कोका-कोलाद्वारा दिगो कृषिका लागि सहकार्य

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत् दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तीकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका-कोला फाउण्डेसनले माइती नेपालसँग सहकार्य गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास गर्नुभएको हो । सामूहिक प्रयासबाट सशक्तीकरण र दिगो प्रगतिको प्रतीक मानिएको परियोजना शुभारम्भ गर्दै उहाँले परियोजनाले ग्रामीण विकास प्रवद्र्धनका साथै दिगो कृषि प्रविधिलाई बढावा दिँदै समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्र्नुभयो ।

परियोजनाअन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकालाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ । परियोजनाको लक्ष्य ३० जना व्यक्तिका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताका लागि आवश्यक सीप प्रदान गर्ने रहेको छ । तालिमपछि संस्थाले सहभागीलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थासँग लिंक गर्नेछ । दोस्रो वर्षमा भने फाउण्डेसनले रोजगारीका अवसर प्रदान गर्नुका साथै सहभागीलाई उनीहरूले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमुना इकाई स्थापना गर्ने योजना पनि बनाएको छ । साथै गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋणलगायत आर्थिक सहयोग पनि उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ ।

सो अवसरमा फाउण्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले भन्नुभयो, ‘महिला सशक्तीकरण र दिगो कृषि प्रवद्र्र्धन सँगसँगै जान्छ भन्नेमा हामी विश्वस्त छौँ । माइती नेपालसँगको यस साझेदारीमार्फत् हामीले बचेका र जोखिममा रहेका व्यक्तिहरूलाई जीवनमा सफल हुन आवश्यक उपकरण र अवसर प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौँ ।’

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले भन्नुभयो, ‘एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्तीकरणमात्र नभई हामी भविष्यमा दोहोर्‍याएर प्रतिकृति र विकास गर्न सकिने मोडल निर्माणको प्रयासमा पनि छौँ । हामी फाउण्डेसनकोे सहयोगप्रति कृतज्ञ छौँ र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौँ ।’ फाउण्डेसनले नेपालका लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तीकरणसम्मका विविध परियोजनामा सहकार्य गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?