महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महिला उद्यमी महासंघको २०औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशनले शोभा ज्ञवालीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्ष वसन्ती प्रधान र चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ रहेका छन् ।

त्यस्तै, महासचिव कुन्नम पोखरेल, सचिव सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी रहेका छन् । महासंघले स्थापनाकालदेखि नै देशभरका महिलालाई आर्थिक रूपमा सशक्तिकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता अभिवृद्धि र व्यावसायिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले महिला उद्यमीका आवश्यकता र चुनौती पूरा गर्न देशभरका महिला उद्यमीका व्यवसायलाई समावेशी तवरले विकास एवं प्रवद्र्घन गर्न विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको छ । विभिन्न जिल्लाका महिला उद्यमीका लागि क्षमता विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न पहल गरिने उहाँको भनाइ थियो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महासंघले उद्यमशीलता विकासमाा पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै महासंघका हरेक कार्यक्रममा सरकारले सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो । कार्यक्रममा महासंघले महिला उद्यमीको हकहितमा काम गर्ने उत्कृष्ट जिल्ला संघलाई पुरस्कृत पनि गरेको थियो । कास्की महिला उद्यमी संघले प्रथम, बाँके महिला उद्यमी संघले द्वितीय, मोरङ महिला उद्यमी संघले तृतीय तथा सोलुखुम्बु महिला उद्यमी संघले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?