एमालेको बागमती प्रदेश अधिवेशन

प्यानल बनाएर चुनाव नलड्न अध्यक्ष ओलीको निर्देशन

Read Time = 8 mins

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनअन्तर्गत बन्दसत्र आज (मंगलबार) बिहान ८ बजेदेखि सुरु हुने भएको छ । प्रदेश अधिवेशनको सोमबार दिउँसो भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो । प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने कार्यालय सचिव शुभराज पोखरेलले बताउनुभयो । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पेस हुनेछ । राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन् । सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन् । नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसंगठनबाट र ३० विभागबाट चुनिएर आएका छन् । कुल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनीत गर्न पाउने प्रावधान विधानमा छ । ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ । संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

एमाले बागमतीको अध्यक्षका लागि दुई केन्द्रीय सदस्यसहित अहिलेसम्म पाँचजना आकांक्षी मैदानमा देखिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिनुभएको छ । ‘चुनाव लड्नुस्, लड्न दिनुस् । स्वस्थ प्रतिस्पर्धा गर्नुस् । प्यानल बनाएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुनसक्छ,’ उद्घाटन सत्रलाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष मण्डललाई त्यो अधिकार राखेर काम गर्न पनि ओलीले आग्रह गर्नुभयो । ‘प्यानलाइज गर्ने दुई ट्र््याकमा बाँड्ने यो खालका अभ्यासहरू कसैले नगरून् । स्वस्थ प्रतिस्पर्धा गर्नुस्, हारजितलाई स्वीकार्नुस्,’ उहाँले भन्नुभयो, ‘भोलिपल्टबाट मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनीति गर्न विभेद गर्न पाइँदैन । यो कुरालाई ध्यानमा राख्नुस् ।’ नेतृत्व चयनका लागि सर्वसम्मतिका लागि प्रयास भए पनि चुनावै हुने देखिएको एक नेताले बताउनुभयो ।
प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिनुभएको छ । ढुंगेल बागमती प्रदेशको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्थ्यो । रामेछापको तीनपटक पार्टी नेतृत्व सम्हालिसकेका उहाँ अहिले केन्द्रीय सदस्य हुनुहुन्छ । रामेछापको संसदीय निर्वाचनमा चारपटक पराजित हुनुभएका उहाँँ २०७४ को निर्वाचनमा भने प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । कृष्ण दाहाल पनि भूगोलमा लामो समय पार्टी प्रमुख भएर काम गर्नेमा पर्नुहुन्छ । मकवानपुरबाट २०४८, २०५१, २०५६, २०७४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका उहाँले तीनपटक चुनाव जित्नुभयो । २०५१ सालमा कमल थापासँग पराजित हुनुभएको थियो । चितवनका कृष्णभक्त पोखरेलले पनि अध्यक्षको आकांक्षा राख्नुभएको छ । सर्वसम्मतिका लागि प्रयास गर्नुपर्ने र चुनावै हुने परिस्थिति आएमा आफू पनि अघि सर्ने उहाँले बताउनुभएको छ । एमाले बागमती प्रदेशमा ४७९ सदस्यीय प्रदेश संगठन कमिटी रहेको छ । १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन् । अधिवेशनले ५० प्रतिशतभन्दा बढी आकार घटाउनेछ । अबको अधिवेशनले २४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ । प्रदेश कमिटी निर्वाचित गर्दा ७५ आधार सदस्य हुनेछ । प्रतिनिधिसभाका ३३ निर्वाचन क्षेत्रबाट पाँच÷पाँच जनाका दरले निर्वाचित हुँदा २४० जना पुग्नेछ । जिल्ला अध्यक्ष प्रदेशको पदेन अध्यक्ष हुनेछन् । प्रदेश अध्यक्ष पोलिटब्युरोको पदेन सदस्य हुनेछन् ।

गरिबको सामान फालेर मात्रै फुटपाथ समस्या समाधान हुँदैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबको सामान फालेर मात्रै फुटपाथको समस्या समाधान नहुने बताउनुभएको छ । काठमाडौंमा सोमबारदेखि सुरु भएको एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले विकल्प दिएर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । फुटपाथ व्यवसायीलाई विकल्प दिनुको सट्टा नगरप्रहरीले उनीहरूमाथि उल्टो ज्यादती गरिरहेको ओलीले बताउनुभयो । ‘मान्छेहरू गाडीबाट ओर्ले जसरी नगरप्रहरी उत्रिँदैन । प्रहरी ओर्लिए जसरी नगरप्रहरी ओर्लिँदैन । गड्याकगुडक हाम फाल्छ । सिठी फुक्न सुरु गर्छ । कहाँ कुदेको हो, गुटुटु कुद्छ । आतंक मच्चिन्छ । आयो आयो के आयो हुन्छ । कुदेपछि रिस उठेको बच्चाले जसरी सामान फाल्न थाल्छ,’ ओलीले भन्नुभयो । गरिबले बल्लबल्ल जोडेको सामान फाल्दैमा समस्या समाधान नहुने उहाँले बताउनुभयो । बरु विकल्प तयार नहुन्जेल बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म फुटपाथमा व्यापार गर्न दिन सकिने उहाँले बताउनुभयो ।

‘गरिबले बल्लबल्ल किनेर ल्याएको हुन्छ । फ्याँकेर, पोखेर समस्याको समाधान हुँदैन,’ उहाँले भन्नुभयोे, ‘सहर सफा राखौँ । बाटो खुल्ला राखौँ तर मान्छे मारेर होइन । मान्छेलाई पेलेर होइन । मान्छेलाई रुवाएर होइन । कोही पनि नेपालीले रुन नपर्ने खालको परिस्थिति बनाऔँ ।’ उहाँले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएर आन्दोलन गरिरहेको विषय पनि आफ्नो जानकारीमा रहेको बताउनुभएको छ । तर, यी सबै कुराको समाधान गर्न सरकारले नचाहेको पनि ओलीको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?