अस्कर अवार्डका लागि नेपाली चलचित्रको आवेदन माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि आवेदन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै समितिले नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो ।

समितिले एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिश गर्नेछ । उक्त अवार्ड प्रतियोगितामा सहभागी हुन चाहने नेपाली चलचित्र निर्देशक र निर्माताहरूले भदौ २९ गतेभित्र समितिको सचिवालयमा चलचित्र दर्ता गराउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र ०७९ असोज १५ गतेभन्दा पछि तथा ०८० असोज १४ गतेभन्दा अगाडि नै सार्वजनिक प्रदर्शन गरिएको हुनुपर्नेछ ।

दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, ओटीटीमा सार्वजनिक भएको भए त्यसको प्रमाण, ३५ एम.एम.वा ७० एम.एम.को भिडियो वा २४-४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा हुनुपर्नेछ । २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकारका साथै सबै प्राविधिकको नामावली, अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश समावेश हुनुपर्नेछ ।

चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?