स्थानीय आर्थिक विकास कार्यक्रममा गुल्मीका छ स्थानीय तह छनौट

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि गुल्मीका छ स्थानीय तह छनौट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार यस जिल्लाका छ स्थानीय तहसहित सात प्रदेशकै १०४ स्थानीय तह छनौट भएका हुन् ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम चालू आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि गत पुस ५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) बाट आवेदन सूचना प्रकाशन गरिएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आवेदन दिएका २४२ स्थानीय तहमध्ये कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेका १०४ स्थानीय तहलाई छनौट गरिएको सूचनामा प्रकाशित गरिएको छ । सो कार्यक्रमका लागि लुम्बिनी प्रदेशका छनौट भएका १५ स्थानीय तहमध्ये छ स्थानीय तह गुल्मी जिल्लाका रहेका प्रकाशित सूचनामा उल्लेख छ ।

यस जिल्लाको रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, चन्द्रकोट गाउँपालिका र इस्मा गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएका सूचनामा उल्लेख छ । कोशी प्रदेशका २०, मधेश प्रदेशका १७, वागमती प्रदेशका १७, गण्डकी प्रदेशका १२, कर्णाली प्रदेशका ११, सुदुरपश्चिम प्रदेशका १२ स्थानीय तह यस कार्यक्रमका लागि छनौट भएका सूचनामा उल्लेख गरिएको छ ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम लागत साझेदारीमा हुने कार्यविधिमा उल्लेख छ । महानगर/उपमहानगरपालिको हकमा एक करोड रुपियाँ सम्मको कार्यक्रमको लागि ३० प्रतिशत, नगरपालिकाको हकमा एक करोड रुपैयाँ सम्मको कार्यक्रमको लागि २५ प्रतिशत लागत स्वयम् स्थानीय तहले गर्नुपर्ने छ ।

त्यस्तै, गाउँपालिकाको हकमा ७५ लाख रुपैयाँ सम्मको लागि १५ प्रतिशत लागत स्वयम् स्थानीय तहले नै गर्नुपर्ने बताइएको छ । यस कार्यक्रममा सहभागी हुनका लागि स्थानीय तहले कार्यपालिकाको निर्णयको प्रतिलिपि र कार्यक्रमको लागत साझेदारी प्रतिवद्धता पत्र समेत आवेदनमा समावेश गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?