शताब्दी पुरुषको शब्दसंसार

हिमालय टाइम्स
Read Time = 15 mins

-डा. रामदयाल राकेश
सम्प्रति वरिष्ठ संस्कृतिविद् र शताब्दी पुरुषको दुईवटा विशेषांकहरू मेरो हातमा छन्– प्रथम ‘शब्द बिम्बमा सत्यमोहन’ जुन लेखक एवं वरिष्ठ पत्रकार गोपीकृष्ण ढुंगानाद्वारा सम्पादित भएर प्रकाशित भएको छ र दोस्रो ‘वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषांक’ नेपाल म्युजिक सेन्टरको सांस्कृतिक प्रकाशन लोकसंस्कृतिको नियमित पत्रिका विशेषांकको रूपमा ।

ढुंगानाद्वारा सम्पादित शब्दबिम्बमा सत्यमोहन नामक ग्रन्थको सुरुआतमा उनकै सम्पादकीय छ, ‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय !’ शीर्षकले नै सत्यमोहनको शताब्दी लामो जीवन यात्राको सार खिच्ने प्रयास सम्पादक ढुंगानाले गरेका छन् । सादा जीवन, सकारात्मक सोच, सक्रिय जीवन अर्थात् सत्यमोहन भन्दै उनले सत्यमोहन शताब्दी लामो समयको प्रतिबिम्ब भएकाले सायद ‘सगरमाथा’ को उपमा दिएका छन् । उनले सम्पादकीयमा लेखेका पाँच वाक्यांशलाई उदृत गर्न चाहें किनकि त्यसभित्र ग्रन्थमा राखिएका समग्र लेखलाई निचोरेर कागतीबाट रस निकाले जस्तो भाव पोखेका छन्–‘जसरी बग्छ पानी त्यसरी नै बगे सत्यमोहन पनि सार्वभौम बनेर । असत्यको पर्दामा गुम्सिएनन्, सत्यको सत्मार्गमै दौडिरहे । शालीनता भन्नु सत्यमोहन, सम्मोहनको अर्को नाम सत्यमोहन । संघर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई संघर्ष सिकाए ।’

शब्द शिल्प, वाक्यहरूको बुनोट र लेखनशैली हेर्दा लाग्छ ढुंगाना खारिएका कलमकर्मी हुन् । हुनत उनी गीतकार, नियात्राकार, कथाकार, बालसाहित्यकार, कवि, अनुसन्धानकर्मी आदि थुप्रै परिचयमा छन् । सम्भवतः यसले पनि शब्दमा जादू भर्न उनी अभ्यस्त भए । दर्जनौं प्रौढ र बाल पुस्तकको सम्पादन गरिसकेको अनुभवले पनि खारिन मद्दत पुगेकै हुनुपर्छ, यही अनुमान लाउँछु । दैनिक अखबार अन्नपूर्ण पोष्ट्मै पनि झण्डै दुई दशकदेखि लेखन, संयोजन र सम्पादनमा रहेकाले पनि यति गहिराइमा पसेर मोती टिप्ने क्षमता बनाएका होलान् । सायद यी सबै सिकाइको समूल परिणाम हुनुपर्छ, शब्दबिम्बमा सत्यमोहन । किनकि यो पुस्तकको संयोजन र सम्पादनमा देखिने कलात्मक पक्षले सामान्य सोच र प्रयासबाट सम्भव हुने देखाउँदैन ।

