रमाइला गीत केही क्षणका लागि हो भने मौलिक गीत सदाबहार हुन्छन् : कालिका रोक्का मगर, गायिका

गीता अधिकारी
Read Time = 13 mins

गायिका कालिका रोक्का मगर लोकदोहोरीको क्षेत्रमा चर्चित नाम हो । स्थानीय भाकालाई टपक्क टिपी गीतमा ढाल्न सक्ने गायिका कालिकाले लोक तथा दोहोरी गायनमा उहाँकै शब्दमा १८ सय जति गीत गाइसक्नुभएको छ । २०६० सालदेखि लोकदोहोरी क्षेत्रमा औपचारिक रूपमा प्रवेश गर्नुभएकी कालिका आफूलाई थाहा हुँदादेखि गीत गाउने र नाच्ने गरेको बताउनुहुन्छ । कालिकाले धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै अघि बढ्नुभएको हो । मिठो स्वरकी धनी गायिका कालिका लोकदोहोरी क्षेत्रमा शब्द चयन, सुर र तालमा ध्यान केन्द्रित गर्ने गायिका हुनुहुन्छ र त उहाँका गीतले चर्चा पाउने गरेका छन्, सफलता चुम्न सकेका छन्, श्रोता/दर्शकको अत्यधिक माया बटुल्न सकेका छन् । लोकदोहोरीभित्र मौलिकपन हुनुपर्छ नत्र लोकदोहोरीको अर्थ रहँदैन, गायिका कालिका भन्नुहुन्छ, ‘प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन, यो भनेको तत्कालै शब्द चयन गरेर उत्तर दिनुपर्ने अवस्था हुन्छ ।’ वास्तवमै लोकदोहोरी प्रतिस्पर्धा गर्ने कुनै पनि गायक-गायिका भनेको आँसु कविजस्तै हुन्छन् । कसैले गीतबाट सोधेको प्रश्नको जवाफ गीतबाट नै दिनु भनेको चानचुने कुरा होइन । त्यसमा पनि शब्द र लयको तारतम्य मिल्नु जरुरी हुन्छ । यी कुरामा गायिका कालिका निकै ध्यान दिने गर्नुहुन्छ । बागलुङ जन्मथलो रहनुभएकी कालिकालाई स्थानीय परिवेशले पनि यसतर्फ आकर्षित गरेको बताउनुहुन्छ । बुबा टेकबहादुर घर्ती र माता घनीकुमारी घर्तीको कोखबाट बागलुङमा जन्मिनुभएकी कालिका पछि नवलपरासीमा बसाइँसराइ गर्नुभयो भने यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । आफ्नो पहिचान र आफ्नो मौलिकता भुल्नुहुँदैन भन्ने कालिका नेपाली लोक तथा दोहोरी गीतमा स्थापित हुनुहुन्छ । रमाइला गीत केही क्षणका लागि हो भने मौलिक गीत सदाबहार हुन्छन् भन्नुहुने कालिका रोक्का मगरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
गीत संगीतकै क्षेत्रमा व्यस्त छु । लोक तथा दोहोरी गायनमा आफूलाई संलग्न गराउँदै आएकी छु । अहिले लाइभ दोहोरीको ट्रेण्ड चलेको छ । म पनि लाइभ दोहोरीमै व्यस्त भइरहेकी छु । यस्तै यतिबेला तीजको रौनक छ । तीजलाई लक्षित गरी गीतहरू श्रोता/दर्शकमाझ आइरहेका छन् । मेलै पनि यही मेसोमा तीज गीत श्रोता/दर्शकमाझ ल्याएकी छु । यस्तै यस्तै चलिरहेको छ दिनचर्या ।

निकै व्यस्त हुनुहुन्छ है ?
व्यस्तभन्दा पनि गीत संगीत क्षेत्रमा नै आफूलाई पूर्ण रूपमा समर्पित गरेर यही क्षेत्रमा लागेकी छु । म बिहान उठेदेखि बेलुका विस्तरामा नपर्दासम्म गीत संगीतकै क्षेत्रमा आफूलाई संलग्न गराउने गरेकी छु । यसबाहेक केही सामाजिक काम, केही आफ्ना व्यक्तिगत काम त छँदैछन् ।

