बालकथा : सुनौलो झ्याल

हिमालय टाइम्स
Read Time = 9 mins

लेखक : लौरा इ. रिचर्ड्स
अनुवाद : प्रा.डा.भूपप्रसाद धमला

(प्रस्तुत बाल कथा दर्शन र विज्ञानको पाठमा आधारित एउटा नीति कथा हो । यो कथा सन् १८८१ मा प्रकाशित द पिग ब्रदर एन्ड अदर फेबल्स एन्ड स्टोरिज शीर्षकको कथासङ्ग्रहमा सङ्कलन गरिएको थियो । विद्यालयका बालबालिकाका लागि यो कथा उपयोगी हुनेछ ।)
त्यस सानो बालकका आफ्ना बुबाआमा गरिब किसान थिए । उनीहरूसँग खेताला लाउने पैसा पनि थिएन । त्यसैले उसले दिनभरि छाप्रोको गाई गोठमा धेरै काम गथ्र्यो । त्यस दिन बेलुकीको सूर्यास्त उसलाई रमाइलो लाग्यो किनभने उसका बुवाले उसलाई रमाउन स्वतन्त्र छोडिदिए । अनि त्यो बालकमाथि डाँडामा गयो र पर अर्को डाँडो हेर्‍यो । त्यो टाढाको डाँडामाथि प्रष्टै देखिने सुन र हिराका झ्याल थिए । ती झ्यालहरू टलक्क टल्किए । तिनको चमकले बालकको आँखा झिमझिम गरायो । एक छिनमा त्यो घरका मान्छेले सटर बन्द गरे जस्तो लाग्यो र त्यो घर पनि अरू खेतीघर जस्तै देखियो ।

त्यस घरका मान्छेले बेलुकीको खाना खान लागेको जस्तो त्यस बालकलाई लाग्यो । त्यसैले उसलाई पनि घरमा गएर रोटी र दूध खाएर सुत्न मन लाग्यो । एकदिन उसका बुवाले उसलाई बोलाएर भने ‘तिमी राम्रो बच्चा हौ । अहिले छुट्टीमा छौं। स्वतन्त्र भएर रमाऊ तर आजको दिन ईश्वरले तिमीलाई दिएको विशेष वरदान हो भन्ने नभुल र केही राम्रा कुरा पनि सिक ।’ सानो बालकले आफ्ना बुवालाई धन्यवाद दियो, आमालाई चुम्बन गर्‍यो अनि गोजीमा एक टुक्रा रोटी हालेर सुनौलो झ्याल भएको घरतिर लाग्यो ।

हिँड्न चौपट्ट रमाइलो थियो । सेतो धुलोमा उसका खाली खुट्टाको छाप बन्यो । पछाडि फर्केर हेर्दा उसका पदचापले पछ्याए झैँ लाग्यो । ती पदचाप उसका साथी जस्तै भए । उसको छायाँ पनि छेउ लागेरसँगै हिँडे जस्तो लाग्यो । 

हिँड्न चौपट्ट रमाइलो थियो । सेतो धुलोमा उसका खाली खुट्टाको छाप बन्यो । पछाडि फर्केर हेर्दा उसका पदचापले पछ्याए झैँ लाग्यो । ती पदचाप उसका साथी जस्तै भए । उसको छायाँ पनि छेउ लागेर सँगै हिँडे जस्तो लाग्यो । उसको इच्छानुसार नै छायाँ पनि नाच्यो । त्यसैले यो यात्रा निकै मनमोहक भयो । केही बेरमा बालकलाई भोक लाग्यो । उसले काँडादार पाता हुने बोटको झाडीभित्रको कैलो पानी देखिने एउटा सानो खोलाको किनारमा बसेर रोटी खायो, सफा पानी पियो अनि उसकी आमाले सिकाए अनुसार रोटीका ससाना टुक्रा चराका लागि छर्दै आफ्नो बाटो हिँडी रहृयो ।

लामो समयपछि बालक अग्लो हरियो डाँडा चढेर टुप्पोमा पुग्यो । त्यहाँ एउटा घर थियो तर त्यो घरको सटर बन्द जस्तै देखियो किनभने उसले सुनौलो झ्याल देखेन । घर पुग्दा ऊ रुन पो खोज्यो किनभने त्यहाँ कुनै झ्याल सुनौला थिएनन् बरु तिनीहरू अरू झ्याल जस्तै स्वच्छ निर्मल थिए तिनमा सुन पटक्कै थिएन ।

