युवाले ठूला सपना देख्नुपर्छ : एनसेल सिइओ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले काठमाडौंमा आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाइसी), २०८०’ मा सहभागी युवालाई प्रेरणा र प्रोत्साहन प्रदान गर्नुभएको छ । कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब पाँच हजार युवाको सहभागिता थियो ।

यस वर्षको ‘केवाइसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ रहेको थियो । जाब्बोरले कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा सहभागिता जनाउनुभएको थियो । १६ देखि २५ वर्ष उमेर समूहका युवाको भेलामा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवालाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न प्रेरित गर्नुभएको थियो । जाब्बोरले युवालाई प्रतिस्पर्धी बन्न, इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।'

उत्साही युवासँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्नुपर्छ, आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’ कार्यक्रममा चर्चित नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरसेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, इसेवाका सिइओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायत प्रेरणादायी वक्ताहरूको सहभागिता थियो । सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?