कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत (भिडियाेसहित)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनु भयो । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उहाँले बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्य जनताको आधारभुत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताउनु भयो । उहाँले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि बताउनु भयो । मन्त्री बस्नेतले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडी बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म आउनुभन्दा अगाडी १६ वर्षदेखि अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास भएका थिएनन् वर्षौदेखि थन्किएर बसेकाहरु अब हामीले विभिन्न कार्ययोजना, रणनीति बनाएर अगाडी बढ्नका लागि मन्त्रिपरिषद्ले हामीलाई सहज बनाइदिएको छ । म आएपछि सबै खालका रणनीतिहरु पनि पास गरिसकेको अवस्था हो । त्यसकारणले हिजोको पुरातन शैली भन्दापनि अब हामी नयाँ रणनीति बनाएर कसरी अगाडी बढ्नुपर्छ । शिक्षा र स्वास्थ्य आधारभुत आवश्यकता हो जनताको । यसको विकास बिना, यसको प्रगति बिना, यसको व्यवस्थापन बिना विकास सम्भव छैन व्यक्तिदेखि राष्ट्रसम्मको । अहिले म कक्षा १२ सम्म निःशुल्क पढाइ हुनुपर्छ । राज्यले जिम्मा लिनुपर्छ कक्षा १२ सम्मको पढाइ भनेर मैले धेरै वर्ष अगाडीदेखि शुरु गरेको छु । मैले सिन्धुपाल्चोकको ३ वटा पालिकाहरुबाट १२ कक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको एक वर्षभन्दा बढी भइसक्यो । देशव्यापी रुपमा यो निःशुल्क हुनुपर्छ भन्ने लाइनमा म काम गरिरहेको छु । म संसदमा पनि बोलेको छु । मन्त्रिपरिषद्मा पनि कुरा राखेको छु । हामी शिक्षा र स्वास्थ्य संवेदनशील क्षेत्रमा काम गरिरहेका छौँ । हाम्रो सानो मिस्टेकले मान्छेको ज्यान जान्छ । कान्ति बाल अस्पतालमा मान्छेको ज्यान गएको छ एउटा पाँच वर्षको बच्चाको मैले यसलाई स्पष्ट रुपमा भन्नुपर्छ, हाम्रा त्यहाँका सम्बन्धित स्वास्थ्यकर्मीहरुको कमी, कमजोरीले पनि भएको छ । कारबाहीको प्रक्रिया अगाडी बढेको छ । हामीले बेलामा ध्यान दियौँ भने एकजना होइन, हजारौँ हजार मान्छेको हामीले ज्यान बचाउन सक्छौँ । हामी बढी गम्भिर हुन जरुरी छ ।’

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताउनु भयो । उहाँले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरु सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको पनि उल्लेख गर्नुभयो । मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरुलाई बिरामी भएको प्रमाणित गरिदिने गरेको भन्दै अहिले सरकारले त्यसरी मेडिकल बोर्डले दिने प्रमाणपत्रलाई बन्द गरेको बताउनु भयो । त्यसैगरी डाक्टरले दिने प्रस्किप्सनको समेत अडिट हुने गरेको उहाँले बताउनु भयो ।

मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरु जाने गरेका बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?