एउटी महिला ढोकामा आएर बालकलाई हेरिन् अनि के चाहन्छौँ भनेर सोधिन् ।
‘मैले हाम्रो घर भएको डाँडाबाट सुनौलो झ्याल देखेर यहाँ हेर्न आएको तर त्यो त सिसामात्र रहेछ’ उसले भन्यो ।
ती महिला टाउको हल्लाएर हाँसिन् ।

‘हामी गरिब किसान हौँ त्यसैले हामसँग सून हुने कुरै भएन तर सिसा सुनभन्दा राम्रो हो नि’ उनले भनिन् ।
ती महिलाले बालकलाई ढोका अगाडिको ठूलो ढुंगामा बस्न भनिन्, एक गिलास दूध र रोटी ल्याएर खान दिइन् र आराम गर्न भनिन् । अनि उनले उसकै उमेरकी आफ्नी छोरीलाई बोलाएर भेट गराइन्, दुवै जनालाई छोडेर काममा गइन् ।

सानी बालिका ऊ जस्तै नाङ्गो खुट्टाले हिँडथिन्, सुतीको कैलो कपडा लाएकी थिइन् तर उनको कपाल उसले अघि देखेको झ्याल जस्तै सुनौलो थियो र उनका आँखा छकालको आकाश जस्तै नीला थिए । तिनले बालकलाई गाईगोठ भएतिर लगिन् अनि उसलाई निधारमा सेतो तिल्के भएको कालो बाच्छो देखाइन् । उसले पनि आफ्नो गोठमा भएको बाछाको कुरा गर्‍यो । त्यस बाछाका खुट्टा सेता अनि जीउ चाहिँ चेस्टनट रुख जस्तै रातो भएको कुरा बतायो । तिनीहरूले सँगै बसेर स्याउ खाए, घनिष्ट साथी भए । अनि उसले उनलाई सुनौलो झ्यालको कुरा ग¥यो । बालिकाले मुन्टो हल्लाएर भनिन् उनी पनि सुनौलो झ्याल देख्छिन् तर आफ्नै घरको होइन । उसले सुनौलो झ्याल भएको घर भुलेको हुन सक्छ ।

‘तिमी गलत बाटो आएछौ आऊ म तिमीलाई त्यो सुनौलो झ्याल भएको घर देखाउँछु अनि आफैँ हेर’ उनले भनिन् । तिनीहरू खेतीघरको पछाडिको ढिस्कोतिर गए । बालिकाले भनिन् त्यो सुनौलो झ्याल सूर्यास्तको बेलामा मात्र देख्न सकिन्छ । ‘हो मलाई थाहा छ’ बालकले भन्यो । ढिस्कोको टुप्पोमा पुगेपछि बालिकाले औल्याइन् अलि परको डाँडामाथि सुन र हिराको झ्याल भएको घर देखियो । ठ्याक्कै पहिले देखेको जस्तै । बालकले बुझ्यो त्यो उसको आफ्नै घरको झ्याल थियो ।

त्यस बालकले बालिकालाई भन्यो अब उसले जानु छ । जाने बेलामा उसले बालिकालाई रातो फिताले बाँधेको एउटा सेतो ढुङ्गो दियो जुन उसले एक वर्षदेखि गोजीमा बोक्दै आएको थियो । बालिकाले पनि उसलाई तीन ओटा हर्स-चेष्टनट, एउटा रातो-रातो साटन, एउटा छिर्केमिर्के र एउटा सेतो बट्टामा दूध दिइन् । उसले उनलाई बिदाइको चुम्बन गर्‍यो तर उसले के सिक्यो भन्ने कुरा उनलाई बताएन अनि ऊ डाँडाबाट ओर्लियो । बालिकाले अस्ताउँदो सूर्यको प्रकाशमा उसलाई हेरिरहिन् ।

उसको घर जाने बाटो लामो थियो । घर पुग्दा अँध्यारो भयो तर बत्ती र आगाको उज्यालो घरको झ्यालमा चम्कियो जसले गर्दा डाँडाको टुप्पाबाट देखेको जस्तै उज्यालो देखियो । जब उसले ढोका खोल्यो आमाले उसलाई चुम्बन गरिन्, उसकी सानी बहिनीले दगुर्दै अङ्कमाल गरिन् अनि उसका बुबा अँगेनाको नजिकै बसेर मुस्कुराए ।
‘दिन रमाइलो भयो ?’ आमाले सोधिन् ।
‘हजुर, एकदम रमाइलो भयो, आमा !’ उसले भन्यो ।
‘अनि केही कुरा सिक्यौ पनि ?’ बाबाले सोधे ।
‘हजुर, मैले थाहा पाएँ हाम्रो घरको झ्याल सुनौलो छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?