‘जिटिभी-सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन काठमाडौं आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतीय गायन रियालिटी सो ‘जिटिभी-सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामा नेपाल आउनुहुने भएको छ । उहाँ आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने आउनुहुने भएको हो । साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि बताइएको छ ।

आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने जानकारी गराउनुभयो । ‘उहाँले १२ वटा हिन्दी गीत गाउनुहुने छ । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरू गाउनुहुने छ’, मिलनले भन्नुभयो । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुसीको कुरा भएको बताउनुभयो । आयोजकका अनुसार जेट्शन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनुहुने छ । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्शनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताउनुभयो ।

यदि समय मिलेमा काठमाडौं अवस्थित विभिन्न स्कुलमा पनि जेट्शनलाई साक्षात्कार गराईने जानकारी आयोजक टिमका वसन्त वित्यासी थापाले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?