बागलुङमा लम्पी स्किनबाट तीन करोडको क्षति

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । लम्पी स्किनरोगको संक्रमणबाट बागलुङमा झण्डै रु. तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । लम्पी स्किन रोगबाट बागलुङमा पाँच हजार ३८६ गाई, गोरु र भैसी प्रभावित भएको र हाल सम्म ६१७ पशुको मृत्यु भएको पाइएको छ ।

रोगबाट क्षति हुने मुख्य पशुमा गाई र गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको जम्मा २.६३ प्रतिशत मात्रै भैसी रहेको तथ्याङक छ भने अन्य क्षति गाई गोरुमा देखिएको हो ।

केन्द्रले संकलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाई, गोरु र भैसीको करिब ३० देखि ४० हजार र उन्नत जातको एक लाख सम्मको गाई र भौसीको मुल्य पर्ने भएकाले सरदरमा रु. तीन करोड भन्दा बढीको पशुधनमा क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

“जम्मा ६१७ गाई, गोरु र भैसीको मृत्यु मध्ये भैसीको मृत्यु नगन्य छ, २९९ गोरु र तीन सयकै हाराहारीमा गाइको मृत्युभएको छ, यसको क्षति रकममा मुल्याङ्कन गर्न निकै सकस हुन्छ, कुनै पाडो पाडीको मुल्य, स्थानीय जात र उन्नत जातको मुल्यमा धेरै फरक पर्दछ” सापकोटाले भन्नुभयो “हाल सम्म तीन करोड भन्दा बढीको पशुधनको नोक्सानी भएको हाम्रो आकलन छ, उक्त क्षतिमा पशुको उपचार खर्च र पालनपोषणको खर्च समेत जोडिन आउछ, कतिपय किसानले उपचारमा धेरै खर्च गरेपछि पशुको मृत्यु समेत भएको छ ।”

सापकोटाका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बंगुर पालन किसानले लाखौ नोक्सानी ब्यहोरेको बताउनुभयो । उहाँले १२२ बंगुर मरेको तथ्याङ्क ल्याव परिक्षणबाट पुष्टी भएपनि किसानले ४०० बंगुर मरेको बताउदै आएको जानकारी दिनुभयो ।

बंगुरपालन किसानको नोक्सानी र पेशाबाट पलायन हुनथालेका प्रति विज्ञ केन्द्रले बंगुरपालन किसानलाई पुनस्थापनका लागि चालु आर्थिक वर्षमा रु. १६ लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।

पाँच हजार पशुलाई लम्पी स्किनको खोप

बागलुङ जिल्लामा फैलदो क्रममा रहेको लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइएको छ । खोप लगाउने पशुको संख्या बढेपछि लम्पी स्किन रोग नियन्त्रण उन्मुख भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

जिल्लामा गोरु, गाई र भैसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि नीजि र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङले समेत थप पाँच हजार खोप बितरण गरेको पशुप्राविधिक केशव प्रसाद शर्माले जानकारी दिनुभयो ।
“हालसम्म ५ हजार पशुलाई खोप लगाइएको छ भने अझै एक हजार १०० खोप लगाउने क्रम जारी रहेको छ, बागलुङको बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले आफै खरिद गरेर एक हजार १०० खोप लगाइसकेका थिए, केही गाई फर्मले आफै खोप लगाएका थिए” शर्माले भन्नुभयो “भदौंको मध्यतिर छ हजार पशुले खोप पाइसक्नेछन्, खोपका कारण अहिले लम्पी स्किन रोगको संक्रमण र मृत्युदर समेत घटेर गएको पाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ढोरपाटन नगरपालिकामा ५५०, निसीखोला गाउँपालिकामा ५००, तमानखोला गाउँपालिकामा ५००, बडिगाड गाउँपालिकामा ४००, ताराखोला गाउँपालिकामा ३००, गलकोट नगरपालिकामा ५००, बरेङ गाउँपालिकामा २००, काठेखोला गाउँपालिकामा ५००, बागलुङ नगरपालिकामा ५२५ र जैमिनी नगरपालिकामा ५०० डोज खोप वितरण गरिएको जनाएको छ ।

जसमध्ये एक हजार १०० खोप लगाउने क्रममा रहेको र अन्य खोप भने पशुलाई लगाइसकेको छ । लम्पी स्किनको शुरुजाती चरणमा बडिगाड गाउँपालिकाले १२५, काठेखोला गाउँपालिकाले १००, बागलुङ नगरपालिकाले ४२५ र जैमिनी नगरपालिकाले ४५० डोज खोप पालिकाकै खर्चले लगाइसकेका थिए ।

लम्पी स्किन रोग विरुद्धको खोप कार्यक्रमलाई तिब्रता दिएपछि लम्पी स्किन रोग फैलिने क्रम कम भएको छ । जिल्लाको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लम्पी स्किन रोगबाट गाई तथा गोरुहरु बढी प्रभावित बनेको तथ्याङ्क छ । साढे दुई महिनादेखि बागलुङमा देखिएको लम्पी स्किन रोग संक्रमण फैलिरहेको र अहिले जिल्लाको १० वटै पालिकाका गाई तथा गोरुमा उक्त संक्रमण फैलिएको छ ।

शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने लक्षण लम्पी स्किनको हो । रोगको संक्रमणबाट जोगिनका लागि गोठलाई सफा गर्ने रोगी पशुलाई छुट्टै राख्ने र खोप लगाउनु पर्दछ । जिल्लामा पहिलो पटक बडिगाड गाउँपालिकामा संक्रमण देखिएपछि क्रमशः अन्यत्र फैलिएको थियो । भाइरसबाट सर्ने यो रोग बिफर जस्तै रहेको बताउदै प्राविधिक शर्माले किर्ना, भुसुना र लामखुट्टेबाट पशुहरुमा यो संक्रमण फैलने गरेको पाइएको हो ।

यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने र मृत्यु समेत भइरहेकाले सजग रहन पशुधनीहरुलाई आग्रह गरिएको छ । संक्रमण हुने बित्तिकै गाईले ८० प्रतिशत दूध सुकाउने गर्दछ । दूधमा आत्मनिर्भर बनेको बागलुङमा चालु आर्थिक वर्षमा दूधको उत्पादनमा समेत कमी हुन थालेको छ । आर्थिक वर्ष २०७९/८० मा २३ हजार मेर्टिक टन दूध उत्पादन भएकोमा चालु आर्थिक वर्षमा लम्पी स्किन रोग संक्रमणका कारण दूधनको उत्पादनमा गिरावट आउन थालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?