आगलागी क्षेत्रको स्थलगत निरिक्षण गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा मुगुमा

हिमालय टाइम्स
Read Time = 4 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु आगलागीका पीडित परिवारलाई सान्त्वना र राहत दिन कर्णाली प्रदेशका मुख्यमन्त्री सोमबार मुगु पुग्नु भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासहित भौतिक पुर्वाधार, यातायात तथा शहरी विकास मन्त्री मंगल बहादुर शाही, कानुनमन्त्री कृष्ण जिसीको टोली आगलागी क्षेत्रको स्थलगत निरिक्षण र पीडित परिवारलाई प्रदेश सरकारबाट राहत उपलब्ध गराउन मुगु पुग्नु भएको हो ।

मुख्यमन्त्री शर्मा आगलागी क्षेत्रमा पुगेर पीडित परिवारसंग कुराकानी र समस्या बारे बुझ्नु भएको थियो । मुख्यमन्त्रीसंग पीडित परिवारले जलेका घरहरुको पुर्ननिमार्ण, विस्थापित व्यापारीहरुलाई उचित राहतको व्यवस्था गरेर पुनर्स्थापना र तत्काल बस्न र खानको व्यवस्था मिलाईदिन माग गरेका थिए । आगलागी पीडित पदमराज मल्लले मुख्यमन्त्रीलाई स्थलगत क्षेत्रमा घटना र क्षेतीको बारे विस्तृत जानकारी गराउदै घटना स्थल मै मुख्यमन्त्री पुग्दा आफुहरुले अविभावक पुगेको महशुस गरेको बताउनु भयो ।

अर्का आगलागी पीडित लक्ष्मी मल्लले आफ्नो होटेल जलेर पुरै खरानी भएको र लगाउने लुगासम्म पनि केहि बचाउन नपाएको र आफु शुन्यमा झरेकोले उचित बास गास र व्यवसाय शुरु गर्न केहि राहतको अपेक्षा कर्णाली सरकारबाट आफुहरुले गरेको मुख्यमन्त्री शर्माको सामुन्ने आशु झार्दै सुनाउनु भयो ।

आगलागी क्षेत्रको स्थलगत निरिक्षण पछि मुख्यमन्त्री शर्माले जिल्ला प्रशासन कार्यालय मुगुमा पिडित परिवारहरुलाई खाद्यान्न लगायतका राहत सामग्रीहरु वितरण गर्नु भएको थियो । । राहत वितरण गर्दै उहाँले थप आवश्यकिय राहत सामान देखि जलेका घर र व्यवसाय पुननिमार्ण , पुनस्थापनाका लागि कर्णाली प्रदेश सरकारबाट उचित निर्णय लिने आश्वासन दिनु भएको थियो ।

आगलागी पीडित २३ घर परिवारलाइ मुख्यमन्त्री शर्माले चामल, दाल, म्याड, पाल, सिलिन्डर, चुलो, कुकर, थालीलागायतका दैनिक उपभोग्य र भान्साका सामानहरु वितरण गर्नु भएको थियो ।

प्रदेश सरकारले प्रति घर ३ लाख दिने निर्णय गरिसकेकाले जिल्ला प्रशासन कार्यालय मार्फत् उक्त रकम पुनःनिमार्णका लागी पीडित परिवारलाई प्रदेश सरकारले पठाउने पनि मुख्यमन्त्री शर्माले जानकारी गराउनु भयो ।

मुख्यमन्त्रीसहितको टोली हेलिकप्टर मार्फत मुगु पुगेकाे थियाे ।

गत शुक्रबार राती १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा कालिका मालिका मन्दिरको उत्तर दिशा तिर रहेका ८ घर पुर्णरुपमा, ३ घर आंशिक र ९ व्यवसायीक पसल जलेर खरानी भएका थिए भने २८ परिवारका ९५ जना सदस्य प्रभावित भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?