विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई समावेश गरेको छ । अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्नसक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर साहलाई समावेश गरेको हो ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरूको सूची गर्न थालेको हो । म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसमा राजनीतिकर्मी, कलाकार, वैज्ञानिक, विभिन्न संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत, अन्तरीक्षयात्री, वकिलसहितका व्यक्तिहरू रहेका छन् । टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेर यथास्थितिप्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्वीटर र इन्स्टाग्रामको मद्धतले उपयोग गर्दै ‘बालेन इफेक्ट’ सिर्जना गरेको लेखेको छ । बालेनकै प्रभावको परिणामस्वरूप ३८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइमले उल्लेख गरेको छ ।

टाइमले चुनावी अभियानका क्रममा साहले काठमाडौंको फोहोरमैला तथा सरसफाइको प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र सांस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको जनाएको छ । सन् २०१५ (२०७२ वैशाख १२ र २९) को भूकम्पले तहसनसह बनाएको काठमाडौंमा सरल वाचा प्रस्तुत गरेर आफ्नो छवि विस्तार गरेको पनि टाइमले सन्दर्भ जोडेको छ । उपयुक्त ढंगले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउनेपानी, सफा सडक र सहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण बालेनको प्रतिबद्धताभित्र परेको टाइमले उल्लेख गरेको छ । बालेनले ल्याण्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको र फोहोरको वर्गीकरण पनि थालेको समेत उल्लेख छ । त्यस्तै, गैरकानुनी मानिने घरहरू भत्काउँदा सहरी गरिबमा त्यसको असर परेको र बालेन आलोचनाको घेराभित्र परेको पनि टाइमले सन्दर्भ जोडेको छ । बालेनले लगाउने चस्मा, पहिरन नै ‘ब्राण्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ ।

टाइम म्यागेजिनको सय उदीयमान व्यक्तिको यो सूचीमा सबैभन्दा कम उमेरमा युरोपेली संसद्को अध्यक्ष बन्नुभएका रोर्बटा मेट्सोला, युक्रेनको प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, स्कटल्याण्डका फष्ट मिनिस्टर हम्जा युसुफ, अमेरिकाको वातावरण संरक्षणका प्रमुख प्रशासक माइकल रेगन, ग्रामी अवार्ड जित्ने गायिका केल्सी बलेरिनी, भारतीय महिला क्रिकेटर हर्मन प्रित कौर, केरलाका आर्किटेक्चर भिनु ड्यानिअल, आफ्नो पहिलो प्रतियोगितामै लेडिज प्रोफेसनल गल्फ एसोसिएसनको उपाधि जित्ने रोज झाङ, पुलिट्जर पुरस्कार विजेता पत्रकार मोना चलाबी रहनुभएको छ । अर्को वर्ष अमेरिकाले चन्द्रमा पठाउने चार अन्तरिक्ष यात्रीमध्येका एक भिक्टर जे ग्लोभर पनि उक्त सूचीमा पर्न सफल हुनुभएको छ । जो पहिलो अश्वेत अन्तरीक्ष यात्री बन्द हुनुहुन्छ । टाइसले पाँच महिनाअघि बालेनबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?