सवा चार सय पृष्ठमा भुँडीपुराण प्रकाशनले छापेको यस ग्रन्थमा धेरै लेखकहरूको संस्मरण प्रकाशित भएको छ । समग्रमा लेख भने पनि यसभित्र सम्पादकले लेख र आलेख छुट्याएका छन् । समाचार पनि समेट्नु पुस्तकको फरक विशेषता हो । सबैजसो अखबारले सत्यमोहनमाथि सम्पादकीय लेखेका रहेछन् । सम्भवतः ती सबै सम्पादकीय ग्रन्थमै समेट्नु अर्को पृथक कार्य सम्पादक ढुंगानाले गरेको महसुस हुन्छ । हुन त यसमा तस्वीर खण्ड, कविता खण्ड, अन्तर्वार्ता खण्ड आदि विविधता भेट्न सकिन्छ । यसबाहेक शताब्दी पुरुष सत्यमोहन जोशीको स्वयंको संस्मरणात्मक आलेखहरू पनि समाविष्ट भएको यसको प्रमाणिकता प्रशंसनीय मान्न सकिन्छ जस्तो ‘त्यतिबेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे’ ।

उहिलेको दशैं त्यो बेलाको लखनउ चंगा, तेस्रो पटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले जे भने हुबहु त्यसलाई यहाँ संकलित गरिएकाले यो ऐतिहासिक दस्तावेज सावित भएको छ । केही हरफहरू यहाँ उद्धृत गर्नु सान्दर्भिक होला–‘नेपाली भाषा साहित्यको विकास एवं उन्नति गर्ने उद्देश्यले स्थापना भएको ‘मदन पुरस्कार गुठी’ को यो ऐतिहासिक बैठकमा आजसमेत गरी तीनपल्ट यसरी उभिएर मदन पुरस्कार थाप्न पाउनु मेरो निमित्त जीवनमा एक महत्वपूर्ण कुरो भएको छ । मैले सर्वप्रथम साहित्यतर्फ ‘हाम्रो लोकसंस्कृति’ नामक ग्रन्थमा २०१३ सालको मदन पुरस्कार पाएको थिएँ । त्यसपछि दोस्रोपल्ट समाज शास्त्रतर्फ ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा २०१७ सालको र आज तेस्रो ‘दर्शन विज्ञान’तर्फ कर्णाली लोकसंस्कृति नामक ग्रन्थमा २०२८ सालको ।’

अझ वयोवृद्ध वरिष्ठ पत्रकार भैरव रिसालले ‘जस्तो सोच, त्यस्तै सत्यमोहन’ शीर्षकमा लेख्नु भएको छ, जुन मननीय छ । जस्तो– ‘सोच, जाँगर र खोजेले उहाँलाई सत्यमोहन बनायो । उहाँले नेपाली संस्कृति, सम्पदा, पुरातत्वको विषयामा गहिराइमा गएर अध्ययन गर्नुभयो, खोज गर्नुभयो । अनुसन्धान गर्नुभयो र जसले आज उहाँ सत्यमोहन जोशीको नाममा देश, विदेशमा चिनिनु भएको छ ।’ डा.जगमान गुरुङले त ठोकुवा गरेर भन्नुभएको छ, ‘स्वयं प्रज्ञा’ । प्राडा. गार्गी शर्मा ‘एउटा धरोहरको अन्त्य’ शीर्षकमा सही कुरो लेख्नुहुन्छ– ‘जोशीले तीनपटक मदन पुरस्कार पाउनुभयो, यो सामान्य कुरा होइन । एकपटक मदन पुरस्कारबाट सम्मान पाउन कति गाह्रो हुन्छ भने तीनपटक पाउनु साधारण कुरा होइन । उहाँको व्यक्तित्व, कृतित्व, योगदान, छवि हामी कहिले पनि बिर्सन सक्दैनौं ।’

सवा चार सय पृष्ठमा भुँडीपुराण प्रकाशनले छापेको यस ग्रन्थमा धेरै लेखकहरूको संस्मरण प्रकाशित भएको छ । समग्रमा लेख भने पनि यसभित्र सम्पादकले लेख र आलेख छुट्याएका छन् । समाचार पनि समेट्नु पुस्तकको फरक विशेषता हो ।

