सिराहको काठघरमा एमालेको सचिवालय बैठक

पूर्व-पश्चिम युवाकेन्द्रित अभियानको खाका बनाउने निर्णय

हिमालय टाइम्स
Read Time = 6 mins

लहान । नेकपा (एमाले)ले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । बुधबार सिराहाको सर्रे अम्बासस्थित काठघरमा बसेको २५औँ सचिवालय बैठकले मंसिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र त्यसैले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म युवा केन्द्रित अभियानको खाका बनाउने निर्णय गरेको हो । ‘अहिले हामीले मंसिरको तेस्रो साता धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने, मंसिरमै पोलिटब्युरोको बैठक डाक्ने निर्णय गरेका छौँ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो ।

बैठकले समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण तथा अस्थिरताले पार्टीमाथि चुनौती थपिएको निचोडसमेत निकालेको छ । ‘यतिबेला जनताले भोग्नुपरिरहेका कष्टहरूप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ । यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्यांकनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्छ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने संकल्प गर्दछ । यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिहरूको भावना र संकल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका कामहरूलाई अगाडि बढाउने प्रण गर्छ,’ पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, बुधबारको बैठकले थपिएका दुई केन्द्रीय सदस्य केदार न्यौपाने र छक्कबहादुर लामाको कार्यविभाजन पनि गरेको उहाँले बताउनुभयो । चौथो महाधिवेशन आयोजना गरिएको स्थलमा बैठक बसेकाले त्यतिबेला तय भएको राजनीतिक, वैचारिक कार्यदिशा आज पनि उत्तिकै सान्दर्भिक रहेकाले त्यसलाई थप विकास गर्ने प्रस्ताव पारित गरिएको उहाँले बताउनुभयो । २०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म त्यसबेलाको नेकपा (माले)ले विष्णुपुरकट्टीमा काठेघर बनाएर चौथो महाधिवेशन आयोजना गरेको थियो । त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवादी, लेनिनवादी तय गरेको थियो । शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो । नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरुद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै चार वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो ।

२०४६ साल भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थियो । पाँच सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो । पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिनुभएको थियो । बैठकपछि एमालेले हिरक स्तम्भको शिलान्यास गर्ने कार्यक्रम राखेको छ । स्तम्भमा सुखानी, छिन्ताङका शहीदहरूको नाम लेख्ने एमालेले जानकारी दिएको छ । एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने त्यहाँका स्थानीयहरूलाई सम्मान गर्ने तयारी गरेको छ ।

केन्द्रीय कमिटी बैठक धनगढीमा बस्ने
नेकपा (एमाले) ले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले मंसिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको हो ।

‘मंसिरमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको छ’, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘मंसिरको तेस्रो साता सुदूरपश्चिमको धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने र त्यो बैठकअघि पोलिटब्युरोको बैठक डाक्ने निर्णय भयो ।’ उहाँले बैठकको मिति पछि तोकिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?