लोकदोहोरी गायनमा कसरी लाग्नुभयो ?
सानैदेखि गीत गाउँथेँ । जब मैले आफूलाई बुझेदेखि यही क्षेत्रमा छु । सायद म गीत संगीतका लागि नै जन्मिएकी हुँ जस्तो लाग्छ । बागलुङमा रहेको मेरो परिवेशले पनि यसमा प्रभाव पारेको होला । विस्तारै बढ्दै जाँदा म यो क्षेत्रमा हेलिएँ । गाउँमा हुने विभिन्न प्रतियोगितामा नृत्य र गायनमा प्रथम भएर धेरै पुरस्कार प्राप्त गर्दै गएँ र हेलिएँ यो क्षेत्रमा । मलाई डोरपाटन दोहोरीका सञ्चालक उमेश दाइले मलाई काठमाडौं ल्याउनुभएको हो । रेवती पौडेल दिदी जो लोकदोहोरीकी रानी हुनुुहुन्छ उहाँसँग धेरै हिँडेँ, धेरै कुरा सिक्दै गएँ ।

लोकदोहोरी गायनमा लाग्नुभएको कति भयो, अहिलेसम्म कति जति गीत गाउनुभयो, केहीको नाम लिनुपर्दा ?
माथि पनि भनँे म सानैदेखि यो क्षेत्रमा छु । विसं २०६० सालदेखि यो क्षेत्रमा निरन्तर लागिरहेकी छु । अहिलेसम्म १८ सय जति गीत गाएकी छु । यति धेरै गीतमा कुनको नाम लिऊँ, कुनको नलिऊँ । फेरि पनि केही ‘एउटा राम्रो बाटो देखाइदेऊ’, ‘ब्लुटुथ अन गर’, ‘मुग्लिङ पुल तरी’, ‘फेसबुक च्याट’, ‘हिउँदको महिना’, ‘झुम्के बुलाकी’, ‘मनकी रानी’लगायत छन् । रोधी बस्दा गाइने गीत, पर्माका गीत गाएकी छु । तीजका गीत, यानिमाया, सोरठी जस्ता गीत गाएकी छु ।

मैले आफूलाई बुझेदेखि यही क्षेत्रमा छु । सायद म गीत संगीतका लागि नै जन्मिएकी हुँ जस्तो लाग्छ । बागलुङमा रहेको मेरो परिवेशले पनि यसमा प्रभाव पारेको होला । गाउँमा हुने विभिन्न प्रतियोगितामा नृत्य र गायनमा प्रथम भएर धेरै पुरस्कार प्राप्त गर्दै गएँ र हेलिएँ यो क्षेत्रमा । आफ्नो पहिचान र आफ्नौ मौलिकता भुल्नुहुँदैन । रमाइला गीत केही क्षणका लागि हो भने मौलिक गीत सदाबहार हुन्छन् । सबै प्रकारका गीत गाएकी छु । लोकदोहोरी र लोकगीत धेरै गाएकी छु । सालैजो, कौडा, झ्याउरे गीत धेरै गाएकी छु । दोहोरी गीत संगीतलाई सभ्य, मर्यादित र आकर्षक बनाउनेमा लोकगायक आफैं जिम्मेवार रहनुपर्छ ।

प्रायः कस्ता गीत गाउनुभएको छ ?
सबै प्रकारका गीत गाएकी छु । लोकदोहोरी र लोकगीत धेरै गाएकी छु । सालैजो, कौडा, झ्याउरे गीत धेरै गाएकी छु ।

गाउँघरमा गाउँदा-गाउँदै एक्कासी स्टुडियोमा गाउँदा कस्तो लाग्यो ?
अलिक फरक अनुभव त हुने नै भयो । त्यसअघि रेकर्डिङ स्टुडियो कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । स्टुडियोमा गीत रेकर्ड गरेपछि खुसीले फुरुंग भएँ । अबचाहिँ गायिका बनियो भन्ने मनमा छुट्टै अनुभूति भएको थियो । तर, जति-जति गाउँदै आएँ, उति-उति सांगीतिक क्षेत्र जटिल रहेछ भन्ने महसुस हुँदै गयो ।

तपाईंले दोहोरीमा पनि गाउनुभयो ?
काठमाडौं आएदेखि नै दोहोरीमा गाउन थालेकी हुँ । दोहोरी गायिका बन्न काठमाडौं आएकाले दोहोरीमा गाउन थालेँ । तर, त्यो बेला दोहोरी साँझमा गाउन पाउनु पनि ठूलो संघर्ष गर्नुपर्दथ्यो । ट्रायल पास गरेपछि मात्र गाउन पाइन्थ्यो । मलाई चाहिँ खासै गाह्रो भएन ।