लेखक/स्तम्भकार सिके लालको प्रवाहमा बगेको जीवन पठनीय छ । संस्कृतिविद् डा.गोविन्द टन्डनको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको ‘महाप्रयाण’ महत्वपूर्ण आलेख छ । रामभरोस कापडी भ्रमरको ‘ओह ! सत्यमोहन जोशी’ आलेख यहाँ समेटिएको छ । जसमा भनिएको छ–उनको दृष्टिमा नेपालभित्रका सबै भाषा, संस्कृति राष्ट्रका गहना हुन् । यसलाई बचाइराख्नुपर्छ भन्ने उनको धारणा रहने गर्दथ्यो ।’

मैथिली भाषा अभियानी धीरेन्द्र प्रेमर्षिको ‘सत्य सन्धानी सत्यमोहन’ पठनीय छ । शीतल गिरी ‘सत्यमोहनः नेपाली मन, नेपाली पन’मा ‘कुवेरको ढुकुटी जस्तै थियो, सत्यमोहन जोशीको अनुभव जे खोज्यो त्यही भेटिने’ भन्ने सार छ । कथाकार माया ठकुरीले ‘स्वार्थरहित सत्यमोहन’ लेख्नुभएको छ । डा.गीता त्रिपाठीको ‘सत्यहरूको राजमार्गमा सत्यमोहन’ स्मरणीय छ । श्रीओम श्रेष्ठ ‘रोदन’को सबैका सत्यमोहन साँच्चिकै अर्थमा सही हो । गणेश राईले ‘न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली’ लेखेका छन् । ‘रत्न भण्डारीको ‘सत्यमोहन जोशी ः न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली होइनन्’ भन्ने लेखले न्युजिल्याण्ड पुग्ने पहिलो हुन् भन्ने विषयसँग तार्किक प्रतिस्पर्धा गरेको छ ।

सरस्वती प्रतीक्षाको ‘सप्रसंग सत्यमोहन’ सराहनीय छ । चर्चित साहित्यकार ‘शताब्दी पुरुषको जीवन कथा’ पठनीय छ । पत्रकार देवेन्द्र भट्टराईको ‘बखुबहाः मा एउटा हुलाक टिकट’ राम्रो छ । ग्रन्थकै सम्पादक गोपीकृष्ण ढुंगानाले ‘जुरेली जस्तै सन्तोषी’ शीर्षक राखेर लेखेको विषय पृथकमात्र छैन, सराहनीय सिद्ध लाग्छ । पत्रकार अमृत भादगाउँले ‘सधैं सक्रिय’ साँच्चिकै सत्य हो । पत्रकार जयदेव भट्टराईको सारगर्भित शीर्षक छ, ‘ढल्यो संस्कृति क्षेत्रको धरोहर’ ।
‘एक युगको अन्त्य’ अर्का सञ्चारकर्मी डब्बु क्षेत्रीको शीर्षकसँगै लेख मननीय छ । स्मृति ढुंगानाको ‘सम्झनामा शताब्दी पुरुष’ स्मरणीय छ । चकचके जोशी बन्धनमुक्त : जब ‘माँ’ भनेर चिच्चाए... मा जीवनमा चिन्तनबाट मुक्त हुनपर्छ तर चिन्तन मनन गर्नुपर्छ भन्ने व्यक्ति हुन् जोशी’ भन्ने विषय राम्रै छ । नितु घलेको शिरमा आमाको सम्झना घतलाग्दो छ । चिरञ्जीवी मास्के पौराणिक तथ्यको सत्यमोहन तथ्यगत छ ।

लेखक र पत्रकार मोहन दुवालको ‘सत्यमोहन : सम्झना र विम्ब’मा सराहनीय छ । यसबाहेक डी.बी. नेपाली ‘दमु’को ‘सत्यमार्गमा डोहोर्‍याउने सत्यमोहन’ र प्राडा.सुमनराज ताम्राकारको ‘जे सुनिए, भनिए’ लेख आलेख खण्डको अन्त्यमा छ । सम्पादकीय खण्डमा एक युगको अन्त्य, बहुआयामिक अविश्रान्त साधक, श्रद्धासलाम युगपुरुष, शताब्दीका साक्षी, संस्कृतिविद्बाट सिक्नुपर्ने संस्कृति, सत्यमोहनको संस्कार र युगपुरुषको महाप्रस्थान आदि संकलित छन् । यो खण्डले ग्रन्थलाई विशेष बनाएको ठानेको छु ।

