‘हेलो सरकार’ सेवा २४ सै घण्टा सञ्चालनमा

सरकारी संयन्त्रहरूको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सरकारले कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन सिफ्टमा विस्तारित गर्ने गरी ‘हेलो सरकार’ सेवाको शुभारम्भ गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘हेलो सरकार’ कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गर्ने गरी तीन सिफ्टको सेवा विस्तार भएको छ । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आइतबारदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीनजना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

‘हेलो सरकार’ डेक्समा आएका गुनासाहरू प्रकृति हेरेर सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासाहरू सिधै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिनुभएको छ । गुनासाहरू सम्बोधनका निम्ति ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासा कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ । शुभारम्भ कार्यक्रममा मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासा सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ पछिल्लो समय प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिनेछ । इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने र डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

परिणाम देखिने गरी काम हुनुपर्‍यो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार ‘हेलो सरकार’ को सेवालाई विस्तार एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका सबै निकायहरूलाई जनताका गुनासालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो । आफूहरूलाई महत्वको नलाग्ने गुनासाहरू जनताको दैनिक जीवनका लागि महत्वपूर्ण हुनेतर्फ ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरू अमृत समान हुने बताउनुभयो । सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सुशासनको पहिलो सर्त सरकार र जनताबीचको आत्मीय सम्बन्धको विकास हुनु हो । जनतामा सरकार पनि छ, भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले धेरै अर्थ राख्दैन । त्यसैले म नेपाल सरकारका सबै निकायहरूलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न विशेष निर्देशन दिन चाहन्छु । हाम्रा लागि साना तथा धेरै महत्वका नलाग्न सक्ने गुनासाहरू आमजनताका लागि दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण विषय हुन सक्छन् । अहिले पनि हाम्रा विभिन्न सार्वजनिक निकायहरूमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहेका छन् । तर, सबै संयन्त्र अझै जनताको मुहार उज्यालो बनाउन सक्ने ऐनाको रूपमा रूपान्तरण हुन सकेका छैनन् । जनताका गुनासो तथा जिज्ञासाहरूलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन सक्दैन ।’

गणतन्त्रमा जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको जिकिर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक राज्य व्यवस्थामा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको बताउनुभएको छ । राज्यप्रति नागरिकले गर्ने गुनासा तत्काल सम्बोधन हुनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनताका असन्तुष्टि र गुनासो तत्काल सम्बोधन गर्न नसकिए व्यवस्थाप्रति नै जनतामा निराशा छाउने बताउनुभयो । वर्तमान राज्य प्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा स्वाभाविक रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान्छ । मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिएको छु । जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ । गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ ।’ सुशासनको प्रवद्र्धनका लागि सार्वजनिक निकायहरूबीच अन्तरक्रियात्मक संयन्त्रमार्फत प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सुशासनको पहिलो सर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे-जति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले केही अर्थ राख्दैन ।’ उहाँले सरकारी संयन्त्रहरूको कार्यशैली परिवर्तन गर्नसमेत निर्देशन दिनुभएको छ ।

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय
सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् । असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्ज्वलन गर्ने र विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?