इनारमा महिला मृत फेला  

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको हजरिया, खर्साल टोलस्थित सार्वजनिक इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१ खर्साल टोलकी ६५ वर्षीया लक्षियादेवी सहनीको इनारमा डुबेर मृत्यु भएको हो ।

खेतमा पानी पटाउनका लागि खनिएको सार्वजनिक इनारमा डुबेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । राति घरमा सुतेकी सहनी बिहान फेला नपरेपछि उनकी बुहारीले हल्लाखल्ला गरेकी थिइन् । स्थानीय र प्रहरीले खोजतलास गर्दैजाँदा टोलमै रहेको इनारनजिक महिलाको चप्पल र लाठी फेला परेको थियो ।

इनारमा गहिरो पानी जम्मा भएकाले दमकल लगाएर पानी निकाल्दा महिलाको शव इनारको फेदमा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयाे । महिलाको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाका श्रीमान्को भने यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?