अन्तर्वार्ता खण्डमा प्रसिद्ध पत्रकार र लेखक कनकमणि दीक्षितबाट ‘शिक्षक’ (२०६९ कार्तिक) मासिकका लागि लिइएको अन्तर्वार्ता यसमा समेटिएको पाइन्छ । त्यस्तै देवीदत्त पौडेलले दैनिकी न्यूजका लागि गरेको कुराकानीको सम्पादित अंश प्रकाशित छ । साहित्यकार छविरमण सिलवालद्वारा लिइएको अन्तर्वार्ताको शीर्षक छ–‘सनातनी धर्मसंस्कृतिलाई जोगाउनै पर्छ’ जुन ‘मधुपर्क’ मासिकको २०७३ कार्तिक अंकमा प्रकाशित भएको थियो ।

परिशिष्टांक खण्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘जोशीका तीन आयाम’, तेजेश्वरबाबु ग्वंगःको ‘अमर अभिप्रेरक’, तुलसी दिवसको ‘लोकसाहित्यको उज्यालो’, रामदयाल राकेशको ‘लोकसंस्कृतिका उन्नायक सत्यमोहन जोशी’, डा.खेम कोइराला ‘बन्धु’ को ‘कर्मले कोरिदिएको जोशीको जीवनरेखा’, डा.मानसाग्निको ‘अक्षर पुरुषमा मुस्कुराएको मृत्यु’, तीर्थबहादुर श्रेष्ठको ‘सत्यमोहनको त्यो टोपी’, श्रीओम श्रेष्ठ ‘रोदन’को ‘आख्यान शताब्दी पुरुषका आदर्श र अभिलेख’, जीवनाथ धमलाको ‘सत्यम्, शिवम्, सुन्दरम्’, शिवहरि घिमिरेको ‘सत्यमोहन भन्नुहुन्थ्यो–चिन्तन मनन् गर्नू, चिन्ता नगर्नू’, लक्ष्मी लम्सालको ‘जसले दुनियाँलाई पढाए’, संगीता दाहालको ‘सत्यमोहन : अपरिग्रहका मानक’, दीपक श्रेष्ठको ‘कर्मसित के लाग्ने रहेछ र’, पत्रकार जीवनाथ धमलाको ‘राष्ट्रियताको ध्वनि गाउने सत्यमोहन जोशी’, दिलिप ढकालको ‘अविश्रान्त सांस्कृतिक साधक सत्यमोहन जोशी’ आदि संस्मरणात्मक, आलेखको प्रकाशनले यस विशेषांकलाई संग्रहनीय, पठनीय, उल्लेखनीय र उदाहरणीय बनाएको छ ।

अन्त्यमा, समाचार खण्डमा जोशीको आकस्मिक र असामयिक स्वर्गारोहण समाचार अनेकानेक पत्रपत्रिकाहरूमा प्रकाशित भएको संकलन गरेर यसलाई अझ सराहनीय बनाइएको छ । कविता खण्ड विभिन्न कवि जसमा सरुभक्तको ‘तिमी बाँच्यौ होसले एक शताब्दी’, शान्तिदीप रायमाझीको ‘सत्यमोहन : इतिहास दिएर गए’ र नारायण नेपालको ‘सत्यमोहन जोशी : एक नयाँ विभूति’ शीर्षक कविताहरू पठनीय छन् । पुछारमा, सत्यमोहन जोशीका केही मुख्य कृतिहरूको सूची समाहित यस ग्रन्थलाई अनुसन्धानकर्ता र अन्य जिज्ञासु पाठकहरूका लागि सधैं पठनयोग्य बनाइएको छ । यो श्रेय पाउने पत्रकार, लेखक एवं सम्पादक गोपीकृष्ण ढुंगानालाई सहस्र धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?