छ, सबैभन्दा ठूलो उपलब्धि हो यो भन्ने लाग्छ । त्यसपछि मेरा कामलाई सराहना गर्दै केही राष्ट्रिय अवार्ड, मान, सम्मान र पुरस्कार प्राप्त भएका छन् । यसबीचमा एक दर्जनजति अवार्ड प्राप्त भएका छन् । एक सिर्जनशील व्यक्तिलाई योभन्दा ठूलो उपलब्धि के होला र ? म आफ्ना काममा पूर्ण रूपमा सन्तुष्ट छु, त्यही नै सबैभन्दा ठूलो उपलब्धि हो जस्तो लाग्छ ।

नयाँ पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ ?
आफू बुुझेर अनि विधागत ज्ञान लिएर आयो भने चाहिँ सहज नै हुुन्छ । प्रतिस्पर्धा अरूसँगको होइन आफ्नो क्षमता र कर्ममै गर्न सके नै राम्रो हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?