कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

सांकेतिक तस्बिर

रासस
Read Time = 6 mins

सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिनुभएको हो । कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।

कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरक्षिक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका-८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका-५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

यस्तै खाँदबारी नगरपालिका-२ चेवा स्थायी घर भई जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, खाँदबारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सुमन सारू मगर, चैनपुर नगरपालिका-३ स्थायी घर भई जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भई जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राई, खाँदबारी नगरपालिका-६ तल्लो पाङ्ठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको श्रेस्तेदार केसीले जानकारी दिनुभयो ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।

गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?