झण्डै दुई दशक लोकदोहोरी क्षेत्रमा योगदान गर्नुभएको छ । त्यसमा तपाईंले के पाउनुभयो ?
नाम, मान, सम्मान, अवार्ड, पुरस्कारसँगै लाखौं श्रोता/दर्शकको औधी माया पाएकी छु । राष्ट्रिय प्रतियोगिता नै सातवटा जितेकी छु । यस्तै, मेरा विभिन्न गीतले अवार्ड चुम्न सफल भएका छन् । क्वालिटी, सगरमाथा, म्युजिक खबर, कास्की म्युजिक अवार्ड, आदिवासी जनजाति अवार्ड प्राप्त भएका छन् ।

यो क्षेत्रमा विकृतिले प्रश्रय पाउँदै गएको भनिन्छ नि ?
हो, तपाईंले भने जस्तै केही विकृतिहरू देखिएका छन् । यसलाई सच्याएर अघि बढ्ने जिम्मेवारी तपाईं हाम्रो हो । आफ्नो पहिचान र आफ्नो मौलिकता भुल्नुहुँदैन । रमाइला गीत केही क्षणका लागि हो भने मौलिक गीत सदाबहार हुन्छन् ।

लोकदोहोरीमा अचेल द्विअर्थी शब्द प्राथमिकतामा पर्दै आएको पाइन्छ नि ?
हो, यहाँले भने जस्तै लोकदोहोरीमा अचेल द्विअर्थी शब्द प्राथमिकतामा पर्दै आएको छ । त्यस्ता गीतले चर्चा पाएको अवस्था पनि हो । यो कतिले जायज र कतिले विकृति भनेका छन् । दर्शक/श्रोता रमाउनुमात्र राम्रो होइन । द्विअर्थी शब्द प्रयोग भएका गीत राम्रो पटक्कै होइन । केही वर्गका दर्शक त्यसमा रमाउलान् । तर, त्यसलाई राम्रो भन्न सकिन्न । त्यसले आम्दानी दियो होला । त्योबाट उत्साहित भएर त्यस्तैमा लाग्न मिल्दैन । बरु अर्काे पेशा अपनाउन सकिन्छ । लोकदोहोरी नंग्याएर, बंग्याएर हामी बाँच्नुको अर्थ के रहृयो र ? यो अवस्थामा सम्मानजनक भएर बाँच्ने अवस्था बन्दैन । दोहोरी गीत संगीतलाई सभ्य, मर्यादित र आकर्षक बनाउनेमा लोकगायक आफैं जिम्मेवार रहनुपर्छ । छोटो समयको चर्चाका लागि यस्ता शब्दको प्रयोग गरिरहँदा नकारात्मक असर पर्दछ । उच्छृंखल शब्दको प्रयोग गर्ने गायकसँगसँगै इमान्दार भएर काम गर्नेलाई असर पर्ने गरेको छ ।

तपाईं आफ्नो पेशाबाट खुसी हुनुहुन्छ ?
खुसी नै छु । गीत संगीतबाटै आत्मनिर्भर छु । त्यसैले सन्तुष्ट पनि छु ।

अन्त्यमा ?
लोकगीत नेपालको पहिचान हो । लोकगीतभित्र पर्ने ख्याली, चुड्का, चाँचरी, बालन, मागल, रोइला, सोरठी, झाम्रे, मारूनी, सालैजो, यानिमाया, दोहोरी, देउडा, संगिनी, मालसिरी, असारे, फागुलगायतका गीतको आफ्नै बेग्लै महत्व छ । यस्ता गीतमा संगीत दिनका लागि प्रयोग गरिने दमाहा, झ्याली, ट्याम्को, ढोलकी, मादल, सहनाइ, नरसिंगा, कर्नाल, मुरली, मुर्चुंगा, बिनायो, मन्द्रा, सारंगी, खैंजडी, मुजुरा आदि लोकबाजाले गीतको मिठासपन बढाइदिन्छ । यो हाम्रो मौलिक संस्कृति हो । वर्तमान समयअनुसार नयाँ प्रविधिसँग जोडिँदै हाम्रो मौलिक संस्कृति बचाइराख्नु तपाईं हाम्रो सबैको कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?