कैलारी, सुर्मादेवी र सागर युवा क्लब विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । कैलालीको कैलारी गाउँपालिका-४ के गाउँमा भइरहेको २४औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फका खेलहरूमा सागर युवा क्लब, कैलारी युथ युनाइटेड र सुर्मादेवी युवा क्लब विजयी भएका छन् । पहिलो खेलमा जित हात पारेसँगै तीनवटै क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।

न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा भइरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको पहिलो खेलमा सागर युवा क्लब विजयी भएको छ । सागर युवा क्लबले एबिसी इञ्जिनियरिङलाई हराएको हो । एबिसीलाई सागर युवा क्लबले २-० ले हरायो ।

पुरुषतर्फको दोस्रो खेलमा कैलारी युथ युनाइटेड विजयी भएको छ । कैलारी युथले चौधरी जागृति क्लबलाई हराएको हो । कैलारी युथले चौधरी जागृतिमाथि ४-१ को सानदार जित दर्ता गर्‍यो ।

कैलारी गाउँपालिका-४ के गाउँको खेलमैदानमा भइरहेको प्रतियोगिताको पुरुषतर्फको तेस्रो खेलमा सुर्मादेवी युवा क्लब विजयी भयो । सुर्मादेवीले भजनी नगरपालिकाको टिमलाई हराएको हो । निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि टाइब्रेकरमा सुर्मादेवीले बाजी मारेको हो ।

नकआउटका आधारमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ २५ टिमको सहभागिता रहेको छ भने महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । पुरुषतर्फको विजेताले नगद एक लाखसहित ट्रफी र उपविजेताले नगद ५० हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो । यस्तै, महिलातर्फको विजेताले नगद २५ हजारसहित ट्रफी र उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा कैलारी गाउँपालिका र सहप्रवद्र्धकमा कैलारी गाउँपालिका-४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । विसं २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ति युवा क्लबले अटवारी र तीजका अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?