सांसद र निजी क्षेत्रको एउटै स्वर, देशमा गरिखाने वातावरण भएन

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको र राज्यले बनाएको नीतिका कारण यस्तो अवस्था आएको बताउनुभएको छ । बुधबार बाह्रखरी मिडियाद्वारा आयोजित निजी क्षेत्रको आवाज विषयक छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सरकारले दूरदर्शी हिसाबले नीति बनाउन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उहाँको भनाइ थियो ।

निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारमा रहेको तर अहिले सरकार भने कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्थामा पुगेको पनि अध्यक्ष ढकालले बताउनुभयो । अहिले देखिएको समस्या समाधान गर्न सरकार, निजी क्षेत्र सबैले ध्यान दिनुपर्ने भन्दै उहाँले जनतामा विश्वास बढाउन सकिए अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, ‘अहिले अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ । त्यो निजी क्षेत्रको मात्र नभएर सरकार र सबै क्षेत्रको समस्या हो, हामीले पब्लिकमा कन्फिडेन्स बढाउन सकेमा अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । अब सबैको ध्यान त्यसतर्फ हुन जरुरत छ ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्ने बताउनुभयो । विभिन्न दलको राजनीतिक धारणा फरक भए पनि आर्थिक एजेण्डामा एउटै धारणा हुनुपर्ने उहाँको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको माग कुनै पनि निकायबाट सुनुवाइ नभएको बताउनुभयो । भूकम्प र कोरोनाका कारण अर्थतन्त्रमा शिथिलता छाएको र त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको भए पनि सरकार गम्भीर नभएको उहाँले गुनासो गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आजको आजै ब्याज तिर्ने अवस्था छैन । बैंकको ब्याजदर तिर्न नसकेर अहिले केही व्यवसायीले हात झिकिसकेका छन् । हामीले बैंकलाई अनुनयविनय गरिरहेका छौँ, प्रधानमन्त्री, अर्थ मन्त्रालय, पर्यटन मन्त्रालयलगायतका सम्बन्धित विभिन्न निकायमा हामीले हाम्रो गुनासो राख्याँै तर कुनै निकायबाट सुनुवाइ भएको छैन ।’ उहाँले पर्यटक आउनका लागि हवाई भाडा महँगो भएको भन्दै यस्तै अवस्था जारी रहेमा देश र पर्यटन क्षेत्रको अवस्था भयावह हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर भव्यतासाथ उद्घाटन गर्‍यौँ तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । नेपाल एयरलाइन्सबाट विभिन्न देशमा उडान गर्न आग्रह ग¥यौँ तर सुनुवाइ भएन ।’

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले पनि सरकारले उद्योगी व्यवसायीलाई देशमा काम गर्ने वातावरण बनाउन नसकेकाले देश छोडेर विदेशिने युवाको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले देश छोड्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यही अवस्था रहने हो भने हाम्रा छोराछोरी देशमा बस्दैनन् ।’ नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले निर्माण व्यवसायीलाई सरकारले पैसा दिन नसक्दा बैंकिङ प्रणालीमा पनि समस्या निम्तिने भन्दै सरकारले पुँजीगत खर्च बढाउन सकेमात्रै अर्थतन्त्र चलायमान हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीको पैसा सरकारले दिन सकेको छैन । यसले बैंकिङ प्रणालीमा पनि असर गर्छ, अर्थतन्त्रमा समस्या आएकै कारण सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । राजस्वका दर बढाइएको छ तर लक्ष्य भेट्न सकेन भने यसले समस्या निम्तिन्छ ।’

प्लस टु सक्नेबित्तिकै विदेशिने लहर बढेकाले पनि उद्योग व्यवसाय र बैंकिङ क्षेत्रमा नै समस्या निम्तिएको भन्दै उहाँले यस्तो अवस्था रोक्न नसकिए देश केही वर्षमै नाजुक बन्न सक्ने बताउनुभयो । नयाँ व्यवसाय सञ्चालनमा नआउँदा पनि कर्जाको माग नभएको उहाँको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई अपराधीजस्तो व्यवहार गर्नुनहुने भन्दै व्यावसायिक वातावरण भएमात्र देश समृद्ध हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यापार व्यवसाय गरेर पैसा कमाउनु अपराध होइन, कसैले अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन, अर्बौं लगानी गरेर रोजगारी सिर्जना गर्नेदेखि राज्यलाई कर तिर्नेसम्मको काम व्यवसायीले गरेका छन् । उहाँहरूका चुनौती धेरै छन् ।’ व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

सांसद डा. सुनिल शर्माले अहिलेको सरकार व्यवसायीको हितमा नभएको आरोप लगाउनुभयो । व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै उहाँले ठूला व्यवसायीलाई सरकारले सक्न खोजेको दाबीसमेत गर्नुभयो । शर्माले भन्नुभयो, ‘५० हजारलाई रोजगारी दिइरहेका मीनबहादुरलाई अहिले हतकडी लगाइएको छ । गल्ती गर्नेलाई सजाय दिनुपर्छ तर नियतवश गर्नुहुँदैन, पाँचतारे होटलमा बसेर सरकारी जग्गा कसले बेचेको ? व्यवसायीले किन्छ तर बेच्ने काम कसले गर्‍यो ? यो व्यवसायी सक्ने काम हो ?’ मीनबहादुर मात्र नभएर ठूला व्यवसायीलाई वर्तमान सरकारले हतकडी लगाउने नीति लिएको भन्दै उहाँले माओवादी सरकारले देशमा युवा बस्ने वातावरण बिथोलेको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । निजी क्षेत्र कस्ता समस्याको मारमा परेको छ ? व्यापारी, व्यवसायी र उद्यमीहरूको उठिबास हुने अवस्था किन आयो ?, देशको अर्थतन्त्र किन भयावह अवस्थातर्फ मोडिँदै छ ?, सरकारबाट अपेक्षा के छ लगायत विषयमा बाह्रखरीले निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्शसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?